काठमाडौँ । नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।
९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप र आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरूको भनाइ छ । समयानुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायिक क्षमता अभिवृद्धितर्फसमेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक सङ्केत देखिन थालेको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव तेजबहादुर शाहीले बताउनुभयो ।
पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा सङ्कुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नवीकरणमा विभेद गरेको उहाँले बताउनुभयो ।
२०७६ माघमा नै फोरजी सेवाको काम सक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको २ लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठुलो रकम खर्च गरी भित्राएको इन्टरनेसनल ब्यान्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै टे«ड युनियनमा आबद्ध कर्मचारीहरू संयुक्त सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् । नवीकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सबलीकरणका लागि कम्पनी पुनर्सरचना गर्नुपर्ने र वृत्तिविकासको अवसर रहने गरी लागु गर्नुपर्ने माग उनीहरूको छ ।
















