काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपाल पत्रकार महासंघमा नव निर्वाचित समितिलाई बधाई दिएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले यो निर्वाचनलाई प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्धको जितको रुपमा लिएको बताउनुभएको छ ।
पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक पक्षका उम्मेदवारहरूले विजय हासिल गरेका छन् । विपुल पोखरेल नेतृत्वको प्यानलले ओली पक्षका पत्रकारहरुलाई देशैभर पराजित गरेको थियो ।
चुनावमा ओलीको प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सबै पत्रकारहरु बिना दलीय भेदभाव एकतावद्ध भएर उभिएका भन्दै मसालले ‘उनीहरूको विजय, देशलाई प्रतिगमनका विरुद्ध लैजाने षडयन्त्रका विरुद्धको विजय हो’ भनेको छ ।
देशमा फेरि पनि प्रतिगमनको खतरा नटरेको मसालको ठहर छ । अहिले पत्रकार जगतले जुन प्रकारको मार्ग प्रसस्त गरेको छ, प्रतिगमनका विरुद्ध एकतावद्ध हुँदै त्यसलाई अनुशरण गर्नुपर्ने आवश्यकतामा मसालले जोड दिएको छ ।
यस्तो छ वक्तव्यः
“नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक पक्षका उम्मेदवारहरूको विजयले खाली पत्रकार महासङ्घका लागि मात्र होइन, सम्पूर्ण देशको राजनीतिमा नै गम्भीर अर्थ र महत्व राख्दछ । त्यो विजयले देशको राजनीतिमा एउटा महतवपूर्ण दिशानिर्देशन गरेको छ ।
त्यसैले त्यो चुनावमा विजय प्राप्त गर्ने पत्रकारहरूलाई ने.क.पा. (मसाल) हार्दिक अभिनन्दन गर्दछ । प्रजातान्त्रिक र प्रगतिशील पक्षबाट उम्मेदवार बनेर पराजित भएका उम्मेदवारहरूलाई पनि हामीले बधाई दिन्छौं, किनभने उहाँहरूले प्राप्त गरेको मतले पनि प्रतिगमनका विरुद्धको मतको प्रतिनिधित्व गर्दछ ।
वास्तवमा आज देश प्रतिगमनका विरुद्धको एउटा गम्भीर वा एक प्रकारले भन्ने हो भने निर्णयात्मक सङ्घर्षको मुखमा उभिएको छ । प्रथमतः असंवैधानिक तरिकाले संसदको विघटन गरियो । सर्वोच्चले विघटित संसदको पुनस्र्थापना गरेपछि पनि ओली सरकारले जबर्जस्तीपूर्वक त्यसलाई विफल बनाउन षडयन्त्र गरिरहेको छ । ओलीको त्यसबाट के स्पष्ट हुन्छ भने सर्वोच्चको त्यो फैसलाबाट ओलीले खाली नैतिक दृष्टिकोणले मात्र प्रधानमन्त्रीबाट राजीनामा दिनु आवश्यक थिएन, बहुदलीय व्यवस्थाको सम्पूर्ण हितको लागि व्यवहारिक दृष्टिकोणले पनि उनको राजीनामा आवश्यक छ ।
उनले अन्धाधुन्दा प्रकारले जसरी संविधान र बहुदलीय व्यवस्थाका मर्यादा तथा आन्दोलनका उपलब्धि समाप्त गर्ने काम गरिरहेका छन्, त्यसबाट देश प्रतिगमनतिर जाने गम्भीर खतरा देखा परेको छ । त्यस कारणले उनको त्यस प्रकारको अधिनायकवादी र प्रतिगामी कार्यशैलीलाई रोक्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यो दिशामा पत्रकारहरूको चुनावले पहिलो र महत्वपूर्ण सन्देश दिएको छ ।
पत्रकारहरूको अहिलेको चुनावको राष्ट्रिय महत्व यो कुरामा छ कि त्यो चुनावमा ओलीको प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सबै पत्रकारहरु बिना दलीय भेदभाव एकतावद्ध भएर उभिएका थिए । त्यसकारण उनीहरूको विजय, देशलाई प्रतिगमनका विरुद्ध लैजाने षडयन्त्रका विरुद्धको विजय हो ।
गत कालमा जबजब पनि देशमा त्यस प्रकारको खतरा उत्पन्न भएको छ, आन्दोलन त्यसरी नै एकतावद्ध भएर अगाडि बढ्ने गरेको छ । त्यसकारण अहिलेको पत्रकारहरूको विजयले प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्न, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता समेतको लागि आन्दोलन अगाडि बढाउन महत्वपूर्ण आधार तयार पार्ने छ भन्ने हामीले आशा र विश्वास पनि गरेका छौ“ । हामीले ओलीको अधिनायकवादी र प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सम्पूर्ण राजनीतिक शक्ति, सङ्घसंस्था, नागरिक समुदाय र जनता समेतसित पत्रकारहरूले प्राप्त गरेको सफलतालाई अरू उच्च र मजबुत धरातलमा स्थापित गर्नका लागि अगाडि बढ्न अपिल गर्दछौँ ।
अन्तमा हामीले के कुराप्रति सम्पूर्ण देश र जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ भने अहिलेको स्थिति सामान्य प्रकारको छैन । अहिले देशमा जनताको लामो आन्दोलनद्वारा प्राप्त उपलब्धिहरु समाप्त हुने स्थितिको सिर्जना हुँदै गइरहेको छ, जसमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता समेत पनि आउँछन् । तिनीहरूको रक्षाको लागि ०४६ साल वा ०६२/०६३ सालमा जस्तो उच्च प्रकारको आन्दोलनको आवश्यकता पर्न सक्दछ । राष्ट्रियतामाथि पनि गम्भीर खतरा पैदा हुँदै गइरहेको छ ।
घटनाक्रमले के बताउँदै गइरहेका छन् भने ती सबैका पछाडि ओली सरकार निमित्त कारण बन्दै गइरहेको छ । जसले उनको कदम र कारवाहीलाई समर्थन गर्दै गइरहेका छन, उनीहरुले देश र जनताको सम्पूर्ण हित भन्दा व्यक्तिगत फाइदाका लागि सत्ताको आडमा लागेको जस्तो नै बढी देखिन्छ । ती सबै आफ्नो स्थितिबारे पुनर्विचार गरेर ओलीबाट सम्भावित प्रतिगामी खतरालाई रोक्न सचेत हुनुपर्ने र अगाडि आउनुपर्ने ऐतिहासिक आवश्यकता भएको छ ।
अन्यथा देश एकपल्ट प्रतिगमनको दलदलमा फस्यो भने हामीले पुनः ५०/६० वर्ष पहिले जस्तो वा त्यो भन्दा कडा आन्दोलनमा उत्रनुपर्ने आवश्यकता पैदा हुनेछ । त्यस्तो हुन नदिन अहिले पत्रकार जगतले जुन प्रकारको मार्ग प्रसस्त गरेको छ, प्रतिगमनका विरुद्ध एकतावद्ध हुँदै त्यसलाई अनुशरण गर्नुपर्ने आवश्यकतामा ने.क.पा.(मसाल)ले विशेष जोड दिन्छ ।”
२०७७ चैत्र २९ गते ।