नयाँ अभियान

  • गोविन्द प्रसाद आचार्य

अशक्तको जिन्दगीलाई सशक्तमा ल्याउने हो।
घरदेखि सत्ता सम्म हक् खोस्ने हो ।।
अशक्तको माझ पस्ने लुट्ने खाने वर्ग छ।
त्यही वर्गले अशक्तलाई थिच्नु थुच्या छ।।

नियम कानुन बन्नु पर्छ अशक्तको हितमा।
पर्गेलिनु पर्छ वर्ग तिनका बिचमा।।
त्यहाँ पनि अति शोषण हुनेखाने सक्नेले।
मौका मान खान पाउँछ आउँछ सत्ता नजिकले।।

अशक्तको जिन्दगानी दबाउने र गिजोल्ने।
भन्दे सत्य कहिले हो त वर्ग पर्गेल्ने।।
असक्तको अधिकारको भाग खोस्ने त्यहीं छन्।
भाग खोसी बनाएका घर कत्रा छन् ।।

डलर दिने दाताहरु त्यै वर्गलाई देखाउँछन् ।
कठै बरा अशक्तका टाउका गन्या छन्।।
अशक्तलाई रित्तो हात कानुनले नफर्का।
असइ्य छ पिडा तिनको मुटु न चर्का ।।

असक्तले माग मागे गरीखाने ठाउँ दे ।
नियम कानुन अशक्तको हितमा बनाइदे।।
उडी गुडी सक्नेहरु हक् हातमा पारेका।
आजसम्म अशक्तका टाउका बिकेका ।।

पसलका असल सामान अशक्तका टाउका हुन्।
तिनै टाउका बेचिकन महल बन्या हुन् ।।
बाघको छाला स्यालको रजाई अशक्तको हकमा।
अशक्त हो नलाउ अब ताल्चा मुखमा।।

अशक्तको भागमा जुठो हालिदिएका छन्।
अशक्तको थाल खोसी मागी खाएका छन्।।
नपुगेको कही छैन जही पुगेका छन्।
अनेक ढङ्ग अनेक नाटक माग्न गरेका छन्।।

देशलाई भन्नुपर्यो अशक्तलाई नमार।
समाजलाई भन्नुपर्यो लौन गुहार।।
सक्त पनि अशक्त भई हिड्नुपर्ने किन र।
अशक्तलाई पेलिकन तेल निकाल्ने किन र।।

नजिकको खतराले खत्तम गरिसके।
अशक्त का जिन्दगीको रस चुसीसके।।
अशक्तको मुटु भित्र किर्णा घुसीसके।
गोमन साँपले के डस्ला र बढी डसीसके।।

अशक्तको थाल खोस्न मिठो बनी आउँछन्।
कहिलेकाही अशक्तको पीडाको गीत गाउँछन्।।
अशक्तलाई माग्न लगाउँछन् त्यही वर्गका ठालुले।
काम गर्ने कालु भयो मकै खाने भालुले।।

अशक्त हो समयले नेटो काटी सक्यो।
अशक्तको पक्षबाट विकास टाढी सक्यो।।
सत्बिउ छरे जस्तो मिसाएको कानुन।
कर्मकाण्ड गरेजस्तो न्याय दिने कानुन।।

अशक्तको हित गर्ने नीति नियम बनेन।
मिसाएको सत्बिजले न्याय दिएन।।
ठालु वर्ग पर्गेलेर अशक्तको पहिचान।
चलाउने हो हट्ने हैन नयाँ अभियान।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार