– गोविन्द आचार्य
घर बनाउने भत्काउने केटाकेटी खेलजस्तो ।
केटाकेटी भात पकाई खेल्ने बेला मिलेजस्तो ।
रिसाएर आबेगमा इतिहास पोलेजस्तो ।
उर्लिएर हराउने साउनको भेलजस्तो ।
चर्का कुरा सुन्दा लाग्थ्यो साँच्चै आकाश खसालौला ।
धर्तिमाथि आकाशका तारा झारी बसालौला ।
आन्दोलनको आँधिबेहरी ल्याउन हिड्ने तागतहरु ।
अन्धकार निभाएर उज्यालोका आशाहरु ।
आन्दोलनको संसारमा खोजे पनि भेट्दिनँ म ।
बिगतको चर्को आवाज आज कतै सुन्दिनँ म ।
संसारका कुना काँप्चा खोजे पनि भेट्दिनँ म ।
नभेटेर फेरि आउने आशा पनि गर्दिनँ म ।
हिँड्दै छौ कि कतै तिमी नभेटेको हुन सक्छु ।
लुगा अर्कै लगायौ कि नचिनेको हुन सक्छु ।
मुकुन्डोले झुक्यायो कि नभेटेको हुन सक्छु ।
आवाजको घाँटी सुक्दा नसुनेको हुन सक्छु ।
इतिहासका पाना पढ्दा वीरहले रुन्छौ तिमी ।
आन्दोलनमा देख्दिनँ म कुन आकाश झार्छो तिमी ।
विगतमा बनाएको बाटो तिमी झुलिसक्यौ ।
मकै छर्न बनाएको पाटो पनि भुलिसक्यौ ।
सपनामा विगतको याद पक्कै आउँछ होला ।
लक्ष्य चरा लय हाली सपनामा गाउँछ होला ।
ताना खेल्दा विगतको तागतले उचाल्दो हो ।
इतिहासमा हराउँदा तै तानाले पछार्दो हो ।
कोठाभित्र कल्पनामा विगतलाई जुलुस मान ।
तरङ्गका जुलुसमा भाषणले ब्यङग्य हान ।
तरङ्गलाई सम्बोधन गर्दै पानी पिउने गर ।
तरङ्ग हुन् आशा तिम्रा तिनैसँग जिउने गर ।
विगतका पानाहरु पल्टाउँदा याद आयो ।
विश्व फेर्ने जाँगर तिम्रो कहाँबाट केले खायो ।
भुलहरु सुल बनी कहिले भित्र घोच्छन् होला ।
पश्चातापका हात उठी कैले गाला पिट्छन् होला ।
धमिराले इतिहास चपाउँदै जिस्क्याउँछ ।
तन, मन, तरङ्पगले पछारेर सिथिल पार्छ ।
कोठाभित्र तिम्रो संसार यताउता डुल्छौ होला ।
विगतको कल्पनाको फूलबारीमा डुल्छौ होला ।
रिसाएर टाढा हुँदा ठुलै भारी बिसायौ कि ।
विगतको सफा नदी ढल हाली मिसायौ कि ।
कहिलेकाहीँ पश्चातापले जाँडको गहिरो नशा दिन्छ ।
रन्थनाउँदै तन, मन जता पनि पछारिन्छ ।
कत्रो थियो आशाबल लग्थ्यो धर्ति बोक्छुजस्तो ।
म भन्दा त संसारमा अर्को कोही छैनजस्तो ।
गर्नेलाई धम्की गाली सरापेर हिँड्यौ तिमी ।
बाटो पुल बन्दै गयो र त मुर्छा खायौ तिमी ।
मुसा बस्ने दुलाभित्र तिमी बसेजस्तो लाग्छ ।
उदाउँदो उषा लालीदेखि भागेजस्तो लाग्छ ।
दिमागका मयलको उपाय नै कहाँ छ र ।
सङ्कुचित मुसा बस्ने दुलो भयो तिम्रो घर ।
माथि माथि चढ्दैछौ कि चिप्लिएर झ¥यो तिमी ।
संसारमा हिँड्दै छौँ कि चिहानमा प¥यौ तिमी ।
विश्व फेर्ने आन्दोलनको ठेक्का लिन टेन्डर हाल्यौ ।
समय र इतिहासको झण्डै पुल भत्काइदियौ ।
सग्लो पानी धमिल्याउने चोर जिद्दीका नायक तिमी ।
घाम नलाग्ने हुन्थ्यो कहाँ पापी मनका गायक तिमी ।
कति मिठो गीत गायो कौवालाई कसले भन्यो ।
आन्दोलन त बढेको छ खै त तिमीलाई कसले गन्यो ।
नगनिने नटेरिने भाग्नेलाई यस्तै भयो ।
विगत त भाग्नेलाई कोही तालुमा आलु फल्यो ।
माग्नेलाई तातो खिर इतिहासमा दियो कसले ।
मर्नेहरु सबैलाई सलामी पो दियो कसले ।
विगत को ब्याज खाई डकारेको गन्ध आयो ।
म त भन्छु समयले घमण्डको घैटो फो¥यो ।
आरामका घरघडेरी जोडे पनि सर्वहारा ।
घाम लागेको समयमा हराउँछ ध्रुवतारा ।
कोठाभित्र सुनसानमा आफ्नै तारिफ गर तिमी ।
कोठाभित्र विजयको अबिरमाला भिर तिमी ।
विगतसँग वर्तमान आँट भए जोड्न सक्छौ ।
असतिको अगतिलो बाटो तिमी जोड्न सक्छौ ।
आन्दोलनको लहरमा डराएर हराएछौ ।
कोठा बन्द गरी भित्र एक्लै एक्लै कराएछौ ।
लक्ष्य तिम्रा सुकिकन भुइँ झरेर सडिसके ।
साथीभाइ विजयको शिखरमा चढिसके ।
हिजो तिम्रा ठुला कुरा ठुलै लक्ष्य बोकेजस्तो ।
कठैबरा बिचराको रुप भयो आज यस्तो ।
इतिहासको गति मति हसुरेर पुगेजस्तो ।
लाग्छ तिमी कतै सानो झुण्डतिर झुकेजस्तो ।
झुण्डकुण्ड जता जाऊँ साँच्चै तिमी सेलाएछौ ।
जत्रै फुर्ति गरे पनि साँच्चै तिमी बिलाएछौ ।
आन्दोलनले तिम्रो बाटो कैलै पनि हेर्ने छैन ।
तिमी हार आन्दोलन कैलै पनि हार्ने छैन ।
समालिन नजान्नेको विगत गति यस्तै हुन्छ ।
लुते कुकुरपुच्छर लुकाई पर पर भाग्ने गर्छ ।
तिम्रो भ्रम आन्दोलनको इतिहासले पक्कै थुक्छ ।
कायरको छाति कुच्दै आन्दोलन अघि बढ्छ ।