राजमोले आफ्ना सदस्यहरुका लागि आचार संहिता बनाउने

बुटवल । राष्ट्रिय जनमोर्चाले पार्टी सदस्यहरुका लागि आचार संहिता निर्माण गर्ने भएको छ । बुटवलमा जारी चौथो राष्ट्रिय सम्मेलनले पार्टी सदस्यहरुको आचार संहिता बनाउने निर्णय गरेको नेता मनोज भट्टले जानकारी दिनुभयो । सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिले त्यस्तो आचारसंहिता बनाएर लागू गर्नेछ ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन अन्तर्गत आज तेस्रो दिन पनि बन्द सत्रको कार्यक्रम जारी छ । सम्मेलनले राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन र घोषणा पत्र सर्वसम्मत पारित गरेको छ । संशोधित विधानअनुसार अब राजमोका प्रदेश समितिहरु कार्यकारी भूमिकामा रहनेछन् ।

सम्मेलनको तेस्रो दिन आज आर्थिक प्रतिवेदनउपर छलफल भइरहेको छ । आर्थिक प्रतिवेदनमाथिको टुंगो लागेपछि आलोचना आत्मालोचना गरिने र निर्वाचन आयोग गठन हुने नेता भट्टले जानकारी दिनुभयो । आजै नयाँ नेतृत्व चयन गरेपछि घोषणा सभासहित चौथो राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।

चैत २४ गते अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको सम्मेलनमा हिजोदेखि बन्दसत्रका कार्यक्रम सञ्चालन भइरहेको हो । कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल, नेताहरु बोमबहादुर खत्री, मनोज भट्ट र राजाराम चौधरी रहेको अध्यक्षमण्डल गठन गरी बन्द सत्र सञ्चालन गरिएको थियो ।

बन्द सत्रमा १० वटा ग्रुप बनाएर विभिन्न विषयमा छलफल भइरहेको छ । ग्रुप छलफलबाट आएका सुझावसहित पार्टीको राजनीतिक प्रतिवेदन, विधान र घोषणासभा पारित भइसकेको छ भने आर्थिक प्रतिवेदनउपर छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार