बालाराम तिमिलसिना
मिति:- २०७२/०८/२३
म सानै छँदा
जति वेला सादा कागज जस्तै थिएँ म
लेखिएको थिएन त्यहॉ झुटा कुराहरू
त्यो बेला मैले काका भनेर बोलाएथें जव
गाउँका कानामुन्द्रे दमाईलाई
मेरी आमैले हकार्दै भन्नु भयो –
“दमाईलाई पनि कहिं काका भन्छन लाटा !
कानामुन्द्रे भन् न कानामुन्द्रे !”
मेरो वाल मस्तिष्कमा यसरी रोपियो
पहिलो वाहुन हुनुको बडप्पन
र हुर्कदै गयो
दिमागभित्र कानामुन्द्रेको टाक्सिएको विम्व
स्कुल पढ्न जॉदा
जव मैले एउटै खोचीमा पानी पिएथें
सहपाठी पोक्चे सार्कीसँग नजिकैको कुवामा
गाउँ भरि हल्ला चल्यो-
“लौ फलानाको छोराले
जुठे सार्कीको छोरासँग पानी पिएछ !”
डराउँदै घर फर्के पछि म
मेरो वुवाले नुहाइदिएर
गोमुत्रले चोख्याएर घर हुल्नु भयो मलाई
भन्नु भयो -“भोलिदेखि यस्तो गरिस भने …!”
भोलि पल्टबाट मैले सँगै पानी खान छोडें
मेरो मन पर्ने साथी भएर पनि
पोक्चे सार्की
मसँग पानी खान लाएक रहेनछ
यसरी “दिव्य” ज्ञान थप्यो समाजले
मेरो हुर्कदै गरेको दिमागमा
पोक्चे सार्की मेरो सहपाठीको विम्व
पानी पर्खेर गौंडामा वसिरह्यो सँधै
म नावालक वाहुनको छोरो बाजे वनें
उमेरले र गरिवीले कुप्रो परेका
कुप्रे कामीको
जन्मजात बाजे बनेको मैले यसरी सिक्दै गएँ
आफूलाई ठूलो र अरुलाई सानो बनाउँन
ऊ बेला जव गाउँमा विवाह वटुलो हुन्थो
भान्सामा झिकाइन्थे साइँला बाहुन
भात पकाउँदै लगौंटीका जुम्रा मार्दै गर्थे
आंग कन्याउँदै भात बॉड्दै गर्थे
तर त्यो सव पवित्र थियो मेरो वाहुन लोकमा
मेरो समाजका गुरु पुरोहित
बुढा पाका र पञ्च भलाद्मीले यही सिकाए मलाई
म त्यही शिक्षामा दिक्षित भएँ
टेकेर अभिमानका पैतालाले
कानामुन्द्रे पोक्चे र कुप्रेहरूलाई
म एक्लै अग्लिदै गएँ
उनीहरू टाक्सिदै गए/ कुप्रिदै गए
एक्काइसौं सताव्दिको कठघरामा उभिएर
संझदै आफ्नो विगत
कल्पना गर्दै कुप्रेहरूको कुप्रो इतिहास
हेर्दै पोक्चेहरूको टाक्सिएको समाज
म आज माफी माग्दै छु ती सवै सवैसँग
सिर निहुऱ्याएर
पश्चाताप सहित मेरा पितापुर्खाको
म प्रण गर्छु
अव म आफ्ना सन्तानहरुलाई सिकाउँने छैन
जे सिकाए मलाई मेरा पुर्खाले
वरु सिकाउँने छु
पोक्चे कानामुन्द्रे र कुप्रेका सन्तानहरू भेट्दा
पहिले आफैले नमस्कार गर्नु
र मेरो साटो पनि माफि माग्नु
भन्नु अव हामी बरावरी हौं
बरु मेरो रगतमा तिम्रो लगानी छ
मेरो वाक्चातुर्य तिम्रो कुप्रो भऱ्यांग चढेर अग्लिएको हो
तीअत्याचारी मूल्यहरूलाई मासेर
हामी खडा गरौं नयॉ समानताको मूल्य
कुनै प्रलयले पनि नफर्कोस त्यो पुरानो दिन
प्रिय पोक्चे सार्की !
आऊ एक खोची पानी प्रेमपूर्वक पिऊँ
आदरणीय कानामुन्द्रे काका
मलाई भतिज भन्नुस वाजे हैन
हामी काका भतिज भएर बॉचौं
आदरणीय कुप्रे हजुर वा
तिमी त कुप्री परेरै वित्यौ
तर अव उमेरमै कुप्रिनु पर्ने समयलाई
मेरै अगुवाईमा जलाउन चाहन्छु
आऊ तिमी हामी मिलेर
मित्रताको किसुमे रुमाल साटौं
जुन युग युग सॉक्षी बसोस हाम्रो मित्रताको