जुना भण्डारी चालिसे
आँखाको नानी त्यो प्यारो भूमि त्यहीँ डाँडापारि छ ।
सबैले भन्छन् फर्क न तर ऋणको भारी छ ।।
पढेर के भो नपाउँदा जागिर प्रवासको गल्लीमा ।
थाहा छैन मलाई त्यो प्यारो घर फर्किन्छु कहिले म ?
देखेका सपना साकार गर्न आ’को छु बोकेर ।
आँखामा आँसु टप्किन्छ खालि त्यो डाँडा देखेर ।।
न आँसु थाप्न उठाउँछ हात न देख्छ आँखाले ।
प्रवासी छिट्टै फर्कन घर भन्छ त्यो डाँडापाखाले ।।
चुनौती लाखौँ आउने छन् यहाँ लड्ने हो कसरी ।
सुन्ने कोही भए प्रवासकै गल्ली रुन्थेँ म बेसरी ।।
कहिले त तिज कहिले त दसैँ कहिलेको तिहार ।
सम्झेर आमा सम्झेर बैनी धर्किन्छन् पियार ।।
बाबाको आसा दाजुको माया दिदीको आधार ।
के गरी फर्कूं बिग्रया’छ गाउँमा ऋण र व्यवहार ।।
गाउँमा युवा कोही पनि छैनन् छ गाउँ सुनसान ।
पाएर जागिर बसौँला कहिले त्यो घरआँगन ?
कसैलाई रहर विदेश धाउन कसैलाई बाध्यता ।
मनमनै भन्छु बस्दिनँ विदेश फर्कन्छु अब ता ।।
सामन्ती जालो हटाउन देशमा युवाको खाँचो छ ।
नबसौँ विदेश फर्क है स्वदेश यो कुरा साँचो छ ।।
विदेशी भूमि रङ्गी र चङ्गी चार दिनको रमाइलो ।
नदेऊ न अब विदेशलाई रगत स्वदेशमा बगाऊ भो ।।
त्यही डाँडापारि खरको छानो झुपडी सानो छ ।
हेरेर मुटु चर्किन्छ मन फर्कन झन् गाह्रो छ ।।
















