सोती घटनाको छानबिन गर्न राजमो कर्णालीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिले रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतिमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष भरतबहादुर शाहीले मंगलबार प्रेस वक्तव्य प्रकाशित गरी कुनै दबाब वा प्रवाभमा नपरी घटनाको छानबिन गर्न माग गर्नुभएको छ ।

रुकुम पश्चिम चौरजहारीकी १७ वर्षीया शुष्मा मल्ल र जाजरकोट जिल्लाको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विकबीच विगत लामो समय देखि प्रेम सम्बन्ध रहँदै आएकोमा शनिबार बिहेको लागि नवराजलगायत १९ जना मानिसहरु केटी लिन चौरजहारी पुगेको अवस्थामा गाउँलेहरुको समुहले बीच बाटोमा नै उनीहरुलाई आक्रमण गरि लखेट्दै भेरी नदीमा खसालीदिएका थिए ।

यसरी खसालिएका मध्य हाल सम्म नवराज विक, टिकाराम सुनार र गणेश बुढाको शव भेरी नदीको किनारमा भेटिएको छ भने सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझै बेपत्ता रहेको र १२ जना घाइते भएका छन् ।

यसप्रकारको घटनाले उक्त क्षेत्रमा डर, त्रास र अशान्तीको वातावरण सिर्जना भएको भन्दै एउटा सामान्य अन्तरजातीय प्रेम सम्बन्धको विषयमा समेत यति ठूलो सामाजिक अपराधको घटना घट्नुले अझै पनि हाम्रो सामाजिक चेतनाको स्तर न्यून रहेको राजमोले जनाएको छ ।

घटनाबारे कुनै पक्ष वा शक्तिको दबाब वा प्रभावमा नपरी निस्पक्ष तरिकाले सत्य तथ्य पत्ता लगाई वास्तविक दोषीलाई कानुन बमाजिम सजाय दिन राजमोले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार