बागलुङ होली मेलामा मारिने दुई युवा कांग्रेसका कार्यकर्ता, किन भएको थियो झडप ?

काठमाडौं । आइतबार बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा भएको झडपका क्रममा मृत्यु भएका दुई युवा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता भएको खुलेको छ ।

कांग्रेस बागलुङ जिल्ला कार्यसमितिका सभापति दीपेन्द्रबहादुर थापाले सोमबार बिहान विज्ञप्ति जारी गरी झडपमा मारिएका प्रकाश कुँवर आफ्ना जिल्ला सदस्य तथा दीपक परियार सक्रिय कार्यकर्ता भएको जानकारी दिनुभएको हो ।

प्रहरीका अनुसार ३६ वर्षीय कुँवर र ३४ वर्षका दीपक परियारको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको थियो ।

कांग्रेसले घटना सुनियोजित भएकोे भन्दै दोषीविरुद्ध कडा कारबाही गर्न माग गरेको छ । साथै घटनामा ज्ञानु दमाईलगायत घाइते भएकाले उनीहरूको औषधि उपचारको व्यवस्था गर्न बागलुङ कांग्रेसले सरकारसँग माग गरेको छ ।

घटनाको कारण स्पष्ट भइनसकेको भए पनि युवतीलाई रङ दल्ने क्रममा दुई समूहका युवाबीच झगडा भएको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको प्रहरीले जनाएको छ । अन्य केही बेपत्ता भएको आशंकामा उनीहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार