मिचिएको भू–भाग कूटनीतिक प्रयासबाट फिर्ता गरिनेछ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गर्नुभएको छ ।

गत शुक्रबार संघीय संसद्को दुवै सदनको संयुृक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भारतले मिचेको भू–भाग ठोस कूटनीतिक प्रयास गरेर फिर्ता लिइने बताउनुभयो । यद्यपि उहाँले त्यो सरल भने नरहेको स्वीकार गर्नुभयो ।

उहाँले भारतको प्रतीक चिह्न चारमुखे सिंहमा ‘सत्यमेव जयते’ लेखिएकाले भारतले ‘सिहंमेव जयते’ को व्यवहार नगर्ने विश्वास नेपाल र नेपालीको रहेको बताउनुभयो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्बारा स्वीकृत भएको सदनलाई जानकारी दिँदै उहाँले नेपाली भूमिमा भारतले बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा समावेश गर्ने निर्णय गरेको बताउनुभयो । साथै नेपालको मानचित्रमा भएको परिवर्तन भोलिसम्ममा सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।

संविधानको अनुसूचीमा उल्लिखित नक्सा संशोधनका लागि सदनमा संशोधन प्रस्ताव प्रस्तुत गरिने र त्यसलाई सदनले पारित गर्नेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताउनुभयो । विसं २०१८ सम्म तिरो उठाउने गरेको र जनगणना गरेको स्पष्ट हुँदाहुँदै नेपालको भूमि हडपिएकाले त्यो जसरी पनि फिर्ता लिइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

विगतका शासकहरूले भारतले हडपेको जमिनबारे मौन रहे पनि वर्तमान सरकारले सही निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो, ‘१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यसबेलाका शासकहरूले सहे,’ उहाँले भन्नुभयो, ‘अब यो ओझेल पर्नेछैन, सेलाउन दिइनेछैन । निष्कर्ष निकालिनेछ । अतिक्रमण गरिएको जमिन फिर्ता लिइनेछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार