खिम बहादुर बिक,
हैदराबाद । भारतको आन्ध्र प्रदेश र तेलंगनामा चक्रवात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । तेलंगानामा मात्रै ५० जनाभन्दा बढीले ज्यान गुमाएको स्थानीय प्रशासनले जनाएको छ ।
चक्रवातका कारण आन्ध्र प्रदेश, तेलंगाना र आसपासका क्षेत्रमा ६० वर्षयताकै ठुलो वर्षा भएको बताइएको छ । वर्षाका कारण सडकहरु नदी जस्तै बनेका छन् । जताततै जलमग्न छ । हैदराबादका धेरै जसो क्षेत्रमा बिगत तीन दिनदेखि बिजुलीको सप्लाइ छैन । पिउने पानीका पाइपहरु टुटेका छन् । ईन्टरनेट सुबिधा सामान्य छैन । विश्वकै इन्फरमेसन टेक्नोलोजी (आइटी हब) भनेर चिनिने हैदराबाद यतिबेला इन्टरनेटविहीन बन्न पुगेको छ ।
बंगालको खाडिमा हावाको कम दबाब र तेस्को चक्रबाती केन्द्र आन्द्र प्रदेशको काकिनाडा बन्दरगाह नजिक हुँदा तटीय इलाका, आन्द्र प्रदेशलगायत तेलंगानाका खम्मम, नालगोण्डा, महबुबनगर, बिकराबाद, मन्चेरियेल, करिमनगर,आदिलाबाद, निजामाबाद लगायत क्षेत्रमा बढी प्रभावित बनेका छन् ।
यस्तै, धेरै स्थानमा सडक र रेल सम्पर्क बिच्छेद भएको छ । जसका कारण मानिसहरु आफ्नो गाउँमा जान सकिरहेका छैनन् । वर्षाका कारण ठुलो संख्यामा मानिसहरु घरबारविहीन बनेका छन् । खासगरी दैनिक काम गरेर खाने वर्गका मानिसहरुको बिचल्ली भएको छ ।
मौसम विभागले खतरा अझै नटरेको चेतावनी दिइरहेको छ । सरकारले स्तिथी सामान्य नहुँदासम्म सबै सरकारी कार्यालयहरु बन्द गरेको छ भने निजी संस्थाहरु पनि बन्द नै छन् ।
यहाँका स्थानीय बुढापाकाहरु अहिलेको चक्रवात र वर्षा ६० वर्ष यताकै ठुलो भएको विश्वास गर्छन् ।
















