काठमाडौं । २०६३ साल चैत्रमा भएको गौर हत्याकाण्डका पीडितहरु न्याय माग्र्दै काठमाडौं आएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडितहरुले आफूहरुले हालसम्म न्याय नपाएको भन्दै न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् ।
२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन माओवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो भने दजनौँको संख्यामा घाइते भएका थिए । अन्र्तराष्ट्रिय समुदाय, सरकार लगायतले घटनाको निरीक्षण गरी उक्त घटना राजनीतिक अभिप्रायले नभई जघन्य अपराध भएको रिर्पोट समेत निस्केको जिकिर गर्दै पीडितहरुले सरकारले दोषी उपर कारबाही नगरेको आरोप लगाएका छन् । दोषी उपर कारबाही गरी मृत्यु हुनेहरुलाई शहिद घोषणा गर्न र न्याय दिलाउन पीडितले माग गरेका छन् ।
गौर हत्याकाण्ड संघर्ष समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् । दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड सँघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीको माग गर्नुभयो । घटना भएको १४ वर्ष बितिसक्दा पनि दोषीहरुमाथि कारबाही हुन नसकेको भन्दै उहाँले सरकारले घट्नामा शहिद भएकालाई शहिद घोषणा गर्न र घाइते भएकाहरुको उचित उपचार गर्न सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा शहिद प्रमोद यादवका बुवा, शहिद प्रतिमा खातुनको आमाले बोलेका थिए । घट्नाका घाइते तथा पीडित मनोजकुमार यादव राजनले घाइतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताए । उनले शहिद परिवारको बालबच्चाको पालनपोशण र घर निर्माण गरिदिन सरकारसँग आग्रह गरे ।
समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘२०६३ साल चैत्र ७ गते रौतटहटको गौरस्थित् राईस मिल चौरमा दिउँसो १स्४५ बजे उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेशी जनअधिकार फोरमले पेशेवर अपराधिक समूहको जत्थाको उपयोग गर्दै सुनियोजित रुपमा भिषण एवम् अमानवीय, अमानुषिक एवं नरसंहारकारी, आक्रमणबाट २७ जना सर्वसाधारणको मृत्यु र सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । स्वचालित बन्दुक, धारिलो हतियार लगायत ढुंगा ईट्टाको प्रयोग गरि अझ महिलाहरुलाइ बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।’
विज्ञप्तीमा थप भनिएको छ,‘अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौ वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारबाही नगरेको कारणले पीडितहरुको आँखा अगाडि नै अपराधीहरु खुलेआम घुमि रहेको देख्नु पर्दा हामीलाई अझ बढि पीडाबोध हुन गएकाले दोषीलाई कानून बमोजिम अविलम्ब कारबाही गर्नुपर्ने अन्यथा यस घट्नालाई अन्तर्राष्ट्रिय न्यायाल वा निकायमा प्रस्तुत गरी अन्तर्राष्ट्रियकरण लगायत राष्ट्रियस्तर समेतमा विविध प्रकारका संघर्षका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने भनि सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष ज्ञापनपत्र र राष्ट्रिय आयोगलाई ध्यानाकार्षण गराइएकोले यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।’
















