अध्यक्षको सन्देश

सहिद शोभाखर भुसाल (धनञ्जय) को पहलकदमीमा २०३९ कार्तिकदेखि हाँक साप्ताहिक प्रकाशन भएको थियो । तत्कालीन निरंकुश पंचायती व्यवस्थाको दमनका कारण उहाँ भूमिगत हुनु भएको थियो । भूमिगत भएपछि उहाँ भारत जानु भयो र नयाँ दिल्लीबाट प्रकाशित हुने नेपाली एकता मासिकको सहसम्पादक बन्नु भयो । नेपाली पत्रिका वितरण गर्न गएकै बेला उहाँले सहादत प्राप्त गर्नुभयो । त्यसका साथै तत्कालीन पार्टीको निर्णय अनुसार हाँक साप्ताहिकको स्वामित्व सहिद शोभाखर पत्नी शान्तादेवी भुसाल हुँदै पार्टी केन्द्रीय सदस्य गोविन्दसिंह थापाको नाममा हस्तान्तरण भयो । तर त्यो प्राविधिक विषय थियो । कानुनी कागजातमा गोविन्दसिंह थापा प्रकाशक/प्रधान सम्पादक भए पनि हाँक पार्टी निकटको वैधानिक साप्ताहिकको रुपमा प्रकाशित हुँदै रह्यो ।

त्यस समयदेखि हाँक साप्ताहिक विभिन्न आरोह– अवरोह पार गर्दै निरन्तर ३६ वर्षसम्म प्रकाशित हुँदै रह्यो । नेकपा (मसाल) निकटको वैधानिक साप्ताहिकको रुपमा हाँकको अन्तिम अंक २०७६ भदौ ११ गते प्रकाशित भयो । त्यसै सिलसिलामा २०७५ साउनमा नेकपा (मसाल) ले एकल स्वामित्वमा रहेको हाँक साप्ताहिकलाई प्रा.लि. बनाएर सामूहिक स्वामित्वमा लैजाने निर्णय गरेको थियो । उक्त निर्णयप्रति थापाजीले समेत सहमति जनाउनु भएको थियो । अहिले आएर जब उक्त निर्णयलाई व्यवहारिकता दिने समय आयो, उहाँ हाँकलाई प्रा.लि. अथवा सामूहिक स्वामित्वमा लैजान तयार हुनु भएन । त्यसपछि हामीले हाँक साप्ताहिकको विकल्पमा अर्को साप्ताहिक पत्रिका प्रकाशित गर्नुपर्ने भयो । त्यस क्रममा हामीले २०६६ सालदेखि मासिक रुपमा प्रकाशित हुँदै आएको युगदर्शनलाई साप्ताहिक रुपमा प्रकाशन गर्ने निर्णय गर्न बाध्य भयौं । सोही निर्णय अनुसार २०७६ भदौ १८ गतेदेखि युगदर्शनको साप्ताहिकको प्रकाशन सुरु भएको छ ।

जसरी २०७६ भदौ ११ गतेसम्म हाँक साप्ताहिक नेकपा (मसाल) निकटको वैधानिक पत्रिका थियो, त्यसैगरी युगदर्शन साप्ताहिक पनि पार्टी निकटको वैधानिक पत्रिकाको रुपमा प्रकाशन सुरु भएको छ । यसले पार्टी निकटको वैधानिक साप्ताहिक पत्रिकाको रुपमा भदौ ११ अघिको हाँकको सम्पादकीय नीतिलाई निरन्तरता दिने छ । हामी युगदर्शन साप्ताहिकलाई समाचार र लेख/रचना उपलब्ध गराएर, ग्राहक बनेर, पत्रिका वितरण गरेर र विज्ञापन दिएर सहयोग गर्न सम्पूर्ण पत्रकार/लेखक, पाठक, वितरक र विज्ञापनदातासित विनम्र अनुरोध गर्दछौं ।

गंगा पौडेल

अध्यक्ष, युगदर्शन साप्ताहिक तथा पूर्व अध्यक्ष हाँक साप्ताहिक

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार