काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी घटना जातीय भेदभाव तथा छूवाछूतका कारण घटेको ठहर घटनाको छानबिनका लागि गठित संसदीय समितिले गरेको छ ।
सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, अन्य सांसदहरू एकबाल मियाँ, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली (स्नेही), बिमला विक, महेश्वरजङ्ग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा र रामसहाय प्रसाद यादवसहितको समितिले यस्तो निर्णय गरेको हो ।
२०७७ जेष्ठ १० गते भएको उक्त घटनामा जातीय भेदभाव तथा छुवाछूतलाई लुकाउने गरी स्थानीय प्रहरी प्रशासन, चौरजहारीका जनप्रतिनिधिसमेतको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ । घटनामा तदारुकता भएको भए कतिपयलाई जीवितै उद्दार गर्न सकिने, पीडित र प्रत्यक्षदर्शीको बयान सुरुमै लिइएको भए अनुसन्धान निस्पक्ष हुने, पोस्टमार्टम रिपोर्ट शङ्कास्पद भएको जस्ता निष्कर्ष समितिको छ ।
प्रतिवेदनमा जाति, भाषा, धर्म, संस्कृति र भूगोलको आधारमा घटनालाई अतिरञ्जित नबनाई सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न आग्रह गरिएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी विद्यमान कानुन प्रभावकारी नभएको बताउँदै प्रतिवेदनमा पीडितलाई न्याय, मृतकका परिवारलाई क्षतिपूर्ति तथा शिक्षा, स्वास्थ्य, रोजगारी र यथोचित भरणपोषणको व्यवस्था राज्यको तर्फबाट हुनुपर्ने सुझावसमेत दिइएको छ ।
नवराज विकसहित ६ जनाको ज्यान गएको उक्त घटनाको छानबिनका लागि गठित संसदीय समितिद्वारा स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनको निष्कर्ष खण्ड यस्तो छ ।
[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/07/Chaurjahari.pdf”]
















