भेरीमा लासहरू बगेका होइनन्

  • बालाराम तिमिलसीना

यो पटक भेरीमा बगेका
दलितका लासहरू होइनन्
होइनन् , हुदैहोइनन् , अहँ होइनन्
कसले भन्यो हो भनेर ?
यो पटक भेरीमा बगेको
मेरो समाजको इज्जत हो
मेरो देशको प्रतिष्ठा हो
मेरो कथित उच्च जातको लगौंटी हो !

जुन दिन बग्यो भेरिमा
मेरो लाज छोप्ने जराजीर्ण अन्तर्बस्त्र
त्यो दिनदेखि म
एक हातले मुख
र एक हातले लाज छोपेर बसेको छु
म ऐले लाजले कुना पसेको छु ।

यो पटक भेरीमा
नवराज बिकहरू बगेका हैनन्
यो देशको न्याय बगेको हो
यो समाजको मानवता मरेको हो
हामी मान्छेबाट चुतिया बनेका हौं

यो पटक भेरीमा
लासहरू बगेका हैनन्
वर्णाश्रमको पुत्ला बगेको हो
धर्मग्रन्थको भुत्ला बगेको हो
हामीभित्रको मान्छेले
रोएर आत्महत्या गरेको हो ।

यो पटक भेरीमा
गणतन्त्रको गम्छा बगेको हो
नक्कली कम्युनिष्टहरूको कट्टु बगेको हो ।

आँखा उघारेर हेर्न खोज्छु
मन्त्रीहरू नाङ्गा नाङ्गै छन्
प्रशासकहरू नाङ्गानाङ्गै छन्
न्यायधीशहरू नाङ्गै छन् चेम्वरमा
प्रहरीहरू वर्दीहीन नाङ्गै छन्
पण्डित पुरोहितहरू नाङ्गै
मुखबाट जन्मनेहरू नाङ्गै
र ईश्वर स्वयम् नाङ्गै देखिन्छ !

म फेरि जोडले आँखा छोप्छु
म फेरि जोडले लाज छोप्छु
उफ अति भयो अति
यसरी कति दिन वाँच्न सकिन्छ
हातले आँखा र लाज छोपेर ?

२०७७|०२|१९
भक्तपुर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार