सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्र

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु पनि उपस्थित छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समुहले खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका बार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षर सहित सार्वजनिक गरिएको हो ।

हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले विगत एक बर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको बताए । हस्ताक्षर समारोह आयोजित राष्ट्रियसभाहलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी संञ्चारकर्मी र मन्त्री एवं नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार