सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरु

काठमाडौं । सरकारी वार्ता टोली र थारु कल्याणकारी सभा, थरुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले समितिसँग मंगलबार पहिलो चरणको वार्ता गरेको हो ।

तर वार्तामा कुनै सहमति भने नभएको सरकारी पक्षले बताएको छ। गृहमन्त्री बादलले वार्ता सकिएको फेसबुकमार्फत जानकारी दिनुभएको छ । ‘आज दुवै पक्षले आफ्नो कुरा राख्ने काम भयो । थप छलफलका लागि पर्सि पुनः बस्ने गरी आजको वार्ता टुंगिएको छ’ गृहमन्त्री थापाले भन्नुभएको छ ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य छन्। थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली बनाएको छ ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार