कम्युनिस्ट कार्यकर्ताको मूल्याङ्कन

  • दुर्गानाथ खरेल

मूल्याङ्कन उद्देश्यको मातहतमा मात्र हुने भएकाले सर्वप्रथम उद्देश्य निश्चित भएको छ वा छैन भन्ने पहिलो आधारमा मात्र मूल्याङ्कन सुरु हुन सक्छ । कुनै पनि काम सुरु गर्नुभन्दा पहिले त्यो काम गर्नुको उद्देश्य निश्चित गर्नुपर्छ । उद्देश्य निश्चित भइसकेपछि त्यो काम पूरा गर्न आवश्यक पर्ने सामग्रीको विषयमा ध्यान दिनुपर्छ । आवश्यक सामग्री निश्चित भएपछि तेस्रो पक्ष काम गर्ने तरिका हो । कसरी काम गरेपछि छिटो, सजिलो र सरल तरिकाबाट उद्देश्य पूरा गर्न सकिन्छ भन्ने पनि निश्चित गर्नुपर्छ । उपर्युक्त तीन वटा पक्ष निश्चित गरेर मात्र काम सुरु गर्ने हो भने चौथो पक्ष उपलब्धिको मापन अथवा मूल्याङ्कन गर्न सकिन्छ । मूल्याङ्कन गर्ने भनेको उद्देश्य पूरा गर्ने काममा भएको कमजोरी मापन गरेर सुधार गर्नका लागि निश्चित विन्दुमा पुग्ने हो । कमजोरी सुधार मात्रात्मक परिवर्तन हो । मात्रात्मक परिवर्तन गर्दै आमूल परिवर्तन वा गुणात्मक फड्को मार्नेसमेत अवस्था सृजना हुन्छ ।

उद्देश्य पूरा गर्नमा आइलाग्ने अवरोध हटाउने क्रममा नयाँ अवस्था सृजना हुन्छ । उद्देश्य पूरा गर्नमा आइलाग्ने अवरोध हटाउने क्रममा नयाँ अवस्था सृजना भई सजिलो र सरलका साथै छिटो हुन सक्ने अवस्था पनि त्यही क्रममा उपस्थित हुन्छ । नयाँ अवस्था आउने भनेको गुणात्मक फड्को मार्ने अवस्था हो । मात्रात्मक परिवर्तन नभई गुणात्मक फड्को हुन सक्दैन र गुणात्मक फड्को नभई नयाँको उत्पादन हुन्न । यी दुवै तरिका एकर्काका परिपूरक हुन् । उद्देश्य पूरा गर्न धेरै समय लाग्ने भए त्यो दिशामा काम गर्दै जाँदा मात्रात्मक परिवर्तन र गुणात्मक फड्को फेरि नयाँ अवस्थामा मात्रात्मक परिवर्तन र गुणात्मक फड्को गर्दै धेरै पटकको गति बेहोर्नुपर्ने पनि हुन सक्छ । हाम्रो जीवनकै अवस्थाको गर्भावस्थामा मुटु बन्नु गुणात्मक फड्को हो । फेरि मृगौलाले काम गर्न सुरु गर्नु अर्को गुणात्मक फड्को हो । त्यस्तै, जमिनमा जन्मनु, बाल्यावस्था, किशोरावस्था, युवावस्था, परिपक्व र वृद्धावस्था सबै मात्रात्मक र गुणात्मक अवस्था पार गर्दै अघि बढ्ने भए पनि जीवनको सुरुवात र मृत्यु सम्पूर्ण जीवनको गुणात्मक फड्कोको अवस्था हो ।

पुँजीवादी व्यवस्थाकै कुरा गर्ने हो भने पनि व्यापारिक पुँजीवाद, प्रतिष्पर्धात्मक पुँजीवाद, पुँजीवाद सबै मात्रात्मक परिवर्तन र गुणात्मक फड्को गर्दै अघि बढेका हुन् । तिनीहरूको अवस्थाका पनि धेरै उपचरण मात्रात्मक र गुणात्मक गर्दै पार भएका हुन सक्छन् । त्यस्तो भए पनि पुरै पुँजीवादी व्यवस्थाको पनि मात्रात्मक परिवर्तन र गुणात्मक फड्को गर्दै मूल्याङ्कन गर्न सकिन्छ । त्यसो भएको हुनाले कति समयावधि, कति अवस्था, कुन र कति स्तर आदि उद्देश्य निश्चित गर्ने समयमा विचार पु¥याउनुपर्ने हुन्छ । सम्पूर्ण विकासको अवस्थालाई एकातिर र त्यसको उपचरणसमेतको अवस्थालाई निश्चित गरेर उद्देश्य बनाउने र त्यसैलाई आधार मानेर मूल्याङ्कन अथवा उपलब्धि मापनको आधार बन्न सक्दैन, अनि बिना मियोको गोरुजस्तै लथालिङ्ग हुन्छ ।

मापनको आधार नभएर उपलब्धिको गिन्ती गर्न सकिन्न । मूल्याङ्कनको अर्थ, औचित्य र महत्त्व हुन सक्दैन । कम्युनिस्ट कार्यकर्ताको मूल्याङ्कन कम्युनिस्ट क्रियाकलापको आधारमा गरिने मापन हो । त्यहाँ विश्वदृष्टिकोणको मूल्याङ्कन गर्दै समग्रमा आमूल परिवर्तनको स्तरको मूल्याङ्कन गर्नुपर्छ । कार्यकर्ताको कारणले आमूल परिवर्तनमा देखिएको परिणामको मूल्याङ्कन गर्ने हो । नियत वा उद्देश्यले मात्रै होइन, त्यसको परिणामले देखाएको नतिजाबाट मूल्याङ्कन गर्ने हो । कम्युनिस्ट पार्टी शोषित–उत्पीडित श्रमजीवी जनताको प्रतिनिधि संस्था हो । त्यो सर्वहारा वर्गको अधिनायकत्वमा मजदुर–किसान र बुद्धिजीवी तीन थरिका श्रमजीवी संलग्न भएको सङ्गठित संस्था हो । त्यहाँ सर्वहारा विश्वदृष्टिकोणको विकास गर्ने पहिलो शर्त हो । अध्ययन, वर्गसङ्घर्ष, वर्गीय दृष्टिकोण, सिद्धान्त, राजनीति र सङ्गठनसम्बन्धी जानकारीको महत्त्व हुन्छ । व्यक्तिगत आवश्यकता पूरा गर्ने तरिका र सामूहिक स्वार्थको पक्षमा योगदानका लागि प्रयत्नको आधारमा मूल्याङ्कनलाई व्यावहारिक रूप दिनुपर्ने हुन्छ ।

कम्युनिस्ट कार्यकर्ताको मूल्याङ्कनको आधा तयार पार्न माक्र्सका दुई वटा भनाइका विषयमा आफू स्पष्ट हुनुपर्छ ः एउटा, “वर्तमान राज्यसत्ता पुँजीपति वर्गको कारोबार चलाउने समितिबाहेक केही होइन” भन्ने र दोस्रो, “इतिहासको निर्माता जनता हुन्” भन्ने । यी विषयमा आफू स्पष्ट भएपछि राज्यसत्ताको विपक्षमा र जनताको पक्षमा काम गर्ने साधारण प्रेरणा प्राप्त हुन्छ । तर समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारका हुन् । ती समस्या एक्लैको प्रयत्नले पूरा हुने खालका छैनन् । मूल्याङ्कनको प्रश्न त्यहीँबाट सुरु हुन्छ कि कुनै व्यक्तिले ती समस्या समाधान कसरी गरिरहेको छ ? ती समस्या समाधान गर्दा श्रमजीवी वर्गसँग मिलेर अथवा शोषकवर्गसँग मिलेर भन्ने कुरा अगाडि आउँछ । समाजमा भएका परस्पर विरोधी वर्ग, विरोधी विश्वदृष्टिकोण, विरोधी उद्देश्य, विरोधी सङ्गठन, विरोधी राजनीति र विरोधी दर्शनमध्ये आफू पक्ष वा विपक्षमा कोसँग सहकार्य गर्छ र कसका विरुद्ध सङ्घर्ष गर्छ ? त्यही कुराले उसको मूल्याङ्कनको आधार तयार पार्छ ।

मान्छेको विचार, चिन्तन, सोचाइ मानव समाजको इतिहाससँग सम्बन्धित छ । मानव इतिहास आदिम साम्यवाद, दासव्यवस्था, सामन्ती व्यवस्था गर्दै पुँजीवादी व्यवस्थासम्म आइपुगेको छ । यही व्यवस्थाभित्र समाजवादी व्यवस्थाले प्रतिष्पर्धा गर्न लागेको पनि १७३ वर्ष भइसकेको भए पनि अहिलेसम्म पुँजीवादी व्यवस्था नै विजयी भएर अस्तित्व बचाएको छ । यसमा आमूल परिवर्तन गरेर मात्र समाजवादी व्यवस्थाको आगमन हुने हो । पुराना व्यवस्थाका अवशेषसमेत कुनै न कुनै रूपमा समाजमा बाँकी छन् । प्रचलित व्यवस्था चलिरहेको व्यवस्था नै भयो । उसले आफ्नो आयु लम्ब्याउन हर प्रयत्न गरिरहेको छ र गर्ने पनि भयो । किनभने आफ्नो अस्तित्व शासकको रूपबाट शासितको रूपमा जान नदिन सकेसम्मको प्रयत्न गर्ने नै भयो । त्यही कारण माओले ज्वारभाटाका विरुद्ध सङ्घर्ष गर्नेहरूलाई कम्युनिस्ट कार्यकर्ता भनेर सम्बोधन गरेका छन् । सङ्घर्ष गर्ने योग्यता, क्षमतालाई नै मूल्याङ्कनको आधार बनाउनुपर्ने हुन्छ ।

मानव समाजमा हजारौँहजारको र अत्यधिक बहुमतको सङ्ख्यामा शोषित, उत्पीडित श्रमजीवी वर्गका मान्छे भए पनि मुट्ठीभरको सङ्ख्यामा भएका शोषकवर्गको प्रतिनिधि सामन्त र पुँजीपति वर्गका व्यक्तिले शासन चलाइरहेका छन् । त्यसो हुनाको कारण बहुमत श्रमजीवी जनतालाई आफ्नो साँचोमा ढाल्न शोषकहरू सफल भएका छन् । त्यसो हुनाको मुख्य कारण राज्यसत्ता हो । राज्यसत्ता ठुलो सङ्गठित संस्था हो । राज्यसत्तामा सर्वसाधारण श्रमजीवी जनताको मान्छे सहभागी भएको अथवा श्रमजीवी जनताको धेरै सदस्य सहभागी भएको भए पनि शोषकको अधिनायकत्वअन्तर्गत सञ्चालन हुने भएको हुनाले जनतामाथि उत्पीडन थप्न सफल भएको छ । त्यसकारण राज्यसत्ताबारे स्पष्ट दृष्टिकोणसहित आमूल परिवर्तनको पक्षमा आफ्नो योगदान थपिने गरी काम गर्नु कम्युनिस्ट कार्यकर्ताको काम हो । त्यसैको आधारमा उनीहरूको मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।

धर्म र परम्पराबाट मुक्त नभई शोषणबाट मुक्त हुन सकिन्न । धर्म र परम्परा शोषकवर्गका सशक्त हतियार हुन् । तिनीहरूले शोषणलाई बैद्य ठह¥याउने र गरिबले शोषण सहने क्षमता विकास गर्ने बनाउँछन् । त्यसले गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउने काम गर्दछ । आफूले शोषण गर्ने तर गरिब हुनाको कारण अलौकिक शक्तिमा लगाउने हुनाले धर्म शोषकको ठुलो हतियार हो । तर पनि समाजमा धर्मको नशा लागेर समाजका मान्छे लट्ठ परेका हुन्छन् ।

कम्युनिस्ट पार्टी धर्म विरोधी संस्था हो । धर्म मान्ने मान्छे कम्युनिस्ट पार्टीको सदस्य हुन नसक्ने र सर्वसाधारण जनता धर्मको विरोधी हुन नसक्ने हुनाले सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैनन् । तर पनि कम्युनिस्ट पार्टी र उसका सदस्यले सर्वसाधारण जनताको पक्षमा काम गर्छन् । आफूले धर्मको पक्षपोषण नगर्ने गरे पनि जनताको विश्वास जित्ने व्यक्ति मात्रै कम्युनिस्ट कार्यकर्ता बन्न सक्ने हुनाले उसको मूल्याङ्कनको एउटा कसी उक्त भूमिकाका लागि कसी उक्त भूमिकाका लागि कला पनि गिन्ती हुन्छ । आफूले धर्म नमाने पनि जनताको साथ र सहयोग लिने व्यक्ति नै कम्युनिस्ट कार्यकर्ता हो ।

व्यक्तिगत समस्या समाधान गर्ने उपायमध्ये श्रम बेच्ने तरिका सबैभन्दा उत्तम र सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । श्रम बेच्ने काम श्रमजीवीसँग मिलेर नै गर्नुपर्छ । किनभने श्रम किन्ने मान्छेबाट अधिकतम मूल्य प्राप्त गर्ने र आफ्नो व्यक्तिगत खर्च सामान्य बनाउनका लागि त्यसो गर्नुपरेको हो । हजारौँहजार व्यक्तिको शोषण भइरहेको समाजमा आफू शोषकवर्गको घेरा नतोडिकन आफ्नो श्रमको मूल्य निश्चित हुन्न । अनिवार्य रूपमा श्रम बेच्नुपर्ने र भएको आम्दानी सामूहिक काममा लगाउने नगर्दासम्म कम्युनिस्ट पार्टीको कार्यकर्ता बन्न सकिन्न । समाजको सामान्य नागरिक बन्न खोज्ने हो भने पनि शोषण गर्न वा शोषित हुन अनिवार्यजस्तै हुन्छ । समाजमा कम्युनिस्ट हुने, कम्युनिस्ट बनाउने अथवा पुँजीपति वर्गको शोषण कायम रहन दिने भन्ने पक्षमा तीव्र अन्तरविरोध चलिरहेको हुन्छ । त्यो परस्पर विरोधी राजनीतिको दिशा पक्रने कुरा हो ।

पुँजीपति वर्गले सकेसम्म सर्वहारा वर्ग बिनाको पुँजीपति वर्ग बनाउन चाहन्छन् । त्यो भनेको व्यक्तिगत स्वामित्वमा स्थायी सम्पत्ति भएका निम्न पुँजीपति वर्ग र त्यसैबाट हुने निम्न पुँजीवादी विश्वदृष्टिकोणसहितको आफ्नो समर्थक बनाउन सकेसम्मको प्रयत्न गर्दछन् । त्यो घेरा नतोडिकन भौतिक रूपमा सर्वहारा वर्ग र उसको सर्वहारा वर्गीय विश्वदृष्टिकोणसहितको क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ता बन्न सकिन्न । कम्युनिस्ट कार्यकर्ता बन्न व्यक्तिगत स्वामित्वमा भएको सम्पत्तिले अवरोध खडा गर्दैन । तर पनि त्यसले सर्वहारा विश्वदृष्टिकोणको विकासमा सजिलो हुन दिन्न । विभिन्न समयमा उसलाई महशुस हुन सक्दैन कि सम्पत्ति नहुँदाको अप्ठ्यारो कहाँ, कति हुन्छ र त्यसले कति सजिलो अथवा अप्ठ्यारो बनाउने काम गर्दछ ? किनभने जुत्ताभित्रको काँटीले कहाँ र कतिसाह«ो घोचेर दुःख दिन्छ भन्ने कुरा जुत्ता नलगाउनेलाई थाहा हुन्न र अनुभव बटुल्न पनि सक्ने अवस्था हुन्न । छोराछोरी नजन्माएकी महिलालाई सुत्केरीको प्रसव वेदना थाहा हुन्न भनेको पनि त्यही हो ।

कम्युनिस्ट कार्यकर्ताको मूल्याङ्कन उच्च बनाउनका लागि उसको अध्ययनका साथै सिद्धान्त र व्यवहारमा कति हदसम्म एकरूपता छ ? समाजवादी व्यवस्था आमूल परिवर्तनपछि स्थापना हुने र लगातारको वर्गसङ्घर्षका कारणले मात्र अडिन सक्ने व्यवस्था हो । समाजवादी व्यवस्थाका संस्थापक नेता माक्र्स, एङ्गेल्स र अगुवाइ नेता लेनिन, स्टालिन र माओत्सेतुङ हुन् । उनीहरूको योग्यता, अनुभव र सफलतासम्बन्धी धेरै रचना प्रकाशित भएका छन् । निरन्तरको अध्ययन र तिनीहरूको व्यवहारमा प्रयोग गर्नुपर्ने अति आवश्यक काम हो । निरन्तरको अध्ययन र आफूले प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग दुवै कुरालाई उसको मूल्याङ्कनको आधार बनाउनुपर्छ । व्यवहारमा प्रयोग गर्ने व्यवस्था भएको हुनाले समाजको अन्तरविरोधको स्थितिको जानकारी हुनुपर्दछ । क्रान्ति एउटा निरन्तरको दीर्घकालीन प्रकृतिको काम हो । अन्तरविरोधको स्थिति थाहा नपाइकन आफूले गर्नुपर्ने कामको बारेमा सही जानकारी हुन सक्दैन । जहाँसम्म नेतृत्वमाथि विश्वास गर्नुपर्ने काम छ, त्यो प्रमाणसहितको विश्वास हुन जरुरी छ । अन्धभक्तिले हामीलाई सही ठाउँमा पुग्न दिन्न । अर्कोतिर, वास्तविक नेतृत्वको विश्वास गर्न सकिएन भने आफ्नो स्थिति थाहा हुन सक्दैन । आफ्नो दिशानिर्देश गलततिर जान्छ । ज्ञानको सिद्धान्तमा समाजमा भएको झुटलाई झुट सावित नगर्दासम्म त्यो सत्य भएर रहेको हुन्छ । फेरि सत्यलाई सत्य सावित नगर्दासम्म त्यो फुट भएर रहन बाध्य हुन्छ । त्यसकारण सत्य र असत्य दुवैलाई प्रमाणित गर्नुपर्छ । त्यसैले ज्ञान, व्यवहार, फेरि ज्ञान, फेरि व्यवहार गर्दै अघि बढ्नुपर्छ । प्रत्येक ज्ञान र व्यवहारको प्रयोगमा ज्ञानको स्तर उच्च हुँदै माथि पुग्छ ।

समाजवादी व्यवस्था लागु गर्ने भनेको उच्चस्तरको समाज बनाउने काम हो । समाजवादी समाज मजदुर वर्गको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व र मजदुर, किसान र बुद्धिजीवी तीन थरिका श्रमजीवीको संलग्नतामा अघि बढ्ने सम्पूर्ण श्रमजीवी जनताको व्यवस्था हो । यो नयाँ जनवादी व्यवस्था र साम्यवादी व्यवस्थाबिचको सङ्क्रमण कालीन व्यवस्था हो ।

माक्र्सवाद धेरै जनताले गर्ने समर्थनलाई होइन, विषयवस्तुको विश्लेषण महत्त्वपूर्ण हुन्छ भन्ने मान्यतामा रहन्छ । त्यो भनेको जनताको अन्धभक्त बन्ने चरित्र हुने हुनाले उनीहरूको राजनीतिक चेतनास्तर उच्च बनाउने काम महत्त्वपूर्ण हुन्छ । त्यो यसकारणले हो कि सही र गलत आफै छुट्याउन सक्ने अवस्थामा पु¥याउनु कम्युनिस्ट कार्यकर्ताको काम हो । श्रमजीवी जनताको विश्वास नजितिकन न त वर्तमान राज्यसत्ताले शासन चलाउन सक्छ, न त भोलि स्थापना हुने नयाँ जनवादी र समाजवादी सत्ता चलाउन सकिन्छ । त्यसैले जनताको विश्वास जित्न आफ्नो क्रान्तिकारी अस्तित्वको मातहतमा विश्वासिलो व्यक्ति बन्नुपर्छ र बन्न सक्नुपर्छ । जनताको चेतनामा आमूल परिवर्तन नगरिकन त्यो काम सम्भव छैन । त्यसकारण लामो समयसम्म अन्याय र शोषणका विरुद्ध सङ्घर्ष आफूले पनि गर्ने आफ्ना शुभचिन्तकलाई पनि गर्न लगाउने गर्नुपर्छ । त्यसरी गरिएको नेतृत्व विकासलाई खारिएको नेतृत्व पनि भनिन्छ ।

सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य हुन नसक्ने हुनाले कम्युनिस्ट कार्यकर्ताको उच्च मूल्याङ्कन गर्ने भनेको नेतृत्व विकासको स्तर उच्च बनाउने नै हो । जहाँसम्म कामको जिम्माको कुरा छ, त्यो योग्यतानुसारको कामको जिम्मा दिने हो । त्यो कसैलाई ठुलो बनाउन र कसैलाई सानो बनाउन दिइने जिम्मा अथवा जिम्मा पाएर ठुलो, जिम्मा नपाएर सानो हुने भन्ने प्रश्न होइन । कम्युनिस्ट पार्टीभित्र पदका लागि प्रतिष्पर्धा होइन, सामूहिकताको आवश्यकता पर्दछ । आआफ्नो जिम्माको काम सफलतापूर्वक सम्पन्न गर्ने, गर्नुपर्ने र सबैको कामको एकमुष्ठ पारेर पार्टीको अस्तित्व उच्च बनाउनुपर्छ । जनतामा पार्टीलाई स्थापित गराउन सबै कार्यकर्ताको ध्यान केन्द्रित भयो भने मूल्याङ्कन व्यक्तिको होइन, पार्टीको उच्च मूल्याङ्कन हुन्छ र हुनुपर्छ । त्यसो भयो भने मात्र आमूल परिवर्तनको उद्देश्य पूरा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार