काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा कमी आउन थालेको छ । बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४८ हजार पाँच सयमा संक्रमण पुष्टि भएको छ । गत साता भारतमा दैनिक संक्रमितको संख्या साढे चार लाख नाघेको थियो ।
कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको हो । भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार नाघेको छ।
कोभिड–१९ संक्रमणको कारण भारतमा पछिल्लो २४ घण्टामा चार हजार दुईसयले ज्यान गुमाएका छन् । मृत्युदरमा भने कमी आउन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हाल भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय २५ पुगेको छ। यो बुधबार बिहान सात बजेसम्मको तथ्यांक हो ।
भारतमा हाल करिब साढे ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन्।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३० करोड नमुना परीक्षण गरिएको जनाएको छ।
















