नेपालगञ्ज दूर्घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धान्जली

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रवासबाट घर फर्कने क्रममा नेपालगञ्जमा भएको सवारी दुर्घटनाप्रति दुःख ब्यक्त गरेको छ ।

समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी पैसाको लालचमा गाडीको क्षमता भन्दा अधिक यात्रीहरु भरेकोले दुर्घटना भएको हुन सक्ने आशंका गर्दै घटनाको छानबिन गर्न माग गर्नुभएको छ ।

नेपालीहरुको उद्धारका नाममा गाडीमा कोचाकोच गरेर राख्ने, अनावश्यक भाडा लिने लगायत मजदुरहरुको विवशताको फाइदा उठाउन खोजिएको भन्दै मूलप्रवाहले आपत्ति समेत जनाएको छ ।

सामाजिक दूरीसमेत कायम नराखी सवारी साधनमा कोचाकोच गर्दा कोरोना भाइरसको जोखिम बढ्न सक्ने वक्तव्यमा आशंका गरिएको छ ।

यस्तो छ, मूल प्रवाहको वक्तव्यः

‘पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गत राती भएको गाडी दुर्घटनामा ११ जनाको घटना स्थल मै, १ जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु तथा २१ जना घाइते भएका छन् । मृतहरुहरुप्रति हार्दिक श्रद्धान्जली एवं घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

विश्व नै नोवेल कोरोना भाइरस (कोविड १९) को संक्रमण र त्यसलाई रोक्न गरिएको लकडाउनको यो अवधिमा कैयौं मजदुरहरु शहरबाट गाउँतर्फ पलायन भइरहेका छन् । उनीहरु ट्रक, टिपर, टेक्टर वा बस जहाँ जे हुन्छ उपयोग गर्दै जोखिमपूर्ण यात्रा गरि आ–आफ्नो घरतर्फ फर्कन बाध्य छन् । कैयौं सवारी चालकहरुले मजदुरहरुको विवशताको फाइदा उठाउँदै नाफा कमाउन चर्काे भाडा असुली, अत्याधिक यात्रीहरुलाई जबरजस्ती कोचेर यात्रा गराइरहेका समाचारहरु पनि आइरहेका छन् । यसरी अनियन्त्रित र सामाजिक दूरीको नियमलाई समेत उल्लंघन गर्नाले एकतर्फ गाडी दूर्घटना हुने अर्को तर्फ कोरोना संक्रमण फैलिने संभावना प्रवल हुन्छ ।

जसको ज्वलन्त उदाहरण भारतमा मजदुरी गरि रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेका ३३ जना मजदुरहरु बोकेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी नेपालगञ्जबाट दाङ हुँदै सल्यानतर्फ जाँदै गर्दा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी अनियन्त्रित भई ट्रकमा ठोक्किएको सहजै अनुमान गर्न सकिन्छ । फोर्स गाडीको सिट क्षमता मात्र १५ देखि १७ सम्म मात्र हुन्छ, तर पैसाको लालचमा गाडीको क्षमता भन्दा अधिक यात्रीहरु भरेकोले दुर्घटना भएको हुन सक्छ ।

अन्तमा : निहित स्वार्थका लागि चर्को भाडा असुली गर्ने, अत्याधिक यात्रीहरु भरेर यात्रा गराउने लगायतका कार्यहरुमा संमलग्न व्यक्ति तथा तत्वहरुहरुलाई यथासिघ्र छानविन गरि आवश्यक कार्यवाही गरिनुका साथै यसप्रकारका घटनाहरुलाई नियन्त्रण गर्न नेपाल सरकार तथा अन्य सरोकार वाला निकायहरु समक्ष माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार