छिमेकी

गणेश ज्ञावली

साँधमा बाँध लाएर बारी खेत डुबाउँछ
चौपाया, पशु छाडेर बाली नास गराउँछ
न बोलूँ असहनीय पीडाको शूल चल्दछ
म बोलूँ ,मुख थुन्दिन्छ, घाउमा नून दल्दछ ! 

मौजा छन् उसका ठूला ,अर्काको साँध मिच्दछ
दौडिन्छन् उसका घोडा छातीमा किन किच्दछ ?
पानीका मूल बग्दैछन् खेतमा कल्कलाउँदै
कुलो काटेर लैजान्छ नसोधी, अल्मलाउँदै !

‘दुःखमा म परे ँ ’भन्दा सा’यता दिन्न भन्दछ
सामन्ती साहु हो , स्वार्थी व्याजको स्याज गन्दछ
मुखमा राम जप्दैछ पिठ्युँमा छुरी हान्दछ 
घरको मामिला मेरो उसले खुब जान्दछ !

उसको शकुनी चाला कसले बुझ्न सक्दछ ?
भाँडेर घर उ मेरो साख्खै नै तर बन्दछ 
‘प्रगति अरुको देख्नै नसक्ने ’रोग पाल्दछ
‘छिमेकी गर्न क्यै खोज्छन् ’ भाँजो उ किन हाल्दछ?

हितैषी मित्र छन् टाढा दुःखमा काम लाग्दछन्
साँधको छिमेकी यस्तो देखेर तिनी भाग्दछन्
न आफू सहयोगी भो’ न दिन्छ अरु आउन
मेरो बर्बादीमा उस्ले खोज्दैछ गीत गाउन !

पसेर खेतबारीमा बालीनाली उठाउँछ
प्रतिरोध गरुँ भन्दा मुड्की ,लाठी बजाउँछ
कुटिन्छन् सन्तति निर्धा, मारिने त्रास भो सधै
यो हैरानी कति खेपूँ ? छिमेकी दुष्ट भो कठै !

‘गुलामीको इतिहास उसको ’ रिस फेर्दछ !
‘ म आजाद थिएँ ’ भन्दा ईष्र्याले किन हेर्दछ ?
न पञ्चशीलको ख्याल न राम्रो नीति जान्दछ
लुटमै जिन्दगी देख्ने ,भविष्य त्यही मान्दछ !

छिमेकी बहुलठ्ठी भै आफैमा तिल्मिलाउँछ
विवेकशून्य भै व्यर्थै भ्रमले झिल्मिलाउँछ
अस्तित्व अरुको देख्नै नसक्ने छिमेकी प¥यो
सान्निध्य उसको मिल्नु दुर्भाग्य यसले ग¥यो !

छिमेकी बलियो मेरो निर्धो भै म रुने सधै?
मै जस्ता अरु साथी छन् हुतिहारा भए सबै !
खरायो म भएँ, सिंह जस्तै गर्दछ गर्जना
छिमेकी यो पर्यो कस्तो ? मनमा चल्छ तर्कना !

साह्रै भो मन्परी उस्को सहनुको सिमा टुट्यो
’यस्ले पो गर्न के सक्छ?’ साहस मनमा जुट्यो
‘खरायो सिंहको गाथा’ दोहोरिन्छ, भयो अति
मृत्युको त्रासले उस्को ज्यादती सहने कति?
१०
‘भाडाको म गधा होइन ’ छिमेकी अब बुझ्दछ 
प्रतिरोध गरे मैले उसको मुटु दुख्दछ !
हारेर ज्युनुमा भन्दा मृत्युमा बाँच्नु पर्दछ
साहसीको समाधिमा अमृत बूँद झर्दछ !
११
‘सानो ठूलो हुँदै हुन्न मान्छे जाति बराबर ’
छिमेकी बुझिदे यत्ति, हेपाई बन्द गर् अब
‘स्वाधीन युगको मान्छे म हूँ ’ सत्य बुझेपछि
तोडिन्छन् त्रासका किल्ला ,ब्युँझी चेत उठेपछि !!
१२

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार