बाला राम तिमलसिना
म तिम्रो दयालाई घृणा गर्छु
मलाई दया चाहिएको छैन
दयाको औजार बोकेर
प्रतिष्ठाको व्यापार गर्ने
तिमीलाई म घृणा गर्छु !
म तिम्रो राहतलाई घृणा गर्छु
मेरो चिन्ता राहत थाप्ने होइन
मेरो अधिकार खोस्ने हो
राहतको पोको बोकेर
सेल्फी खिच्न व्यस्त
आत्म प्रसंसाको खेती गर्ने
म तिमीलाई घृणा गर्छु !
म तिम्रो सहानुभूतिलाई घृणा गर्छु
मेरो सरोकार सहानुभूतिमा हैन
तिमी सरहको सम्मानित जीवनमा हो
सहानुभूतिको मन्द विष पिलाएर
युगौं पराधिन राख्ने मलाई
म तिम्रो महानतालाई तुच्छ ठान्छु !
म तिम्रो करुणालाई घृणा गर्छु
म कुनै कारुणिक पात्र होइन
तिमीले मेरा आँखामा आसु देख्यो
तर मेरो हृदयको आगो देखेनौ
या देखेर पनि नदेखेझैं गर्यौ
या देख्यौ तर डरायौ
र अन्जुलीमा थापेर मेरा आसु
मेरा आसुको मसीले
दाताहरूलाई निवेदन लेख्यौ – दानको
र दाताहरूको दान बटुलेर
परिचय बनायौ समाजसेवीको
म तिम्रो समाजसेवी अनुहारलाई घृणा गर्छु !
मेरो दुखाई
मेरो आसु
मेरो चित्कार
मेरो अभाव
र मेरो भोकलाई कथा बनाएर
दान, पुण्य र सेवा
करुणा, सहानुभूति र समाज सेवा भन्दै
मेरो जिन्दगीलाई गिज्याउने
मेरो जिन्दगीलाई गिजोल्ने
मेरो जिन्दगीको लयलाई विथोल्ने
म तिम्रा सबै अनुहारहरूलाई घृणा गर्छु !
आऊ
मेरो नजिक आउछौ भने
मसँग दाउरा छ
आगो लिएर आऊ
मसँग सियो छ
धागो लिएर आऊ
अनन्त यात्रामा नथाक्ने
एक जोर खुट्टा लिएर आऊ
मेरो हदयको आगो देख्ने
एक जोर आँखा लिएर आऊ
मेरो चित्कारको आवाज सुन्ने
एक जोर कान लिएर आऊ
मेरो स्पन्दनको भाषा बुझ्ने
एक थान हृदय लिएर आऊ
मलाई दया देखाउन होइन
मसँग सहयात्रा गर्न आऊ
कृपया मेरो निवेदन छ
दाताको परिचय बोकेर तिमी
मेरो आँगनमा नआऊ !
तिमीलाई मैले भनें नि पटक पटक
म तिम्रो करुणा
तिम्रो दया
र सहानुभूतिका
सबै अनुहारलाई घृणा गर्छु
म वास्तवमै तिमीलाई घृणा गर्छु !
२०७७|०३|०७
भक्तपुर