सोतीगाउँ हत्याकाण्ड : दुई न्यायाधीशबिच राय बाझियो

काठमाडौँ । रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ । राय बाझिएपछि सो विषय निरूपणका लागि अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस भएको छ ।

आइतबार न्यायाधीश कुमार चुडाल र सुदर्शनदेव भट्टको संयुक्त इजालसमा सुनुवाइ भए पनि आदेश आउन नसकेपछि सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजालसमा सुनुवाइ भइरहेको उच्च अदालत सुर्खेतले जनाएको छ।

दुई न्यायाधीशको राय बाझिएको विषय तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन । तेश्रो न्यायाधीशको इजालसले निर्णय गर्न नसके र फरक मत राखेमा उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा हुने छ।

रुकुम पश्चिमस्थित सोतीमा ६ जनाको ज्यान जाने गरी गत जेष्ठमा भएको हत्याकाण्डका केही आरोपितलाई थुनाबाट छाड्ने नछाड्नेबारे उच्च अदालत सुर्खेतमा सुनुवाइ भइरहेको छ ।

भदौ २४ गते जिल्ला अदालत रुकुम पश्चिमको आदेश विरुद्ध उच्च अदालतमा अभियुक्तले रिट दायर गरेका थिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूतको मुद्दालगायतको अभियोगमा जिल्ला अदालतले वडाध्यक्षसहित २३ जनालाई पूर्वपक्षका लागि थुनामा पठाएको थियो ।

युवतीसहित दुई जनालाई बालसुधारगृहमा, तीन जना तारेखमा र एक जना एक लाख रुपियाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको थियो । पक्राउ परेका व्यक्तिका तर्फबाट जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा रिट परेको हो ।

गत जेष्ठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार