१) तिम्रो त्यो पार्थिव शरीरलाई मैल भेट्न पाइन आमा ।
जति पिडा भए पनि तिम्रो यादमा मुटु रेट्न पाइन आमा ।।
दिन–रात तिम्रो बारेमा सोंचेर निदाउँदा पनि मैले ।
कहिले पनि तिमीलाई सपनीमा देख्न पाइन आमा ।।
२) त्यो कफन उघारी तिमीलाई हेर्न सकिन आमा ।
तिमीसँगै म पनि सेतो कात्रोमा बेर्न सकिन आमा ।।
कति तड्पी हौला, हाम्रो सम्झनामा प्राण जाँदा खेरि ।
नियतीको षड्यन्त्रलाई मैले फेर्न सकिन आमा ।।
३) आमा तिमी बिना यो संसारमा रमाउन सकिन ।
त्यो दुनियाँबाट फर्काउने मैले दाम कमाउन सकिन ।।
हरेकपल रुन्छन् भाई–बहिनी तिमीलाई सम्झेर आमा ।
तिनीहरूको मुहारमा खुशी ल्याउने माहोल जमाउन सकिन ।।
४) तिम्रो कमिले हरेकपल तड्पीएर बाँचेको छु आमा ।
सानै उमेरमा अनेकौँ जिम्मेवारी उठाएको छु आमा ।।
इच्छा पुरा गर्ने सकुला कि नाहि ति बहिनी भाईको ।
अब मैले पनि मृत्युलाई कुरि हेर बसेको छु आमा ।।
५) हरेकपल तिम्रै कमिले यादले सताँउछ आमा ।
यता–उता गर्दा भाईले तिमीलाई कराँउछ आमा ।।
खै के भाग्य लेखाएर आएका रहेछौ हामीले ।
तिम्रो कुरा गर्दा सानो भाई निकै रमाउँछ आमा ।।
आर. एल. संगिता
झिमरुक गाउँपालिका तुषारा ७
प्युठान