सरकारको प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक : केसी

श्यामलाल पोखरेल,

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमकाविरुद्व संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभएको छ । जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाट विघटित संसद पुनः जीवित गर्न सकिने केसीले दावी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाले बिहिबार बुटवलमा आयोजना गरेको प्रतिनिधिसभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’–विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै केसीले संसद विघटनको विपक्षमा रहेका सबै राजनीतिक दल र नागरिक समाज संयुक्त आन्दोलनमा उत्रनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी र प्रतिगमनकारी भएको उल्लेख गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको केसीले बताउनुभयो ।

विगतमा राजा र पञ्चायत विरुद्धका अन्दोलनहरुमा नेपाली कांग्रेस, कम्यूनिष्ट पार्टीहरु र मधेशवादी दल एक भएर संघर्षमा गएजस्तै संसद विघटन गर्नु गलत हो भन्ने शक्तिहरु पनि एक भएर कार्यगत एकता गरी अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । अध्यक्ष केसीले संसद विघट गरी चालेको असंवैधानिक, प्रतिगामी कदम उल्टाउन नसकिए देशमा संकट आउन सक्ने अवस्था आएको बताउनुभयो।

उहाँले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टि नभएको उल्लेख गर्दै निर्वाचन भई हालेपनि स्थिर सरकार बन्ने अवस्था नभएको दावी गर्नुभयो । नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्तिकेन्द्रहरु आफ्नो अनुकुलमा खेल्न थालेको बताउँदै प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धिहरु गुम्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मुलुकमा प्राप्त भएको गणतन्त्रका विरुद्ध राजावादी, विदेशी हिन्दु अतिवादी तथा वामपन्थी संकीर्णवादी गरी तिन तर्फबाट आक्रमण भइरहेको दावी गर्दै समयमै सचेत हुन नसके राजावादी र विदेशी शक्ति केन्द्रहरुले फाइदा लिन सक्ने अध्यक्ष केसीको तर्क छ ।

कार्यक्रममा नेकपा (माले)का सचिवालय सदस्य गोपालमणी गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदम देश र जनताको हितमा नभएकाले संयुक्त आन्दोलन जरुरी रहेको बताउनुभयो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले संसद विघटन गलत भएपनि संसद पुनर्स्थापनाले जनताका अधिकार सुनिश्चित हुन नसक्ने धारणा राख्दै मिल्न सकिने उजेण्डाहरुमा एकसाथ भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नागरिक समाजका अगुवा पदम कार्कीले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक मात्र नभएर प्रतिगामी भएकाले असंवैधानिक कदमलाई सुधार गर्न सकिने उल्लेख गर्दै प्रतिगामी कदम सुुधार गर्न नसकिने बताउनुभयो । प्राध्यापक डाक्टर माधवराज पन्थी र प्राध्यापक लिलाबहादुर केसीले प्रतिगमनका बिरुद्व अग्रगामी निकासका लागि संयुक्त आन्दोलन आजको आवश्यक्ता भएकोमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा नकेपा (मसाल)का रुपन्देही प्रवक्ता नारायण जीसी, केपी पोखरेल, हिरालाल धामी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार