पार्टी माथिको आक्रमण

  • मनोज भट्ट

विगत झण्डै ३ वर्षदेखि ने.क.पा. मसालका विरुद्ध छदम् नामबाट लेखहरु प्रकाशन गरेर, विभिन्न व्यक्तिहरुले नक्कली फेसबुक एकाउन्ट खोलेर, फेसबुक ग्रुप खडा गरेर सामाजिक सञ्जाल र अनलाईन पत्रिकाको माध्यमबाट अभियान नै सञ्चालन गरेका छन् । अहिलेसम्म यो ३ वर्षको अवधीमा सामाजिक संजाल वा प्रिंट मिडियाको माध्यमबाट सञ्चालित पार्टी विरुद्धको अभियान मुख्यतया दुईटा कुरामा केन्द्रीत रहेको पाईएको छ । प्रथम पार्टीका आन्तरीक गोपनीयता भंग गर्नु, द्वितीय पार्टी महामन्त्री का. महोनविक्रम सिंह र वहाँको परिवारजन माथि प्रहार केन्द्रीत गर्नु रहेको छ ।

पार्टी र पार्टी नेतृत्व माथिको आक्रमण पार्टी बाहिरबाट नभएर भित्रबाट नै भैरहेको छ । पार्टी भित्रबाट आफ्नो पहिचान लुकाएर छदमरुपमा पार्टी तथा नेतृत्व माथि खुल्ला आक्रमण भैराखेको छ । पार्टी भित्र बसेर पार्टीको गोपनियतालाई भंग गरि सार्वजनिक गर्ने काम भईरहेको छ । पार्टीका आन्तरिक निर्णयहरुका विरुद्ध सार्वजनिकरुपले आलोचना गरेर पार्टीप्रति जनसमुहमा वितृषा पैदा गराउने, जनताका बीच पार्टीलाई बदनाम गराउने र जनसमुदायबाट अलग्याएर कमजोर बनाउने षडयन्त्र अन्तर्गत काम भैरहेको छ । उदाहरणका लागि हालै एकजनाले पार्टी केन्द्रले लाखौं करोडौं रुपिया ऋणमा उठाएर केन्द्रमा पठाउन सर्कुलर गरेको कुरा फेसबुक मार्फत सावजनिक गरेका छन्् । उनले सर्कुलर सार्वजनिक गरेर पार्टीको आन्तरिक गोपनीयता त भंग गर्ने काम गरे । त्यती मात्र नभएर उनले सार्वजनिकरुपमा यो आरोप पनि लगाए कि, कोरोना महामारीबाट जनता, कार्यकर्ता र शुभचिन्तक पिल्सीएका बेला पार्टी सञ्चालनका लागि पार्टी सदस्यहरु माथि आर्थिक बोझ लादने काम भयो । के यो आरोपमा कुनै सत्यता छ ? यदि यो कुरालाई सरलरुपमा हेर्ने हो भने कोरोनाको कहरका बेला ऋण उठाउने कुराले सदस्यहरु माथि बोझ पारेको जस्तो देखिन्छ तर त्यसलाई गहिरिएर हेर्ने हो भने पार्टी केन्द्रको देश भित्र र प्रवासमा मातहतका समितिहरु छन् विभिन्न तहमा जननिर्वाचीत प्रतिनिधीहरु तथा हजारौं पार्टी सदस्यहरु क्रियाशील छन् । एउटा क्रियाशील पार्टी जसरी खुल्लारुपमा सक्रिय हुनुपर्ने हुन्छ ठीक त्यसै प्रकारले आन्तरिकरुपमा पनि पार्टीले आफ्नो नियमित प्रशासन तथा आर्थिक गतिविधि र लेनदेन पनि सञ्चालन गरिरहेको हुन्छ । पार्टी एउटा स्थायी प्रकृतिको संस्था हो । त्यसले जुनसुकैमा अवस्थामा पनि आफना बाह्य तथा आन्तरिक गतिविधि पार्टीले जारि राख्छ ।

स्थानिय तथा प्रादेशीक पार्टीका आफ्ना निश्चित आम्दानीका श्रोतहरु हुन्छन् । कैयौं अवस्थामा अन्तर पार्टी भित्र ऋण सापट चलिरहेको हुन्छ र यो एउटा नियमीत प्रकृया हो । संगठनमा आवद्ध व्यक्तिहरुका लागि यि कुरा सामान्य नै हुन् तर विद्यमान परिस्थितिको संवेदनसिलतालाई पार्टी निर्णयको विरोध गर्ने र सर्वसाधरणमा भ्रम सृजना गर्ने माध्यमको रुपमा प्रयोग गर्ने अत्यन्तै घटिया तरिका अपनाईयो । यसबाट के कुरा प्रष्ट हुन्छ भने पार्टीका विरुद्ध भ्रम सृजना गर्न पार्टी आवरणमा लुकेर बसेका तत्वहरु जुनसुकै हतकण्डा पनि अपनाउन तैयार छन् । पार्टीका विरुद्ध यसप्रकारको हरकत गर्ने तत्वहरु पार्टीको ईमान्दार तथा प्रतिवद्ध सदस्य हुनै सक्दैनन । यो त एउटा सामान्य उदाहरण मात्र हो । यसप्रकारका कार्यहरु श्रृंखलाबद्धरुपमा लामो समयदेखि सञ्चालन भैरहेका छन् ।

फेसबुकमा यो कुरा पनि सार्वजनिक गरिएको छ कि कोरोनाको कहरबाट पार्टी सदस्यहरु पिडित भएका बेला पार्टीले ऋण उठाउँन गरिएको सर्कुलरको उद्देश्य मोहनविक्रम सिहंको विलासी जीवन धान्न तथा वहाँले लेखेको “लभस्टोरी” जलजलालाई प्रकाशन गर्नाका लागि हो । मोहनविक्रमको उपन्यास प्रकाशन गर्न कुनै पनि प्रकाशन संस्था तयार छन् र हुन सक्दछन् । त्यसका लागि लेखकको नामको उचाई नै काफि छ । कुनै पनि प्रकाशन संस्थाले लेखकलाई अग्रिम लेखकस्व (रोयल्टी) दिएर प्रकाशन गर्न तछाडमछाड गर्न सक्दछन् भन्दा अतिशयोक्ति नहोला तर रोगको सम्वेदनशिल अवस्थालाई उपयोग गरेर पार्टी पंक्ति र आमजनसमुदायमा का. मोहनविक्रम सिहंका विरुद्ध भ्रम छरेर वहाँलाई बदनाम गर्न गरिएको कुल्सीत चालबाजी बाहेक अरु केही होईन भन्ने कुरा जो सुकैले पनि बुझ्न सक्दछन् । यी दुईटा उदाहरणबाट पनि यो कुरा प्रष्ट हुन्छ कि पार्टीको गोपनियता भंग गरि सार्वजनिक गर्नु र खुलारुपमा पार्टी नेतृत्व माथि मिथ्या तथा निराधार आरोप लगाउनु पार्टीमा कथित सुधारका लागि नभएर पार्टी लाई ध्वस्त गर्नु र नेतृत्वलाई सिद्धाउने उद्देश्यले काम गरेको छ ।

हामीले माथि पनि चर्चा गरि सकेका छौं कि,अहिले पार्टी माथि भैरहेको प्रहार बाहिरबाट नभएर पार्टी भित्रबाट हो । पार्टी भित्रबाट भन्नुको तात्पर्य सिङगो पार्टी वा बहुमत वा अल्पमत सदस्यहरुबाट यो समस्या खडा भएको छैन । केहि फुटपरस्त, अनुशासनविहिन वा प्रतिकृयावादीहरुबाट निश्चित उद्देश्येका लागि घुसपैठ गराइएका घुसपैठीयाहरुबाट यो काम भैरहेको छ । यस प्रकारका काम गर्नेहरु घुसपैठीया नभए पनि उनीहरुको कामको प्रकृति घुसपैठीया प्रकारको छ । उनीहरुको कामबाट पार्टीलाई पुगिरहेको क्षतीबाट कसलाई फायदा पुगिरहेको छ ? नयाँ जनवाद क्रान्तिलाई न्युनतम कार्यक्रम बनाएर लगातार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि लगातार लडिरहेको पार्टीका विरुद्ध भ्रम श्रृजना गरेर, पार्टीका आन्तरिक कुरालाई सार्वजनिक गरि दुश्मनसम्म पुरयाएर कसको हित गर्न खोजिएको छ ? पार्टीलाई कमजोर बनाएरको बलियो हुन्छ ? दुश्मन शक्ति वा जनवादी, क्रान्तिकारी शक्ति ? निश्चितरुपले यो कार्यले क्रान्तिकारीहरुलाई होइन प्रतिकृयावादीहरुलाई प्रत्यक्ष तथा परोक्षरुपमा फाईदा पुगिरहेको छ ।

पार्टीले आठौं महाधिवेशन सम्पन्न गरिसकेपछि पनि आन्तरिकरुपमा श्रृजना गरिएको गडबडीका बावजुद पनि लगातार संघर्षको मैदानमा छ । भ्रष्टाचारका विरुद्ध युवा अभियान, कालापानी सहितको भूभागलाई समेटेर भारतले नक्सा जारी गरेको र अहिले आएर त्यो क्षेत्रमा भारतले अनधिकृतरुपमा सड्क बनाएको विरोधमा संघर्षको मोर्चामा अग्रपङक्तिमा छ । सङ्घीयताका विरुद्ध विद्यार्थी मोर्चाको काठमाडौं केन्द्रीत आन्दोलनको ब्यापक तयारी, स्थानीय सवालमा कैयौं संघर्षका कार्यक्रमहरु भएका छन् । बन्दाबन्दीका बीच पनि पार्टी संघर्षका मैदानमा छ । यसरी संघर्षको बीचबाट अगाडि बढिरहेको पार्टीको विकासबाट आतिएका देशी विदेशी प्रतिकृयावादी शक्तिहरुले पार्टीलाई कमजोर बनाउन अराजक अनुशासनविहिन तत्वहरुलाई उपयोग गरि रहेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

क्रान्तिकारीहरुलाई कमजोर बनाउनका लागि प्रतिकृयावादीहरुले विभिन्न प्रकारका तरिका अपनाउने गर्दछन् । त्यस मध्ये घुसपैठ पनि एउटा हो । कतिपय अवस्थामा पार्टी भित्र लामो संघर्षको पृष्ठभूमि भएका तथा इमान्दार नेता कायकर्तालाई भ्रष्ट बनाएर वा उनीहरुका असन्तुष्टिलाई प्रतिकृयावादी उद्देश्यका लागि प्रयोग गरेर घुसपैठीयामा रुपान्तरण गर्ने गरेको पनि पाईएको छ । आफना एजेण्टहरुलार्ई पार्टी भित्र घुसपैठ गराउने पनि गर्दछन् । विप्लव समूहमा सरकारको गुप्तचर निकायबाट योजनाबद्धरुपमा घुसपैठ गरिएको कुरा स्वयं ती संस्थाका अधिकारीकरुले स्वीकार गरेका छन् । विप्लव समूहका नेता कार्यकर्ताहरुका विरुद्ध भैरहेको ब्यापक गिरफतारी र त्यसमा सरकारले प्राप्त गरेको सफलताका पछाडि सरकारी घुसपैठले काम गरेको छ । पार्टी गोपनीयता वा सर्कुलर सार्वजनिक गर्न सक्नुमा आफनो जीत ठाने वा आत्मरती लिने गरेको पाइन्छ । यस प्रकारको प्रवृतिबाट ती तत्वहरुमा राजनीतिक भन्दा घुसपैठीया चरित्र प्रधान बनिरहेको छ ।

निश्चितरुपले पार्टी भित्र विभिन्न विषयमा संघर्ष चल्छ । कतिपय अवस्थामा संघर्षले शत्रुतापूर्णरुप लिने पनि गर्दछ । पार्टी फुट वा विभाजनको शिकार पनि हुने गर्दछ तर त्यो अवस्थामा पनि कुनै पार्टीका आन्तरिक गोपनीयता जस्तो संवेदनशिल विषयलाई सार्वजनिक गर्नुलाई कदापी सही मान्न सकिन्न ।

पार्टी आवरणमा लुकेका अनुशासनविहिन तत्वहरुले लगातार कामरेड मोहनविक्रम सिंह र उहाँको परिवारजनलाई प्रहारको निशाना बनाई रहेका छन् । उहाँका कैयौं वैयक्तिक प्रश्न उठाएर आलोचना गर्ने गरेका छन् । पिछडीएको चेतना भएको समाजमा वैयक्तिक विषय उठाएर भ्रम श्रृजना गर्नु सजिलो पनि हुन्छ । म्याक्सीम गोर्की पार्टीका लागि धन सङ्कलन गर्न अमेरिका गएका थिए । त्यस बेलासम्म उहाँ विश्व विख्यात लेखकको रुपमा स्थापित भई सक्नु भएको थियो तर अमेरिकनहरुले गोर्कीलाई आफनो पहिलाको श्रीमति छोडको र विवाह नै नगरेको महिलालाई लिएर अमेरिका आएको भनरे ब्यापक आलोचना गर्नुका साथै अपमान समेत गरेका थिए ।

अत्यन्तै वैयक्तिक मामिला उठाएर लेनिनलाई समेत बदनाम गर्ने प्रयास भएको पाइन्छ । लेनिनलाई बदनाम गर्न बीबीसी लण्डनले समेत लेनिनका बारेमा लामो रिर्पोट तयार पारेको थियो । बीबीसीले आफ्नो रिर्पोटमा लेनिनलाई नपुंसक समेत बताएर अत्यन्तै नीजि र संवेदनशील मामिला उठाएर बदनाम गर्न खोजीएको थियो । एकातिर रिर्पोटमा लेनिनलाई नपुंसक बताइएको छ, अर्कोतर्फ उनको सम्बन्ध स्क्रा अरनल्डसँग थियो भनेर लेखेका छन् । स्क्रा अरनल्डलाई लेनिनको रखौटी बताईएको छ । स्टालिन, माओ वा माक्र्सका पनि वैयक्तिक कुराहरु उठाएर बदनाम गर्ने गरेको पाइन्छ । यसतो किन हुन्छ ? वा माक्र्स, लेनिन, माओ, स्टालिनका पनि वैयक्तिक मामिला उठाएर किन बदनाम गर्ने कोशिसहरु भए ? रानजनैतिक वा सैद्धान्तिकरुपले सामना गर्न नसकेपछि यस प्रकारका हत्कण्डा प्रयोग गर्ने गरिन्छ । अझ हाम्रोे जस्तो पिछडीएको समाजमा राजनीतिक सैद्धान्तिक कुराले भन्दा वैयक्तिक विषयले बढी महत्व पाउछ र मान्छेलाई तुरुन्तै प्रभावित पार्छ । त्यस आधारमा विरोधी जनमत तयार पार्न सजिलो पनि हुन्छ, तर यो कुरा दीर्घकालीन नभएर क्षणिक हुन्छ । त्यसैले यसको कुनै अर्थ छैन ।

नेपालको क्रान्तिकारी धाराको नेतृत्व गर्ने उचाईसम्म कामरेड मोहनविक्रम सिंह त्यतिकै पुगेका होइनन् । कुनै निश्चीत राजनीतिक घटना क्रममा क्रान्तिकारी विचार लिएका कारणले होइन, उहाँको समग्र राजनीतिक जीवन नै क्रान्तिकारी आन्दोलनको विरासत बोकेर हिंडेको छ र यहाँसम्म पुगेको छ । ईतिहासका कैयौं कालखण्डमा माक्र्स, लेनिन र माओलाई दक्षिणपंथीको आरोप लागेको पाइन्छ तर ईतिहास साक्षी छ माक्र्स, लेनिन र माओले क्रान्तिकारी सिद्धान्तको विरासतलाई कहिले छोडनु भएन । माक्र्स, लेनिल र माओलाई दक्षिणपन्थी भन्नेहरुले माक्र्सवाद, लेनिनवादलाई परित्याग गरेर गदारीको बाटो अनाए । आन्दोलनका विभिन्न मोडहरुमा कामरेड मोहनविक्रम सिंहलाई दक्षिणपन्थी भनेर डामनेहरुको कमी छैन तर आजको समय तिनीहरु कहाँ छन् ? यो कुरा कसैबाट लुकेको छैन ।

देशमा बुर्जुवा गणतन्त्र कायम भएको छ । यो गणतन्त्रको स्थापनामा हाम्रो पार्टीको पनि ऐतिहासीक भूमिका छ । गणतन्त्रको स्थापनासँग देशको राजनीतिक शक्ति सन्तुलनमा ब्यापक परिवर्तन आएको छ । भर्खर स्थापना भएको यो ब्यवस्था प्रति जनतामा विश्वास छ, तर सैद्धान्तिक दृष्टिकोणले यो अफाप सिद्ध भएको ब्यवस्था हो । यस्तो विरोधाभास अवस्थामा हामीले तात्कालीकरुपले गणतन्त्रलाई निषेध गरेर अगाडि बढने कार्यनीति बनाउनु घातक हुन्छ । कार्यनीतिकरुपले गणतन्त्रलाई समर्थन र रणनीतिक रुपले विरोध नै अहिलेको क्रान्तिकारी लाइन हो । यदि कसैले यहि कारण मोहनविक्रमलाई दक्षिणपन्थी देख्छ भने दृष्टिदोष र पूर्वाग्रह बाहेक अरु केहि होइन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार