सिमानाबाट श्रीमतीलाई पत्र

हेम बिजी

मेरो प्रिय
ढोकाको कापमा छोरीको औंला
मिचियो भनेर
मलाई नबोलाउनु
यहाँ त
लिम्पियाधुरा मिचिएको छ
मेरो प्रिय
बजार जादा आउदा
घाँटीको एउटा सुनको सिक्री
लुटियो भनेर
मलाई नबोलाउनु
यहाँ त
लिपुलेक लुटिएको छ
मेरो प्रिय
खोले खेत
साउने बाढीले खोलामा
मिसायो भनेर
मलाई नबोलाउनु
यहाँ त
पराईले आफ्नो नक्शामा
कालापानी मिसाएको छ
त्यसैले
कालापानीमा पनि नालापानीमा जस्तै
युद्ध हुदैछ
देश बचाउन
देशको सिमाना जोगाउन
त्यसैले
मेरो प्रिय
तिमी पनि सक्छौं भने
पेटको बच्चा
र काखमा नानी बोकेर आउ
सिमाना युद्धमा
म पनि सिमानामै छु
यतिबेला
देश बचाउन
र देशको बाटो जोगाउन
वीर गोर्खालीहरु
वीर नेपालीहरु
सिमानाकै युद्धमा छौं
त्यसैले
मेरो प्रिय
तिमी आउन
सक्दिनौ भने पनि
तिमी साहसी वीरकी श्रीमती
बनेर बाँच्नु
किनकि
सिमाना युद्धको आखिर सम्म
थाहा छैन
तिम्रो सिउँदो पुछिन पनि सक्छ
तिम्रो चुरा टुक्रिन पनि सक्छ ११

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार