‘उताबाट लखेट्ने, यता ढोका थुन्ने, अलपत्र नेपाली कहाँ जाने ?’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकार आफ्ना नागरिकप्रति क्रुर बन्दै गएको आरोप लगाउनुभएको छ । संघीय संसद अन्तर्गत राज्यको निर्देशक सिद्वान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सोमबारको बैठकमा सांसद पौडेलले आफ्ना धारणा राख्दै भारतीय क्वारेन्टिनबाट नेपालीहरु निकालिने र नेपालले घर आउन नदिने गर्दा सीमा क्षेत्रमा धेरै नेपालीको विचल्ली भएको बताउनुभयो ।

भारतको उत्तराखण्डस्थित हल्द्वानीको क्वारेन्टिनमा बसेका १७ जना नेपालीहरुलाई त्यहाँबाट निकालेको प्रशंग उल्लेख गर्दै पौडेलले भन्नुभयो– ‘अब तिमिहरुलाई खान दिन सक्दैनौं भनेर निकालिएका ति नेपाली मजदुर हल्द्वानीबाट हिँडेर कञ्चनपुरको महाकाली नगरपालिका बाबाथान भन्ने ठाउँमा पुगे । तर त्यहाँबाट पनि फर्काइयो । फेरि फर्केर भारतको बनबासामा पुगे , त्यहाँ भारतीय प्रहरीले जंगलमा लगेर ति नेपालीलाई कुटपिट गरेका छन् ।’

पौडेलले नेपाली नागरिकलाई भारतले आफ्नो देशमा बस्न नदिने र नेपालले पनि आउन नदिने हो भने उनीहरु कहाँ जान्छन् भनेर प्रश्न पनि गर्नुभयो । यस्तै उहाँले कैलालीको सिमाक्षेत्र पलियाको क्वारेन्टिनमा बसेका दुई सय जना नेपाली मजदुरलाई १ छाक मात्र खाना दिएर क्वारेन्टिनबाट जान दबाब दिएको स्मरण पनि गराउनुभयो ।

भारतमा नेपालीको विचल्ली भएका उदाहरणसहित प्रस्तुत हुनुभएकी पौडेलले जो बेखर्चि छन्, जसको अत्यन्त दयनीय अवस्था छ, सरकारले तत्काल तिनीहरुलाई प्राथमिकताका आधारमा आफ्नो देशमा ल्याएर व्यवस्थापन गर्न माग गर्नुभयो ।

बैठकमा पौडेलले जसरी नेपाली भूमि अतिक्रमण भएको छ, त्यसरी नै जवाफदिनुपर्ने बताउँदै लिपुलेकको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न सरकारसँग माग गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको समिति बैठकमा विभिन्न सांसदहरुले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार