जातिय गम्भिर दुई घटना

कृष्ण अधिकारी

गएको जेष्ठ १० र १२ गते रूकुमको चौर जहारी र अमेरिकाको मिनियपोलिसमा जुन मानवता विरूद्धका अमानविय घटना घटेका छन् त्यसले २१ औं शताब्दीको विकासशिल र विकसित मुलुकहरूको मानव सभ्यताको खिल्लि उडाएको छ ।

चौर जहारी घटनामा उपल्लो ठकुरी जात कि युवती विवाह गर्न खोज्दा लखेटि–लखेटि दुलहा बन्न आएका नवराज बिकको घटना स्थलमै प्राण लिईएको छ भने जन्ति हुन आएका सन्दिप बिक, लोकेन्द्र सूनार, टिकाराम सूनार, गणेश बुढा र गोविन्द शाहीलाई लखेट्दै भेरी नदीमा हामफाल्न बाध्य पारेर प्राण लिइयो ।

उता अमेरिकामा कालाजातिका जर्ज फ्लोयडलाई नक्कलि नोट प्रयोग गरेको अभियोगमा प्रहरीले गर्धन थिचेर प्राण लिएको छ । संयुक्त राष्ट्र संघले जातिय विभेद उन्मुलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि विस २०२२ साल पौष ६ गते पारित गरेर त्यसलाई विस २०२५ साल पौष २१ गतेबाट लागु गरिएको थियो । अमेरिका लगायत ठूला देशहरू यो महासन्धिको साक्षि नै थिए । नेपाल सरकारले पनि राजा महेन्द्रकै पालामा २०२७ साल माघ १७ गते यसलाई अनुमोदन गरेको थियो ।

विस २०४६ साल पछिको बहुदलीय व्यवस्था र विस २०६३ यताको गणतान्त्रिक व्यवस्थाले मौलिक हक अन्तर्गत जातिय भेदभाव नहुने बताएको छ । अझ यसलाई स्पष्ट पार्दै विस २०६८ सालमा जातिय छूवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन लागू गर्दै (ऐनको २ क मा प्रत्येक व्यक्तिलाई छुवाछूत तथा भेदभाव विरूद्धको अधिकार अन्तर्गत (च) नँ.बूँदामा विवाह गर्ने तथा वर–वधु छान्ने अधिकार सूनिश्चित गरिएको छ ।

विचरा नवराज बिक बधु उपल्लो जातको भएको कारणले विवाह गर्नबाट मात्र बञ्चित भएनन्, तल्लो जातको भन्ने भेदभावका कारणले ज्यानै समेत रहेन । अझ लाजै मर्दो जुन क्षेत्रबाट ’माओवादी जनयुद्द’ ताका हजारौं व्यक्तिहरू वर्ग दृष्टिकोण उठेर युद्धमा लागेको भनिएको थियो र आज तिनैको सहारा लिएर केहि व्यक्तिहरूले शहरको अलिशान जिन्दगी जिईरहेका छन् । उनीहरूलाई पनि यो घटनाले निर्वस्त्र पारिदिएको छ ।

अमेरिकामा अश्वेत जातिहरू जागेका दिनहरू………

आज दूनियाँमा शक्तिशाली राष्ट्र अमेरिकालाई यो स्थानमा ल्याईपूर्याउन अफ्रिकी काला जातिहरूको खुन–पसिना पनि अमेरिकी माटोमा उत्तिकै वगेको छ । अफ्रिका महादेशका मानिसहरू पहिलो पटक सन् १६१९ मा अमेरिका आएका थिए, उती बेला अमेरिका बृट्रिस उपनिवेश अन्तर्गत थियो । बृट्रिसहरूले निःशुल्क श्रम कजाउन दासका रूपमा अफ्रिकनलाई यहाँ ल्याएका थिए । त्यस बेला देखि यी जातिहरू अमेरिकामा विभिन्न चरणका आन्दोलनहरूबाट गुज्रँदै यहाँसम्म आईपुग्दा पनि अझै अमानवीय असमानता भोगिरहेका छन् ।

अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले सन् १८६३ मा अमेरिकामा दास प्रथाको अन्त्य गरेसँगै ठूलो संख्याका अश्वेत जातिहरूले पनि मुक्ति पाएका थिए । त्यसपछि अश्वेत जातिहरूका लागि अलग कानुनहरू बन्दै आए । लामो समयदेखि लागूरहेको Segregation बिध (अलग्याई कानुन) का कारण आज पनि अश्वेत जातिहरूको ठूलो संख्या अमेरिकाको उत्तरी विपन्न क्षेत्रहरूमा बसोवास गर्दै आएको छ ।

सन् १९५५ देखि १९६८ सम्म अश्वेतहरू माथिको भेदभाव अन्त्य गर्ने उद्देश्यका साथ मार्टिन लूथर किंग जुनियरले Civil Right Movement (नागरिक अधिकार आन्दोलन) को नेतृत्व गरे । यो विशाल आन्दोलनबाट उनलाई अश्वेत जातिका गान्धीका रूपमा पनि चिनिन थालियो । उनको नेतृत्वले अश्वेत जाति भेदभावबाट मुक्त पाउने ठूलो आशा गरिएको थियो, तर उनको ३९ वर्षको अल्पआयुमै सन् १९६८ मा हत्या गरियो । उनको हत्या पछि त्यतिखेर पनि ठूलो जातिय हिंसा भड्केको थियो । त्यसपछि अमेरिकी कानुनमा कैयौं सूधार गरेर अश्वेत जातिका अधिकारहरू सूनिश्चित गरिएको थियो ।

सन् २००९ मा पहिलो अफ्रिकी अमेरिकन नागरिक बाराक हुसैन ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति बने । यो अमेरिकी कालाजातिका लागि ठूलो गर्वको विषय थियो । यसले अमेरिकामा अब अश्वेत जातिहरूका लागि भेदभावको ठूलो खाडल पूरिएको महशुस दुनियाले गरेको थियो, तर ओबामा कै शासनकालको उत्तरार्धमा हाल जहाँ जर्ज फ्लोयडको घटना भयो मिनिसोटा राज्यको मिनियपोलिस वरिपरि २०१५, २०१६ र २०१७ मा तीनवटा हत्याका घटना घटेका थिए । जसमा क्रमशः २४ वर्षे अश्वेत जमार क्लर्क, ३२ वर्षे फिलाण्डो क्यासट्याल र ४० वर्षीय महिला जस्टिन डामण्डको पुलिसद्वारा हत्या गरिएको थियो । त्यस घटनाका दोषी कसैलाई पनि कुनै कार्वाही भएन ।

यी र यस्तै अन्य कैयौं घटनाहरूछन् जसले अश्वेतहरू अपराधि हुन्छन् भन्ने नश्लवादी मानसिकता अमेरिकी पुलिस र अमेरिकी श्वेत नागरिकलाई गहिरो गरि गढेको छ ।

अझ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमन पछि कालाजातिहरू माथिको द्वेष मानसिकता ह्वात्तै वढेको छ । त्यसैले कालाजातिहरू आफूलाई अझ असूरक्षित महशुस गरिरहेका थिए । जेष्ठ १२ गते जर्ज फ्लोयड माथि श्वेत पुलिस अधिकारीले जसरी गर्धन थिचेर मारे, त्यो अश्वेतहरू माथि जसो गर्दा पनि हुन्छ भन्ने गढेको नश्लवादी मानसिकताको उपज हो ।

‘आज अमेरिकामा जुन हिंसात्मक प्रदर्शन भैरहेका छन्, यो अहिलेको घटनाले मात्र होईन, यस अघिका अनगिन्ति घटनाहरूको आक्रोस अहिले फुटेको हो ।’ यो प्रदर्शनमा सामेल एक अश्वेत युवाको भनाई हो ।

आजसम्म पनि भएको प्रदर्शनमा केहिको ज्यान गएको छ, सयौं घाईते भएकाछन् र सात हजार बढिको गिरफ्तार भएको छ । लूटपाट,आगजनि र तोडफोडले हालसम्म करोडौको क्षति पुगेको बताईएको छ । ह्वाईट हाउस अगाडिको प्रदर्शनबाट असूरक्षित महसुस गरेर त्यहाँका अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई केहिबेर बँकरमा समेत लुकाउन परेको भन्ने समाचारले संसारलाई नै अधिनमा राख्न सक्छु भन्ने महानायकको हविगत कति कमजोर रहेछ, भन्ने कुरा अमेरिका भित्रै जागेको अश्वेतजातिको आन्दोलनले देखाईदिएको छ ।

हाल अमेरिकामा ४० भन्दा वढि शहरमा कर्फ्यु लगाईएको छ, ट्रम्पको सेना परिचालनको घोषणा पछि आन्दोलन झन चर्किएको छ । पुलिसले पत्रकारलाई पनि घाईते बनाएको र गिरफ्तार गरिरहेको बताईएको छ । आन्दोलनको समर्थनमा बेलायत लगायत यूरोपका देशहरूमा पनि प्रदर्शन भैरहेको छ ।

जर्ज फ्लोयडलाई मार्ने सूरक्षा अधिकारी डेरेक जाउमिन विरूद्द तेश्रो डिग्रीको हत्या र दोश्रो डिग्री नरसंहारको मूद्दा दायर भएको छ । उनलाई जुन ८ मा अदालतमा उपस्थित गराईने बताईएको छ ।

सन् १७७६ मा बृटिश उपनिवेशबाट अमेरिका स्वतन्त्रताको घोषणा गर्दै थमस जफरसनले अमेरिकीहरूलार्इ (Life,Liberty and Pursuit of Happiness जीवन, स्वतन्त्रता र खुशी प्राप्ती) हुने प्रतिवद्दता व्यक्त गरेका थिए । त्यस यता करिब अढाई सय वर्ष बितिसकेको छ, तर गहिरो गरि गढेको जातिय भेदभावको खिल कहिले निकालिने हो अझै ठेगान छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार