एकता समाज ५ दशकमा प्रवेश

नेपाली एकता डटकम र मोबाइल अप्लिकेशन सार्वजनिक

नयाँ दिल्ली । भारतस्थित श्रमजिवी नेपालीहरुको अभिभावकिय भूमिका निर्वाह गर्दै आएको छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो गौरवपूर्ण ४ दशक पार गरि ५ दशकमा प्रवेश गरेको छ । यसै विच समाजले नयाँ दिल्लीमा स्थापना दिवस मनाएको छ । सो अवसरमा समाजको अनलाइन पत्रिका नेपाली एकता र मोवाइल अप्लिकेशन सार्वजनिक गरिएको छ । कार्यक्रम समाजको आफ्नै कार्यालयमा केन्द्रीय समितिको आयोजनामा सम्पन्न पारिएको हो ।

समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतिथि दुर्गा बहादुर केसी र विशिष्ट अतिथि नेपाली दूतावासको कल्चरल काउन्सलर होमनाथ लुइटेलले संयुक्त रुपमा नेपाली एकता डटकम सार्वजनिक गर्नुभएको हो । सो अवसरमा मन्तव्य दिंदै दुर्गा बहादुर केसीले एकता समाजले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएता पनि देशमा हुने विभिन्न जनतान्त्रिक आन्दोलनहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउँदै आएको बताउनु भयो ।

“आजको युग विज्ञान तथा प्रविधिको युग हो, यो युगले दिएको परिवतर्नलाई हामीले पनि आफ्नो प्रकारले उपयोग गर्दै अगाडि बढ्नु पर्ने आवश्यक छ” केसीले भन्नु भयो “विश्वको कुनै पनि कुनामा बसेर एउटा सोशियल साइटको अप्लिकेशन थिच्ने वित्तिकै हजारौं–लाखौं सूचाना प्राप्त गर्न सकिन्छ । तर ती सूचनाहरू आफैमा सान्दर्भिक, सत्य, वैज्ञानिक र क्रान्तिकारी हुन्छन भनेर दाबी गर्न सकिन्न ।” समाजमा आज कपोकल्पित र भ्रामक सुचनाहरु भाइरल बनाएर रातारात चर्चा बटुल्ने गरेका कार्यहरु भइरहेको परिवेशमा हामीले अगाडि ल्याएको अनलाइनले र मोबाइल अप्लिकेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने केसीले बताउनु भयो । केसीले केवल उक्त भूमिका भारत प्रवासमा मात्र सिमित नभई सिंगो नेपाली समाजमा समाज समेत खेल्नेमा जोड दिनु भयो ।

विशिष्ट अतिथि होमनाथ लुइटेलले मन्तव्यको क्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली दूतावासले गर्न नसक्ने कैयौं सामाजिक कार्यहरु गर्दै आएकोप्रति धन्यवाद प्रकट गर्नु भयो । “नेपाली दूतावासले पुर्‍यानु पर्ने कैयौं योगदानहरु मूल प्रवाहले गरेको छ, यो अवसरमा यहाँहरुलाई धन्यवाद दिन्छु ।” लुइटेलले भन्नु भयो– “मूल प्रवाहले उठाउँदै आएका धेरै राम्रा कार्यहरुप्रति नेपाली दूतावासको तर्फदेखि निरन्तर सहयोग र समर्थन रहने छ ।”

कार्यक्रममा केन्द्रीय समितिका सचिव ठाकुर खनालले एकता समाजले आफ्नो गौरवपूर्ण इतिहासलाई अगाडि बढाउँदै आएको बताउनु भयो । खनालले भन्नु भयो–“एकता समाजले आज बिभिन्न आरोह अबरोह पारगर्दै संघर्षशिल चार दशक पार गरेको छ, यसप्रति संगठनका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुप्रति आभार तथा धन्यवाद प्रकट गर्दछु । हामीले यो ५ दशक प्रवेश गरेको अवसरमा हामीले आफ्नो अनलाईन पत्रिका र मोबाइल अप्लिकेशन जारी गरेका छौं, यो पनि एउटा नयाँ उपब्धि नै मान्नु पर्ने हुन्छ । समाजलाई यहाँसम्म ल्याइपुर्‍याउन कैयौं नेता कार्याक्रताहरुको ठुलो योगदान रहेको खनालले जोड दिनु भयो ।

संगठनले बिगतमा नेपाली एकता मासिक बुलेटिन, विश्व नेपाली साप्ताहिक, मूल प्रवाह मासिक, नेपाली समाचार मासिक र हाल नेपाली समाचार साप्ताहिक पत्रिकालाई प्रिंट संस्करणको रुपमा ब्यबस्थापन गर्दै आएका छ, अब त्यसका साथसाथै अब अनलाईन संस्करणमा समेत प्रवेश गरेर नयाँ युगले दिएको जिम्मेवारीलाई सहजता पूर्वक सम्बोधान गर्ने कोशिस गरेको छ । वर्तमान इन्टरनेटको जमानामा समाजले अनलाईन पत्रिका सुरुगरेर एउटा ऐतिहासिक र पहल गरेको छ, तर यसलाई व्यवस्थित रुपमा परिचालन गर्न स्तरिय बनाउनमा सबैको सहयोग र समर्थनको आवश्यकता रहेकोमा समेत खनालको जोड थियो ।

ओखलाको विभिन्न झुग्गीहरुमा स–साना कोठामा कार्यालय बनाउँदा आफ्ना कागज पत्रहरु राख्ने तथा नेता कार्याक्रताहरुका झोला समेत राख्ने ठाउँ नभएको अवस्थाबाट उठेर आज समाजको आफ्नै कार्यालय भवन छ । यो हुनुमा हाम्रा कार्यकर्ताहरु, समर्थक तथा शुभचिन्तकहरुको अमुल्य योगदान रहेको छ ।

एकता समाजले स–साना झैँझग्डाका साथसाथै ठुलठुला आन्दोलनहरुको समेत सफलता पूर्वक नेतृत्व गरेकोले नै नेपाली श्रमजिवी जनताका बीचमा स्थापित हुन पुगेको हो । थुप्रै अलपत्रहरुलाई घर पठाउने, असायहरुलाई सहयोग गर्ने, बेस्यालयमा बिक्रिभएका चेहिरुको उद्धार गर्ने, प्रशासनबाट विभिन्न जालसाजी गरि फसाउनेहरुको विरुद्ध संघर्षमा उत्रिने र दलालहरुलाई कारवाही गर्ने होस् वा भनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लोकतान्त्रिक आन्दोलनहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान पुर्‍याउने कार्यले नै एकता समाजलाई यहाँसम्म पुर्‍याएको छ ।”

केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दको अध्यक्षता तथा धनवीर पुन मगरको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि केन्द्रीय सदस्य नारायण शर्माले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य लालचन्द पन्त, सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव तथा केन्द्रीय समितिका वैकल्पिक सदस्य त्रिभूवन भट्टराई, पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव शिव केसी, राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका अध्यक्ष गणेश आचार्य, अखिल भारत नेपाली विद्यार्थी संघकी निशा खनाल लगायतले आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार