सहि समय यहि हो : केसी

भैरहवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न अहिले सबैभन्दा उपयुक्त समय भएको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले अब जनता सचेत भइसकेकाले राष्ट्रिय हीतविपरीत जाने जोसुकै दललाई जनताले ल्वाप्पा खुवाउने बताउनुभयो ।

केसीले राष्ट्रिय हीतका लागि सबै राजनीतिक दल एक ठाउँमा एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले भारतले नेपाली जमिन समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध नेपालका राजनीतिक दल एकठाउँ हुनु अत्यन्तै राम्रो पक्ष भएको उल्लेख गर्नुभयो । जनताको एकताले नै मुलुकलाई बलियो बनाउन सकिने केसीको भनाई थियो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतले हडपेको नेपाली भूमि फिर्ता गर्नुपर्ने अहिले उत्तम समय भएको बताउनुभयो । कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको जनाउँदै उहाँले सुस्तादेखि अन्य मिचिएका भूभाग पनि अब नेपालले फर्काउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । मुलुकमा भ्रष्टाचार बढेको, विकास निर्माणका कामले गति नलिएको उहाँको आरोप छ । अध्यक्ष केसीले मुलुकको अवस्था हेरेर जनताले संघीयताको विरोध गर्न सुरु गरिसकेको बताउनुभयो । ठूला दललाई समेत संघीयताप्रति वितृष्णा भइरहेको उहाँको दावी छ ।

अर्को प्रसंगमा अध्यक्ष केसीले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभयो । जनताको म्याण्डेटअनुसार सरकारले काम गरेन भन्ने राष्ट्रिय जनमोर्चाको विरोध र आलोचना रहने बताउँदै सरकार ढाल्ने पक्षमा भने आफूहरु नरहेको उनले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार