प्रदेश संरचनाको सेतो हात्ती आवश्यक छैन : जिसी

बुटवल । राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सांसद तारा जिसीले संघीयता खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार सुरु भएको प्रदेश संसदको बैठकलाई सम्बोधन गर्दै सांसद जिसीले प्रदेश संरचनालाई ‘सेतो हात्ती’ को संज्ञा दिनुभयो ।

‘संघीयता नामको सेतो हात्तीको बोझ जनताले धेरै समयसम्म उठाउन सक्दैनन् । संकटमा काम नलाग्ने प्रादेशिक संरचना खारेज गरौं’ सांसद जिसीले भन्नुभयो, ‘स्थानीय तहलाई अधिकार सम्पन्न बनाऔं । प्रदेश संरचनामा खर्च हुने ठुलो धनराशी स्थानीय तहमार्फत विकास निर्माण र कोरोना नियन्त्रण लगायत जनताको अत्यावश्यक सेवामा लगाऔं ।’

प्रदेश सांसद जिसीले सरकारको गलत नीति र ब्यवहारका कारण देशमा कोरोना माहामारीको संक्रमण भुसको आगो झैँ फैलिरहेको बताउनुभयो । भारतबाट फर्किएका नेपालीको उचित व्यवस्थापन नगर्दा जोखिम बढेको जिसीको भनाई थियो ।
‘भारतमा लाखौंको संख्यामा रहेका असंगठित क्षेत्रमा कार्यरत नेपाली नागरिक रोजगारी गुमेपछि भोक भोकै मर्नुभन्दा हप्तौं हिँडेर वा जोखिमपूर्ण यात्रा गर्दै लालावाला सहित सीमाक्षेत्रमा जम्मा भए । सीमामा उनीहरुमाथी अमानवीय ब्यवहार गरियो’ सांसद जिसीले भन्नुभयो, ‘नेपाल सरकारले पनि सबै शक्ति लगाएर जन्मभूमि पस्न नदिई युद्धको अवस्था सिर्जना गर्यो । लामो भयाभह र कष्टकर यातना पछि बाध्य भएर अबैध रुपमा नेपाल पस्नुको विकल्प भएन । यही कारणले गाउँ, बस्ति, शहर जताततै कोरोनाको संक्रमण भुसको आगो झैँ फैलिरहेको छ ।’

सीमाक्षेत्रसम्म आइपुगेका नागरिकलाइ वैधानिक र नियमित रुपमा चेकजॉच गरी स्वदेश भित्राइ क्वारेन्टिनमा राख्न आवश्यक ब्यवस्था गर्न जिसीले माग गर्नुभयो । भारत,खाडी लगायत विदेशमा रहेका नेपालीहरुलाई जवरजस्ती लामो समय रोक्न खोजे झन् भयाभह स्थिति सिर्जना हुने बताउँदै उनीहरुलाई देश भित्रै रोजगारीको अबस्था सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउन सरकारलाई सुझाव पनि दिनुभयो ।

प्रदेश सभाको बैठकलाई राजमोको तर्फबाट शुभकामना दिँदै सांसद जिसीले कालापानी, लिपुलेख र लिम्पियाधुरा सहित समेटेर नेपालको वास्तविक नक्सा जारी गरेकोमा सरकारलाई र लकडाउनको अवधिमा पनि आवाज उठाउने देशभक्त जनतालाई बधाइ दिनुभयो ।

प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु भएको हो । सभामा विभिन्न दलका सांसदहरुले शुभकामना दिएका थिए ।

बजेट अधिवेशनको आज पहिलो दिनको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको पत्र तथा यसअघिको पाँचौँ अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विभिन्न विधेयकसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार