हैदरावाद । मूल प्रवाहको ४२औं स्थापना दिवसको अवसरमा समाजको मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा “प्रवासी नेपालीहरुको मताधिकारको प्रश्न” विषायक अनलाइन अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न पारिएको छ ।
कार्यक्रम केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै महासचिव ठाकुर खनाल, सचिव प्रेम पौडेल, सदस्य रामप्रसाद आचार्य, रामकुमार क्षेत्री, फूलविना पौडेल, सल्लाहकार धनवीर पुन मगर, क्षेत्रीय समितिका के. रतन सिंह, क्षेत्रीय सहसचिव भिम बहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो ।
क्षेत्रीय सचिव खिम बहादुर विकको सञ्चालन र क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रतिको संझनामा एक मिनेट मौनधारण गरिए पछि क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएमले स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि केसीले मताधिकार मानव अधिकारको एउटा अभिन्न अंग भएको बताउनु भयो । सरकारले प्रवासी भनेर जुन सार्क देशहरु बाहेकलाई किटान गर्ने कोशिस गरेको छ, त्यो हामी भारत प्रवास लगायत दक्षिण एशियाका विभिन्न देशमा बस्ने नेपाली श्रमजिवीहरुलाई अपमान गर्ने कोशिस गरेको बताउनु भयो ।
सर्वोच्च अदालतले सरकारलाई प्रवासी नेपालीहरुको मताधिकारको व्यवस्थापनको लागि प्रमादेश दिंदासमेत त्यसतर्फ कुनै चासो सरकारले नदेखाएको समेत केसीले बताउनु भयो ।
त्यस्तै महासचिव ठाकुर खनालले देशको हरेका राजनीतिक आन्दोलनमा सहयोगी भूमिका निर्वाह गर्दै आएका प्रवासी नेपालीहरु मताधिकारबाट बञ्चित हुनु दुःखद विषय भएको बताउनु भयो । “जहानीया राणा शासनको अन्त्य, पञ्चाती व्यवस्था अन्त्यको लागि भएका आन्दोलनहरुमा भारत प्रवासमा रहेका नेपालीहरुको महत्वपूर्ण भूमिका रह्यो ।” खनालले भन्नु भयो– “देशको अर्थतन्त्र देखि राजनीतिक परिवर्तनसम्मको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने शक्ति प्रवासी नेपालीहरुलाई मताधिकारका लागि सरकारले ध्यान दिनै पर्ने हुन्छ ।”
त्यस्तै कार्यक्रममा केन्द्रीय सल्लाहकार धनवीर पुन, सचिव प्रेम पौडेलल लगायतले मन्तव्य राख्नु भएको थियो ।
















