कपिलवस्तु । राष्ट्रिय जनमोर्चा, कपिलवस्तुले संघीयता खारेजी र प्रतिगमनको खतराविरुद्ध एक हप्ते कार्यक्रमको सुरुवात गरेको छ । शनिबार चनौटा बजारमा विरोध सभाको आयोजना गरी जिल्लाब्यापी विरोध प्रदर्शनको सुरुवात गरेको हो ।
‘राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मूल नाराका साथ आयोजित सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेलले राष्ट्रियता र लोकतन्त्रका अगाडि गम्भीर अवस्था खडा भएको बताउनुभयो ।
उहाँले देशमा बढिरहेको भष्टाचार र सत्तारुढ दलभित्रको कुर्चीको लड़ाईंले गर्दा गणतन्त्र विरोधी शक्तिले टाउको उठाउने मौका पाएको बताउनुभयो । संघीयताको विकल्प राजतन्त्र नहुने भन्दै उहाँले प्रदेश सरकार खारेज गरी स्थानीय निकायलाई अधिकार सम्पन्न गराउनु पर्ने, प्रदेशको खर्च विकास निर्माण र कोरोना भाइरस उपचारमा खर्च गर्नु पर्ने बताउनुभयो ।
देशमा वैदेशिक चलखेल बढेको भन्दै राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा र संघीयता खारेजीका लागि जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यताक्षमा सम्पन्न विरोध सभामा राजमोका जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासे, जातीय समता समाजका अध्यक्ष दिल बहादुर विक, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक केन्द्रीय सदस्य केरसिंह अदैलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत राजमो शिवराज नगर समिति अध्यक्ष केर पुन र सञ्चालन राजको जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नु भएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका मजदुर नेता केरसिंह अदैले जानकारी दिनुभयो ।
















