संविधान संशोधनका लागि सर्वदलीय बैठकमा कांग्रेस र मधेशवादी असहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निशान छापमा नेपालको नयाँ नक्सा राख्न संविधान संशोधनका लागि मंगलबार साँझ बोलाएको सर्वदलीय बैठक कांग्रेस र मधेशवादी दलले सहमति नदिँदा बिना निष्कर्ष टुंगिएको छ ।

बैठकमा नेपाली कांग्रेसले प्रस्तावमा सकारात्मक भएपनि पार्टीभित्र थप छलफलको आवश्यकता रहेको बताएपछि सहमति जुट्न नसकेको हो । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर प्रस्तावको विषयमा छलफल गर्ने कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले बताए ।

कुटनीतिक वार्ताको माध्यमबाट विवाद समाधानका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्दै उनले केन्द्रीय कमिटि बैठकबाट संशोधन प्रस्तावको विषयमा निर्णय हुने बताए । बैठकमा जनता समाजवादी पार्टी दलका नेताहरुले आफूले उठाउँदै आएका मागहरु पनि समेट्न आग्रह गरेका थिए ।

कांग्रेसले केन्द्रीय कमिटि बैठक बोलाएर छलफल गर्नेे समय माग गरेपछि प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै सहमति हुन सकेन ।

बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गरे ।

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा सिंगो राष्ट्र एकतावद्ध रहेको र त्यसैको बलमा यो विषय टुंगोमा पु-याउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै दलहरुलाई एकतावद्ध भएर प्रस्तुत हुन आग्रह गरे ।

संविधान संशोधन गर्नुपर्ने विषयमा दलहरुले माग राख्दै आएपनि तत्काल यो विषयलाई टुंगो लगाउनुपर्ने आवश्यकता भएकाले अन्य विषय समावेश नगर्न उनले आग्रह गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

सम्झौताको दस्तावेजका रुपमा रहेको संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो विषय तत्काल टुंगो लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार