पुँजीवादी व्यवस्थामा परिवारको स्वरुप

प्रकाश थापा मगर
1. परिवार के हो ?
मूलतः रक्तनातामाथि आधारित व्यक्तिहरूको समूहलाई परिवार भनिन्छ । यो समूह एक वा एकभन्दा बढी पिढी मिलेर बनेको हुन्छ, जसका केही सदस्य (न्यूनतम) अर्को परिवारबाट आएका हुन्छन् । सामाजिक प्रचलनअनुसार प्रत्येक परिवारमा अर्को परिवारबाट मानिसहरू सामेल हुन्छन् । वास्तविकता त यो हो कि अर्को परिवारको न्यूनतम एक जनाको सहभागिता बिना परिवार गठन हुन सक्दैन । त्यसकारण दुई परिवारका केही सदस्यहरू मिलेर बनेको समूह नै परिवार हो, जो मूलतः रक्तनातामाथि आधारित हुन्छ ।
राजनीतिक अर्थशास्त्राको दृष्टिकोणबाट विचार गर्ने हो भने परिवार भनेको त्यो समूह हो, जुन एक श्रमशक्ति (मजदुर) को वरिपरि केन्द्रीत हुन्छ वा श्रमशक्तिको मूल्य (वेतन) भित्र भरणपोषण हुँनेगरी सङ्गठित भएको हुन्छ । यो समूहको धूरी त्यो व्यक्ति हुन्छ, जुन आफैमा पूर्ण श्रमशक्ति हुन्छ । जब त्यो समूहका अन्य सदस्यहरू पनि पूर्ण श्रमशक्तिका रुपमा विकसित हुन्छन्, तब परिवारको पनि विघटन भएर बेग्ला-बेग्लै परिवार बन्दछन् ।
माक्र्सका अनुसार वेतन भनेको त्यो राशी हो, जुन एउटा श्रमशक्तिलाई जीवित रहन र त्यसको निरन्तरताका लागि आवश्यक हुन्छ । यसमा दुईप्रकारका खर्च सामेल छन्: एउटा- स्वयं मजदुर जीवित रहनका लागि आवश्यक पर्ने खर्च र अर्को- श्रमशक्ति (मजदुर) को निरन्तरताका लागि, अर्थात्, मजदुरका बच्चाहरू जीवित रहनका लागि, जसले गर्दा मजदुरको मृत्युपछि त्यसको ठाउँ लिनका लागि उसका सन्तान तयार रहुन् । वतनमा बच्चाहरूको पढाई-लेखाईका खर्च पनि सामेल हुन्छ, किनकि पुँजीवादको विकसित अवस्थामा श्रमशक्ति निरक्षर भएर काम चल्न सक्दैन । त्यसकारण कारखानाभित्र भित्रिँने हरेक व्यक्ति वा मजदुर सामान्य साक्षर हुँनैपर्दछ, यसकारणले कि उसले मशीन चलाउँन सकोस्- घडी हेर्न जानोस्; वेतनको रुपमा दिइँने मुद्रा पहिचान गर्न सकोस्, आदि ।
आर्थिक आधारको जगमा सामाजिक संरचना उभिँने भएकाले वर्तमान परिवारको आर्थिक जग उपर्युक्त देखिन्छ । अर्थतन्त्रमा निजी स्वमित्व, त्यसका कारणले एउटा मजदुरलाई धूरी मानेर उसको आयको वरिपरि सङ्गठित त्यस्तो जनसमूह, जो सामान्य एकनिष्ठ बिवाहका आधारमा उभिएको हुन्छ, लाई हामीले परिवार भन्न सक्छौँ । पुँजीपति वा मध्यम वर्गका परिवारको हकमा पनि धेरै-थोरै यही तथ्य लागु हुन्छ । यहाँ फरक यत्ति हुन्छ कि यसखाले परिवार पुँजीको वरिपरि केन्द्रित हुन्छ । जबसम्म पुँजीको स्वामित्वमा विभाजन हुँदैन, तबसम्म परिवार पनि एउटा हुन्छ, त्यसका बिपरित जब पुँजीको विभाजन हुन्छ अथवा भण्डारण गरिएका पुँजी (अरिरिक्त मुल्यको योग) र पुँजी उत्पादन गर्ने साधन (कारखाना, मजदुर, मशीन, इत्यादि) बाँडफाँड हुन्छ, त्यसका साथै परिवार पनि विभाजन हुन्छ । अब प्रत्येक परिवारको स्वामित्वमा निश्चित पुँजी उत्पादनका साधनहरू रहन्छन् । पुँजीपतिहरूको परिवारमा यही प्रक्रिया क्रमशः अगाडि बढ्दै जान्छ ।
2. परिवारको वर्तमान स्वरुप:
पुँजीवाद कायम रहेसम्म परिवारको स्वरुप मूलतः एकैप्रकारको हुन्छ । निश्चितरुपमा मूलतः नै, किनभने पुँजीवादभित्र केही यस्ता परिवर्तनहरू भएका छन्, अथवा त्यसको ”विकास“ भएको छ, जसले गर्दा परिवारको स्वरुपमा केही परिवर्तन ल्याइदिएको छ । त्यो परिवर्तन हो- महिलाहरूको श्रमशक्तिको रुपमा उपयोग । जब महिलाहरू सार्वजनिक क्रियाकलापमा भाग लिन थाले, त्यसका साथै स्वामित्वको क्षेत्रमा उनीहरूको सङ्घर्ष पनि अगाडि बढ्यो; एवंप्रकारले स्वतन्त्रताका सवाल पनि अगाडि आए, अब परिवारको स्वरुपमा पनि परिवर्तन आयो ।
‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा फ्रेडरिक एङ्गेल्सले लेखेका छन्- “एकनिष्ठ बिवाह महान् ऐतिहासिक प्रगति थियो तर एकनिष्ठ बिवाहले दाश प्रथा एवं निजी सम्पत्तिको अतिरिक्त अहिलेसम्म पनि कायमै रहेको त्यस युगको सुरुवात गर्दछ, जसमा हरप्रकारको प्रगति तुलनात्मक दृष्टिमा अवनति पनि ठहरिन्छ र जब एकथरीको समृद्धि र विकास अर्कोथरिको वेदना र उत्पीडनमा आधारित हुन्छ । एकनिष्ठ बिवाह सभ्य समाजको त्यो जीवकोष हो, जसमा हामी पूर्णतः त्यस समाजअन्तर्गत विकसित विरोधाभाष र द्वन्दहरूको अध्ययन गर्न सक्छौँ ।”
एङ्गेल्सको उपर्युक्त विश्लेषणबाट वर्तमान परिवारको परिभाषा बुझ्न सजिलो हुन्छ । उनले भने झैँ परिवारले, जुन एकनिष्ठ बिवाहको जगमाथि उभिएको छ, दास प्रथालाई पनि आफूमा समेटेको छ, त्यसका साथै यसले निजी सम्पत्तिमाथि (व्यक्तिगत स्वामित्वको जगमा आधारित सम्पत्ति) आधारित विशेषता पनि बोकेको छ, जहाँ “हरप्रकारको प्रगति तुलनात्मक दृष्टिमा अवनति पनि ठहरिन्छ ।” अगाडि यसखालको परिवारमा “एकथरीको समृद्धि र विकास अर्कोथरीको वेदना र उत्पीडनमा आधारित हुन्छ ।” भनाईको तात्पर्य यो हो कि वर्तमान परिवारमा, जहाँ पुरुषले उन्नति गरेको देख्न सकिन्छ, त्यहीँ महिलाको अवनति देखिन्छ । पुँजीवादले उपभोक्तावादी चिन्तनबाट महिलाको नयाँप्रकारले शोषण, उत्पीडन गरिरहेको देखिन्छ ।
परिवारको वर्तमान स्वरुपबारे चर्चा गर्न बेग्लै पुस्तकको आवश्यकता हुनेछ । फेरी पनि हामीले यहाँ त्यसबारे सङ्क्षिप्तमा चर्चा गर्ने कोशिस गरिनेछ । वर्तमान परिवारमा केही पक्ष सकारात्मक पनि छन् ।
एउटा सकारात्मक तथ्य यो हो कि तुलनात्मकरुपमा महिलाहरू सार्वजनिक उत्पादन कार्यमा भाग लिन थालेका छन् । त्यसका साथै यो पनि सत्य हो कि महिलाहरूको आम पङ्क्ति अझै पनि निजी उत्पादनमा छ । महिलाहरूको जुन समूह साार्वजनिक उत्पादनमा (र, बितरणमा पनि) मा भाग लिएको छ, त्यसमा दक्षता भएका महिलाहरू सामेल छन् । त्यो समूहमा ती महिलाहरू सामेल छन्, जो सम्पन्न वर्गका छन्, जसले आफ्नै परिवारभित्रको पुरुष उत्पीडनको विरुद्धमा स्वतन्त्रता चाहन्छन्, त्यसकारणले उनीहरू सार्वजनिक कार्यमा भाग लिन्छन् । सार्वजनिक कार्यमा भाग लिएबापत् उनीहरूको आर्थिक अवस्था मजबुत हुन्छ, जसले गर्दा उनीहरू घरका अरू सदस्यहरूको अधिनमा रहँनुपर्दैन । अर्को अवस्था मध्यम (र, सानो सङ्ख्यामा निम्न-मध्यमको पनि) वर्गका महिलाहरु छन्, जसले सार्वजनिक कार्यमा यसकारणले भाग लिएका थिए कि आफ्नो परिवारको आर्थिक स्थितिमा सुधार आओस् तर सार्वजनिक कार्यमा उनीहरूको अनुभव र त्यसका आधारमा सफलता प्राप्त गरेपछि स्थिति बदलिन्छ । व्यावहारिकरुपमा स्वतन्त्रताको जग निर्माण भएपछि उनीहरूको चिन्तनमा परिवर्तन आउँछ । यसरी उनीहरू स्वतन्त्र (वर्गको रुपमा स्वतन्त्र होइन, व्यक्तिगतरुपमा स्वतन्त्र) हुन पुग्छन् ।
अर्को सकारात्मक तथ्य यो हो कि आर्थिक जगमा उठेको यसप्रकारको स्वतन्त्रताको प्रभाव परिवारमा पनि परेको छ । महिलाहरूले अब परिवारमा पुरुष अधिपत्यको प्रतिकार गर्न थालेका छन् । यद्यपि त्यो प्रतिरोध पनि वर्गको रुपमा विकसित भैसकेको छैन र त्यसले राज्यसत्तालाई महिलाप्रतिको भेदभाव समाप्त पार्न बाध्य पार्नेस्तरमा विकास गरेको छैन । उनीहरू पर्दाबाट बाहिर निस्केर सार्वजनिक क्रियाकलापमा भाग लिन थालेका छन् । मुश्लिम महिलाहरूसम्मले पनि बुर्का ओढ्न अस्वीकार गरिदिएका छन् । बिवाह, मृत्यु वा विधवा आदिसित जोडिएका कर्मकाण्डमा मात्र होइन, सांस्कृतिक क्षेत्रमा समेत उनीहरूको पहुँच हुन थालेको छ । यस्ता जुन कर्मकाण्डमा उनीहरूको सहभागिता निषेध थियो, त्यसमा पनि उनीहरूले भाग लिन थालेका छन् । आधुनिक युगमा महिलाहरूको काममा अनुशासन, लगन र एकाग्रतालाई पहिचान गरेर उच्चप्रकारका उद्योगमा उनीहरूलाई प्राथमिकता दिन थालिएको छ । यसप्रकारको स्थितिले आधारभूत क्षेत्रमा उनीहरूको स्वतन्त्रताको आधार तयार भएको छ । आवश्यकता छ कि उनीहरू अब सम्पूर्ण वर्गको रुपमा स्वतन्त्रता प्राप्तिको लागि लडुन् ।
महिलाको स्थितिमा सुधारका साथै मूलतः पितृसत्तात्मक सत्ताका कारणले उनीहरूलाई नयाँप्रकारले दमन गर्ने कोशिस गरिँदैछ । जुन समाजमा अझै पनि सामन्तवाद छ, त्यहाँ चरमप्रकारको शोषण, उत्पीडन अझै पनि कायम छ । पुँजीवादी समाजमा महिलाहरूलाई अपेक्षाकृत स्वतन्त्रता भएपनि घरेलु मानसिकता अझै बदलिएको छैन । आर्थिक स्तर उन्नत नभएका परिवारमा उनीहरूले घर र अफिसको दुवै जिम्मेवारी बहन गर्नुपरेको छ । महिलाहरूका वंशगत कामहरू-बच्चा जन्माउँने, पालन-पोषणमा बढी भूमिका निर्वाह गर्ने-त छँदैछ, त्यसमाथि पनि घरमा खाना पकाउँने, सफाई गर्ने आदि कामहरू उनीहरूले नै गर्नुपर्दछ भन्ने मानसिकता अझै पनि छ ।
यता पुँजीवादले शोषणका नयाँ साधन प्रयोग गरेर उनीहरूको शोषण गर्न थालेको छ । उपभोक्तावादी संस्कृतिलाई महिला स्वतन्त्रताको रुप दिएर यस्तो काम गर्न थालिएको छ । बनारसमा मुजराघरमा “पात्तर” हरूलाई धनको प्रदर्शन गरी नचाएर “आनन्द” लिने युग त अवश्य बितिसकेको छ । त्यसको ठाउँमा अब अश्लील गीत-सङ्गीत, सुन्दरी प्रतियोगिता, मोडलिङ, कैटवाकजस्ता क्रियाकलापले लिन थालेका छन् । अब नारी “सौन्दर्य” का लागि मुजराघरमा जानुपर्दैन, फिल्म, टिभीमा घरै बसेर देख्न सकिन्छ । यसरी परिवारमा महिलाहरूको स्वतन्त्रताका साथै उनीहरूलाई दासताको अर्को सिक्री (“स्वेच्छिक” प्रकारले) ले बाँधिँदैछ ।
3. स्त्रीवादी आन्दोलन:
पितृसत्तात्मक सत्ता र त्यसअन्तर्गत पुरुषहरूको मानसिकताको विरोधस्वरुप स्त्रीवादी आन्दोलनको उदय भएको छ । यो आन्दोलन सडकमा त छैन । फेरी पनि बौद्धिक वहसको क्षेत्रमा सहजै महसुस गर्न सकिन्छ । उनीहरूले दावी गर्दछन् कि पुरुषभन्दा उनीहरूको क्षमता कम छैन, त्यसकारण महिलामाथि पुरुषको दावीका लागि कुनै आधार छैन । उनीहरू पुरुष अधिपत्यको विरोध गर्दछन् । यहाँसम्म त ठीक छ तर जब उनीहरूले पुरुषप्रतिको विरोधलाई समग्र पुरुषको विरोधको रुपमा अगाडि बढाउँछन्, तब यो आन्दोलनले लिङ्गीय रुपधारण गर्दछ । यहाँनेर यो आन्दोलनले स्त्रीवादी स्वरुपमा आफूलाई अभिव्यक्त गर्द थाल्दछ । अब उनीहरू पुरुष अधिपत्यको विरोधको नाममा निरपेक्ष रवैया अपनाउँन थाल्दछन् । यतिमात्र होइन, उनीहरूले महिला दासताको नयाँ अस्त्र-उपयोगितावाद, उपभोक्तावादी संस्कृति-लाई पनि स्वतन्त्रताको अस्त्रको रुपमा समर्थन गर्दछन् । यहाँनेर स्थिति जटिल बन्न जान्छ, जसले गर्दा परिवारको प्राकृतिक संरचनामाथि नै प्रहार हुन जान्छ । यस आन्दोलनका पक्षधरहरूले सिङ्गो पुरुषलाई घृणा गर्दछन् र महिलाहरूको एकतर्फी तारिफ गर्दछन् । यस चिन्तनको विकृत रुप समलिङ्गी सोचमा पनि प्रतिबिम्वित भएको पाइन्छ, जहाँ महिला-महिलाले सँगै रहँने कबुल गर्दछन् ।
4. उत्तरआधुनिकतावादी संस्कृति:
पुँजीवादी युगमा त्यसप्रतिको विरोधको स्थिति तर त्यसको विकल्पमा समाजवादी व्यवस्थाको अस्तित्व नहुँनुको परिणामस्वरुप पुँजीवादभित्र कै एउटा यस्तो मत अगाडि आएको छ, जसले पुँजीवादलाई “पूर्व” वा “दक्षिण” घोषणा गर्दै आफूलाई “उत्तर” मतको अनुयायी घोषित गर्दछ । यसले पुँजीवादी युग आधुनिक युग मान्न अस्वीकार गर्दै अब नयाँ उत्तरआधुनिक युगको सूत्रपात भएको दावी गर्दछ, जसलाई हामीले उत्तरआधुनिक मत भनेर चिन्दछौँ । यो मतले नीति, सिद्वान्त, मूल्य-मान्यता, आदर्शका कुनै पनि प्रवर्गको अस्तित्व नभएको बताउँछ । उसले भविष्य, आदर्श केही छैन; अहिले आँखा वरिपरि जे देखिन्छ, त्यहीँ सत्य हो, त्यहाँभदा पर कुनै आदर्श छैन भन्ने घोषणा गर्दछ । वास्तवमा यो मत अस्तव्यस्त, योजनाविहीन पुँजीवादी व्यवस्थाको प्रतिबिम्व नै हो ।
समाजवादी आन्दोलन कमजोर हुनुका साथै मानिसका बीचमा नै हुँने शोषणको अन्त्यको पक्ष अहिले पृष्ठभूमिमा परेको छ । यसले गर्दा आर्थिक क्षेत्रमा भेदभाव, शोषणलाई समाप्त नगरिकन शोषणका अन्य रुपहरू समाप्त गर्न सकिँदैन भन्ने पक्ष कमजोर भएको छ । विश्वभरी पुरुष कै अधिपत्य, उनीहरू कै सत्ता, त्यसले विकल्पमा अर्को आन्दोलनको अभाव, महिलाहरू पनि उपयोगितावादी, उपभोक्तावादी संस्कृतिमा रमाएको अवस्थामा एकथरी मानिसलाई भविष्य नदेख्नु स्वाभाविकै छ । यसले गर्दा पुरुष-महिला दुबैमा परिवार र त्यसका नैतिकता, आदर्शप्रति विश्वास कम भएर गएको छ । अब ठूलालाई आदर गर्ने, विचार वा सिद्धान्तको शक्तिमाथि विश्वास नगर्ने परिपाटी देखा परेको छ । यसप्रकारको मतले पनि परिवारको ढाँचामाथि प्रहार गरिरहेको छ । परिवार, जुन मानव समाजको आधारभूत र सानो इकाई हो, त्यसको गठन र अस्तित्व नै अनावश्यक ठान्न थालिएको छ । अब व्यक्ति, व्यक्तिगत स्वार्थ र त्यसैअनुसारको मुल्य-मान्यता वा नैतिक आदर्श स्थापना गर्ने प्रवृति देखा परेको छ ।
5. बिवाहको प्रश्न:
माथि चर्चा गरिएको स्त्रीवादी आन्दोलन र उत्तरआधुनिकतावादी कारणले पनि बिवाह प्रभावित भएको छ । परिवार गठनका लागि अनिवार्य मानिएको बिवाहलाई अब “सम्झौता” को रुपमा लिन थालिएको छ । त्यसका पछाडि बेग्ला-बेग्लै कारणहरू छन् ।
पहिलो कारण हो- उत्तरआधुनिकतावादी र उपभोक्तावादी संस्कृतिको प्रभाव । उत्तरआधुनिकतावादी संस्कृतिले सबैप्रकारको आदर्शप्रति अविश्वास गर्दछ । यसले परिवार गठन र परिचालनका लागि आवश्यक पर्ने नैतिक मुल्य र मान्यतालाई नै अस्वीकार गर्दछ । यो संस्कृतिले बिवाहलाई उपयोग गर्ने कुरामा विश्वास गर्दछ तर बिवाहपछि बच्चाको पालन-पोषण, पति-पत्निबीचको सम्बन्ध, नैतिक मुल्य-मान्यतालाई “दासता” वा “स्वतन्त्रताविरोधी” क्रियाकलाप ठान्दछ । यसको परिणाम हुन्छ कि यस मतका अनुयायीहरू यौन सम्बन्धका लागि बिवाहलाई केही समयका लागि उपयोग त गर्दछन् तर बिवाहपछि सामाजिकप्रकारले परिवारलाई कायम राख्ने, नैतिक मुल्य-मान्यतामा आधारित भएर नयाँ पिढीको पालन-पोषण, शिक्षा-दीक्षा, जसले अघिल्लो पिढीका लागि आदर्श स्थापित गरियोस् र सिङ्गो समाज अनुशासित होस्, दिने विषयमा उदारता देखाउँछन् ।
उपभोक्तावादी संस्कृतिले पनि यस्तैप्रकारको मत राख्दछ । यसले पुरुष र महिला दुबैलाई वस्तु ठान्दछ, जसको उपयोगिता हुन्छ । यसले जीवनका लागि वस्तुहरूको आवश्यकता होइन, वस्तुको स्वभावअनुसार जीवनलाई उपयोग गर्ने मत राख्दछ । यस मतले बिवाहलाई वस्तु विनिमयजस्तो ठान्दछ । जस्तो कि बिवाहपछि एकनिष्ठ परिवार, वर्तमान विश्वको आधारभूत इकाई हो, उपभोक्तावादले यसको आधारमाथि नै हमला गर्दछ । यसले बिवाहपछि पनि यौन “उपभोग” गर्न पाउँने “स्वतन्त्रता” को माग राख्दछ, जसको अनिवार्य परिणाम हुन जान्छ- पति र पत्निको परस्त्रीगमन र परपुरुषगमन । अझै पनि आर्थिकरुपमा महिलाहरू परनिर्भर भएकाले यो संस्कृतिअन्तर्गत परस्त्रीगमन नै बढी पाइन्छ । यतिमात्र होइन, बिवाहपछि पनि उपभोक्तावादी संस्कृति देखा पर्दछ । पति र पत्निका बेग्ला-बेग्लै क्यारियर हुन्छन् । क्यारियरसित सम्बन्धित स्वार्थ केन्द्रमा हुन्छ । त्यसअनुसार दुबैले परिवारलाई “उपयोग” गर्दछन् । पुरुषले आफ्नो क्यारियरका लागि पत्निलाई “उपयोग” गर्दछ । थोरैमात्रामा महिलाले पुरुषलाई “उपयोग” गर्दछिन् । यस्तो अवस्थामा सन्तानहरू घरेलु कामदारको जिम्मा छोडिन्छ या त स्कूलमा वर्षदिन या यस्तै समयावधिका लागि राख्ने सम्झौता (आवास, खाना, कपडासहितको अध्ययन गराइँने सम्झौता) गरिन्छ । घर उनीहरूका लागि रात बिताउँने होटेलका कोठाभन्दा बढी केही हुँदैन । पारिवारिक संस्कार भन्ने केही हुँदैन । एकले अर्कालाई “सम्मान” गर्ने, एकले अर्काको “स्वतन्त्रता” को “सम्मान” गर्ने …… यस्तै-यस्तै अघोषित आचारसंहिताका आधारमा “नैतिकता” बनाइन्छ । पति र पत्नि दुबैका अलग-अलग सामाजिक सम्बन्ध हुन्छ । पतिका आफन्त आएमा पत्नितिर इशारा गर्दै भनिन्छ-“She is My life partner. She has separate life. (“उनी मेरी जीवन-साथी हुन्, उनको बेग्लै दुनियाँ छ”) । साथीले जवाफ दिन्छ- & ßO’ Really ? Good.Þ (ए, साच्चै, राम्रो ?) पत्निका साथी आउँदा पनि पतिको बारेमा यस्तै अभिव्यक्ति दिइन्छ ।
स्त्रीवादी आन्दोलनका विचारकहरूले पनि परिवारप्रति नकारात्मक धारणा बनाउँछन् । उनीहरूले पुरुषलाई एउटा लिङ्गको रुपमा नै बहिष्कार गर्दछन् । यद्यपि उनीहरूले बिवाहलाई वैचारिकरुपमा स्वीकार गर्दैनन् भन्ने होइन । उनीहरू पुरुषप्रति निरपेक्ष विरोधको रवैया अपनाउँछन् । यो सत्य हो कि स्त्रीवादीहरूले पुरुषको मानसिकताको बारेमा गरेका विश्लेषणमा सत्यता छ । त्यसका बावजुद पुरै पुरुष लिङ्गप्रति नै बहिष्कारको नीति अपनाउँनु असामाजिक विचार हो । उनीहरू यो बुझ्दैनन् कि महिलाप्रति पुरुषको धारणाका पछाडि सामुहिक श्रम र निजी स्वामित्व र त्यसमाथि टिकेको उपरी संरचनाले काम गरेको छ । यो विचारभन्दा अलग एकतर्फी पुरुषको विरोधले एकथरी महिलाहरूलाई असर पार्दछ तथा बिवाहप्रति नै नकारात्मक धारणा उत्पन्न गर्दछ । यसले परिवारको संरचनामाथि प्रभाव पार्दछ ।
6. प्रेमको स्वतन्त्रताको सवाल:
बिवाहका लागि प्रेम आवश्यक हुन्छ तर पुँजीवादी समाजमा प्रेमप्रतिको धारणा उपभोक्तावादी भएकाले वास्तविक प्रेम नै सम्भव हुँदैन । यस सम्बन्धमा दुईवटा विषय उल्लेखनीय छ । एउटा तथ्य त यो हो कि सम्पत्तिमाथि निजी स्वामित्व भएकाले महिलाका लागि वास्तविक पे्रम व्यक्त गर्न सम्भव नै हुँदैन । पुरुषले जसरी प्रेम प्रस्तुत गर्न सक्छ, महिलाले त्यसो गर्नुभन्दा अगाडि आफ्नो आर्थिक स्थितिको बारेमा सोच्नुपर्दछ । यदि महिलासित स्वामित्व भएपनि त्यसप्रतिको सहिष्णु धारणाको अभावले गर्दा न त यो स्थितिलाई पुरुषले सहजै स्वीकार गर्न सकेको देखिन्छ, न महिलाले यसलाई सन्तुलितप्रकारले लिएको पाइन्छ । सम्पत्तिमाथिको सीमित स्वामित्वका बावजुद महिलाप्रतिको विभेदपूर्ण दृष्टिकोणको परिणामस्वरुप स्त्रीवादी चिन्तन पनि देखा पर्दछ । त्यसका साथै पुँजीवादी व्यवस्थाले नाफाको संसारलाई विस्तार गर्नका लागि सम्पे्रषण गरेको उपभोक्तावादी संस्कृतिले यहाँ भूमिका खेल्दछ । मात्रात्मकरुपमा बढी पुरुष र मात्रात्मकरुपमा कम महिलाहरू यसको प्रभावमा परेको पाइन्छ ।
पुँजीवादी व्यवस्थामा परिवारको गठन वा प्रेमको सन्दर्भ उठाउँदा “स्वतन्त्रता” बारेमा चर्चा गर्नुपर्ने आवश्यकता छ । ‘स्वतन्त्रता’ कहिल्यै पनि ‘आवश्यकता’ भन्दा बाहिर जान सकेको छैन । आवश्यकता निरपेक्ष र स्वतन्त्रता सापेक्ष प्रवर्ग हो । आवश्यकतालाई नियमन गर्नका लागि स्वतन्त्रतामा पनि परिवर्तन हुने गर्दछ । उपर्युक्त दृष्टिकोणबाट पुँजीवादी समाजमा स्वतन्त्रतालाई यसरुपमा हेरिँदैन । जसलाई हामी स्वतन्त्रता ठान्दछौँ, अझै ठोस अर्थमा भन्ने हो भने सम्पत्तिवान व्यक्तिहरूका लागि नैतिक-अनैतिक, न्याय-अन्यायलाई एकातिर राखेर स्वच्छन्दता, अराजकतापूर्ण क्रियाकलाप सञ्चालन गर्ने स्वतन्त्रता नै हो । उनीहरूको स्वतन्त्रता उपर्युक्त सीमाभन्दा बाहिर जाँदैन । वर्तमान समाजमा पुँजीपति वर्ग, जसमा मध्यम वर्ग पनि सामेल छ (जसले आफूलाई भविष्यको पुँजीपति ठान्दै त्यसअनुसारको स्वभावका लागि तालिम गरिरहन्छ) ले यस्तैप्रकारको “स्वतन्त्रता” उपभोग गर्दछ । त्यही लीकमा महिलाहरू पनि हिड्छन् ।
यसप्रकारको अवस्थामा स्वतन्त्रताको सवालमा पे्रम स्वतः निषेध भैसकेको हुन्छ । त्यसको ठाउँ लिन्छ- सम्पत्तिमाथि आधारित स्वच्छन्दता र अराजकताले । यहाँ न वास्तविक प्रेमको अस्तित्व खोज्न सकिन्छ, न स्वतन्त्रता नै । यहाँ सर्वत्र उभिएको छ- सम्पत्तिको दम्भ र उपभोक्तावादी संस्कृति ।
7. निष्कर्ष:
पुँजीवादी व्यवस्थामा बिवाह, पे्रम र स्वतन्त्रताप्रतिको उपभोक्तावादी दृष्टिकोणको परिणामस्वरुप परिवार विघटनको स्थितिमा आइपुगेको छ । जुन समाजमा पुँजीवादी प्रभाव विस्तार भैसकेको छैन, त्यहाँ सामन्ती नैतिकतामाथि आधारित संस्कार, संस्कृति छ । त्यसबाहेक वास्तविक प्रेम र स्वच्छताका साथ बिवाह र परिवार गठन भएको स्थिति नगण्य छ । त्यसको प्रभाव समाजमा उल्लेखनीयरुपमा परिसकेको छ । यस सम्बन्धमा तथ्य यी छन्: एउटा, प्राथमिकरुपमा सम्पत्तिमाथि पुरुष-महिला दुबैको स्वामित्व र अर्को, निजी हितको लागि अर्को मानिसको शोषण गर्ने प्रवृतिको अन्त । यी दुई नियम समाजमा क्रमशः लागु भएपछि नै पे्रम र स्वतन्त्रतालाई कायम राख्दै आदर्श बिवाह र परिवार गठन हुन सक्दछ ।
जहाँसम्म आदर्श परिवारको गठनको सवाल हो, यसखालको परिवार सामन्ती, पुँजीवादी र यस्तैप्रकारका विभेदपूर्ण दृष्टिकोणको स्थानमा आधारभूतरुपमा नै समानतालाई प्रत्याभूत गरिसकेपछि अस्तित्वमा आउन सक्छ । सम्पत्तिमा खालि पुरुषको स्वामित्व, त्यसको वरिपरि घुम्ने “प्रेम” र “स्वतन्त्रता”, उपभोक्तावादी संस्कृति, उत्तरआधुनिकतावादी दृष्टिकोण, स्त्रीवादी आन्दोलन-यी सबैले आदर्श परिवारको अवधारणाका अगाडि अवरोध सृजना गर्दछन् ।
अन्तिममा आदर्श परिवारको सम्बन्धमा एङ्गेल्सका निम्न उद्धरण प्रस्तुत गर्नु स्वाभाविक हुनेछ:
“जब एउटा नयाँ पिढी अस्तित्वमा आउँनेछ, यस्ता पुरुषहरूको पिढी, जसलाई जीवनभरी कहिल्यै पनि कुनै नारी शरीरलाई पैसा दिएर वा सामाजिक शक्तिका अन्य साधनद्वारा किन्नेे मौका मिल्नै छैन र, यस्ता नारीहरूका पिढी, जसलाई कहिल्यै सच्चा प्रेमबाहेक र कुनै कारणले कुनै पुरुषका सामु आत्मसमर्पणका लागि बिवश हुनुपर्ने छैन, र न उनलाई आर्थिक परिणामको भयले आफूलाई प्रेमीका अगाडि आत्मसमर्पण गर्नबाट रोक्नुपर्नेछ । जब यस्ता स्त्री-पुरुष यस संसारमा जन्म लिँनेछन्, तब उनीहरू यस कुराको अलिकति पनि चिन्ता गर्ने छैनन् कि आज हाम्रो विचारमा उनीहरूले के गर्नुपर्दछ । उनीहरू स्वयं निर्धारित गर्नेछन् कि उनीहरूले के गर्नुपर्दछ र त्यसअनुसार उनीहरू स्वयं नै प्रत्येक व्यक्तिका आचरणका बारेमा जनमत निर्माण गर्नेछन् । त्यसपछि मामिला समाप्त हुनेछ” ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ बाट) ।
आउनुहोस्, हामी यस्तै प्रेममाथि आधारित बिवाह र परिवार गठनका लागि पहलकदमी अगाडि बढाऔँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार