खुल्ला आकाशमा दिन–रात गुजार्नेहरुको कहाली लाग्दो व्याथा 

सुशील परियार/
बनबासा । यतिवेला कोविड १९ को महामारीसँगै लगाइएको लकडाउनका कारण कैयौं श्रमजिवीहरुले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउने वित्तिकै दुई पाखुरीको बलमा जीविका चलाउनेहरु माथि निकै ठूलो बज्र प्रहार भएको छ । त्यसमा पनि एक आंग लाउन र एक छाकको बन्दोबस्त मिलाउने समस्या देशको राज्यव्यवस्थाले नमिलाइदिए कै कारण भारत प्रवासमा छरिएर रहेका नेपालीहरुको अवस्था त झनै दयनीय बन्दै गएको छ । उनीहरुलाई कोरोना संक्रमणले त छोला या नछोला तर भोक र भोकमरीको भवितव्यले भने पक्कै छुन थालेको छ ।
म स्वयंमले भारत–नेपाल सीमानामा अलपत्र परेका कैयौं नेपालीहरुका दुःखलाई मेरो अफ्नो वृत्तचित्र भित्र कैद गर्ने कोशिस गरें । यसो गर्नुको मेरो मुख्य उदेश्य आफ्नो देशको राज्य व्यवस्था सञ्चालक तथा संवाहकहरु समक्ष उनीहरुको पिडाको रोदन सुनियोस् भन्नु नै हो । मेरो यो आफ्नो पहल नै आफु सक्दो सहयोगको रुपमा लिएको छु । मेरो यस पहललाई केवल मानवी सहयोगको रुपमा बुझिदिन सम्पूर्ण पाठक वर्गलाई अनुरोध गर्दछु ।
यसै बीच मैले भारत–नेपाल सीमानामा रहेको बनवासामा पुगि एउटा स्थलगत रिपोर्ट संकलन गरें । त्यसमा महाराष्ट्रको नाशिकबाट आएका करिब २७ जना खुल्ला आकाश मुनी चौरमा अलपत्र अवस्था छन् । उनीहरु अधिकतम डडेलधुरा भाग्यश्वर गाउँपालीकाका छन् । केही व्यक्तिहरु वैतडीका रहेका छन् । उनीहरु नाशिकदेखि वरेलीसम्म ट्रकमा–पैदल–ट्रक हुँदै वनवासा बर्डरसम्म पुगेका छन् । उनीहरुलाई कोरेन्टाइन त गरिएको छैन नै, नत स्वदेश प्रवेशका लागि रास्ता तयार गरिएको छ ।
एउटा तीन वर्षको सानो बच्चा सहितकी महिलाको अवस्था त झनै पिडादायक छ । उनलाई प्रशाधन देखि लिएर हरेक कुराहरुको समस्या भएको समेत उनीहरु मध्यका एक जनाले बताउँछन् । उनीहरु भन्छन् : “नेपाल सरकारले खान दिन सक्दैन भने आफ्नै घरबाट खानाको व्यवस्था गरे रै भए पनि स्वदेशमा कोरेन्टाइनमा बस्छौं ।” भन्ने उनीहरुको यो पिडादायीक वाक्यांश कसले सुन्ने ? उनीहरुको मलिन चेहेराले भन्न खोजेका कुराहरु कस्ले पढ्ने ?
दूतावासमा फोन गर्दा फोन उठ्दैन, परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्दा फोन काटिन्छ । गृहले सीमानालाई अझै सशक्त प्रकारले बन्द गर्ने निर्देशन दिन्छ । के नेपाली श्रमिकहरुले जीवन भोकै कारणले त्याग्नु पर्ने हो त सरकार ? या खुल्ला आकाशमा दिन–रात गुजार्नेहरुको कहाली लाग्दो व्याथा सुन्ने र उनीहरुको राहातको व्यवस्था मिलाउने ?
https://www.youtube.com/watch?v=YDvER0FOG9I

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार