भारतस्थित नेपालीहरुलाई भ्रम नपर्न मूल प्रवाहको आग्रह

नयाँ दिल्ली । नेपाली श्रमिकहरुको अवस्था झन भन्दा झन दयनीय बन्दै गएको र पटक–पटक नेपाली दूतावास, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरि एवं समय समयमा फोनमा वार्ता गर्दा पनि सरकार र सरकारको सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएकोप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले शुक्रबार एक प्रेस वक्तव्य जारी गरि भारतमा नेपालीहरु भोक र चिन्ताले बिमारी परेको, कैयौंले डिप्रेशन भएर आत्महत्या समेत गरेका घटनाहरु भइरहेको जनाउनु भएको छ ।
“भारतका कतिपय राज्यहरुका डिस्ट्रीक मजिष्ट्रेटहरुको सिफारिसमा विभिन्न राज्यहरुका प्रवासी मजदुरहरुलाई आ–आफ्नो घर पठाउने योजना भित्र पारेर कतिपय मालिकहरुले आफ्ना नेपाली श्रमिकहरुलाई पनि सिफारिस गरि पठाएर जिम्मेवारीबाट पन्छिरहेका छन् । त्यसरी प्रशासनद्वारा पठाइएको रेल–वसद्वारा पठाइएका नेपालीहरु मजदुरहरु भारतका विभिन्न जक्शनहरुमा अलपत्र परिरहेका छन् ।” केसीले वक्तव्यमा भन्नु भएको छः “यदि कुनै उपायद्वारा बर्डरसम्म पुगेता पनि झन् ठुलो विचल्ली हुने निश्चित छ । यो नयाँ समस्या थपिएको छ ।”
कतिपय यातयात व्यवसायीहरुले नेपाल जाने व्यवस्थापन भएको भनि भ्रम श्रृजना गरिरहेको समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै वक्तव्यमा लेखिएको छः “कैयौं व्यक्तिहरुले हाम्रो कार्यालयमा त्यसको पुष्टिका लागि फोन सम्पर्क गरिरहेका छन्, उनीहरुको रिपोर्ट अनुसार कतैकतै मूल प्रवाहको नाम पनि प्रयोग गरिएको छ । यो सरासर बदमाशी हो र हाम्रो संगठनलाई बदनाम गर्ने षडयन्त्र हो ।” केसीले भन्नु भएको छः– “संगठनको स्थापित छविलाई अनाधिकृत रुपबाट प्रयोग गरि यो अफ्ठ्यारो परिस्थितिमा समेत पैसा कमाउने षडयन्त्र हो । हामी यस प्रकारका गतिविधिहरुको निन्दा गर्दछौं र कुनै पनि दाजु–भाई, दिदी–बहिनीहरुलाई भ्रममा नपर्न अनुरोध गर्दछौं ।”
प्रस्तुत छ प्रेस वक्तव्यको पूर्ण पाठः
१. विश्व नै नोवेल कोरोना भाईरस (कोविड १९) को गिरफ्तमा छ । संक्रमण रोक्न गरिएको लकडाउन पनि असफल भइरहेको अवस्था छ । लकडाउनले अर्थतन्त्रमा ठूलो असर त परेकै छ नै, श्रमजिवी वर्ग भुखमरिको शिकार भइरहेका छन् । भारतमा लाखौं श्रमिकहरू आ–आफ्नो घर जानका लागि स–साना बाल–बच्चा सहित १५००÷२००० किलोमिटर लामो पैदल हिंडेर र सडकमा हिड्न नपाएर रेलको लिकमा समेत हिडेका छन् । कैयौं ठाउँमा दुर्घटनाको शिकार समेत भएका छन्, जसमा औरंगाबादमा लिकमै रेलले किचेर १६ जनाको ज्यान गएको भने अन्य सड्क दुर्घटनामा दर्जनौंको मृत्यू भइसकेको छ । भारत सरकारले रोगका साथै रोटीसँगको लडाई जरूरी छ भनि लकडाउन भित्र पनि ३३ प्रतिशत कामदार सहित उद्योग सञ्चालन गर्ने निर्णय अनुसार केही उद्योगहरु खुलेका छन् । १५ वटा रूटमा रेल सेवा सञ्चालन भएका छन्, तर होटल, रेस्टुरेन्ट, कान्टीन, पिजी, फास्ट फुड, पार्टी प्यालेस आदि क्षेत्र खुल्ने सम्भावना छैन् । नेपाली श्रमिकहरुको अवस्था झन भन्दा झन दयनीय बन्दै गएको छ । अनेकन शहरमा स–सानो कोठामा झुण्डका झुण्ड नेपाली श्रमिकहरू बसेका छन् । उनीहरूसँग रोजगार छैन, खाना छैन, कोठा भाडाको लागि ताकेता भइरहेको छ । भोक र चिन्ताले बिमारी भएका छन्, कैयौंले डिप्रेशन भएर आत्महत्या समेत गरेका घटनाहरु भएका छन् । अनेकन कष्ट सहेर बोर्डरमा पुगेका नेपालीहरू भारतीय कोरेन्टाईनमा बस्न लागेको २०÷२५ दिन बढि भइसकेको छ । उनीहरुको अवस्था पनि दयनीय बन्दै गइरहेको छ । हामीले रोजगार गुमाएर अलपत्र परेका, अस्पतालबाट डिस्चार्ज भएका र मृत्यु भएका घटनाहरुमा काजक्रियाको लागि नेपाल जाने व्यवस्था मिलाउनका लागि माग गर्दै पटक–पटक नेपाली दूतावास, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरि एवं समय समयमा फोनमा वार्तालाप गरिनुका साथै प्रेस वक्तव्यद्वारा बैधानिक एवं आवश्यक मापदण्ड अपनाई नेपाली श्रमिकहरुलाई देश भित्र्याउन माग गर्दै आएका छौं, तर कुनै सुनुवाई भएको छैन । 
२. भारतका कतिपय राज्यहरुका डिस्ट्रीक मजिष्ट्रेटहरुको सिफारिसमा विभिन्न राज्यहरुका प्रवासी मजदुरहरुलाई आ–आफ्नो घर पठाउने योजना भित्र पारेर कतिपय मालिकहरुले आफ्ना नेपाली श्रमिकहरुलाई पनि सिफारिस गरि पठाएर जिम्मेवारीबाट पन्छिरहेका छन् । त्यसरी प्रशासनद्वारा पठाइएको रेल–वसद्वारा पठाइएका नेपालीहरु मजदुरहरु भारतका विभिन्न जक्शनहरुमा अलपत्र परिरहेका छन् । यदि कुनै उपायद्वारा बर्डरसम्म पुगेता पनि झन् ठुलो विचल्ली हुने निश्चित छ । यो नयाँ समस्या थपिएको छ । नेपाल प्रवेश गर्ने सीमा नाका शिल भएको हुँदा कतिपय व्यक्तिहरु लुकिछिपी अनाधिकृत रुपबाट नेपाल प्रवेश गरेकोले पनि नेपालमा कोरोना भाइरस संक्रमण संख्या बढिरहेको हो । हामी सम्बन्धित निकायहरु तथा नेपाल सरकार समक्ष उपरोक्त विषयहरुमा गम्भिर भई सहज प्रकारले स्वदेश भित्र्याई उनीहरुको स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार आइसोलेशन र कोरेन्टाइनको व्यवस्था गर्न माग गर्दछौं ।
३. कतिपय यातयात व्यवसायीहरुले नेपाल जाने व्यवस्थापन भएको भनि भ्रम श्रृजना गरिरहेको समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । कैयौं व्यक्तिहरुले हाम्रो कार्यालयमा त्यसको पुष्टिका लागि फोन सम्पर्क गरिरहेका छन्, उनीहरुको रिपोर्ट अनुसार कतैकतै मूल प्रवाहको नाम पनि प्रयोग गरिएको छ । यो सरासर बदमाशी हो र हाम्रो संगठनलाई बदनाम गर्ने षडयन्त्र हो । संगठनको स्थापित छविलाई अनाधिकृत रुपबाट प्रयोग गरि यो अफ्ठ्यारो परिस्थितिमा समेत पैसा कमाउने षडयन्त्र हो । हामी यस प्रकारका गतिविधिहरुको निन्दा गर्दछौं र कुनै पनि दाजु–भाई, दिदी–बहिनीहरुलाई भ्रममा नपर्न अनुरोध गर्दछौं । साथै यस प्रकारका गतिविधि गर्नेहरुलाई आवश्यकता अनुसारको कानुनी कार्यवाहीको माग गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार