काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी ओलीले आफ्नो पदको संरक्षणका लागि नागरिकता सम्बन्धी प्रावधानलाई खुकुलो बनाएर भारतीय स्वार्थलाई पूरा गर्न खोजेको बताएको छ ।
हालै जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता दिलाएर मुलुकको महत्वपूर्ण पदमा पुग्ने बाटो खोलेको भन्दै मसालले आपत्ति जनाएको छ ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी ओलीले आफ्नो सत्ताको संरक्षणका लागि राष्ट्रियतासँग सौदाबाजी गरेर अध्यादेश जारी गरेको आरोप लगाउनुभएको छ ।
यस्तो छ, वक्तव्य
‘२०७८ साल जेठ ९ गते राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशले मुलुकलाई दीर्घकालीन तथा व्यापक रुपमा गम्भीर असर पुराउने भएको हुनाले अध्यादेशको घोर विरोध तथा भत्र्सना गर्दै यसको खारेजीमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले जोड दिन चाहन्छ । अध्यादेशको खारेजीका लागि सङ्घर्षमा जोड दिंदै आ–आफ्नो क्षेत्रबाट विरोध तथा सङ्घर्ष गर्न सम्बन्धित सबैमा अपील गर्दछ ।
नेपालको विशिष्ट प्रकारको भूराजनीतिक अवस्थाका कारण नेपालको नागरिकता सम्बन्धी नीति पनि त्यही अनुरुप नै बनाउनु पर्ने कुरामा हामीले लगातार जोड दिंदै आएका छौँ । भारतीय साम्राज्यवादले नेपालको अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाएर वा शासक वर्गलाई भय दोहन गरेर नेपालको नागरिकता सम्बन्धी नीतिलाई आफू अनुकूल फितलो बनाएर ठूलो संख्यामा भारतीय जनसंख्यालाई नेपाल भित्राउने र नेपालको जनसंख्यालाई अतिक्रमण गरेर नेपालीहरुलाई अल्पमतमा पारी बैधानिक तवरबाट नेपाललाई भारतमा गाभ्ने रणनीतिका साथ काम गरिरहेको कुरा कसैबाट लुकेको छैन ।
नेपालका शासक वर्गहरुले पनि नागरिकता सम्बन्धी नीतिलाई आफ्नो सत्ताको संरक्षण वा पदको सौदाबाजीका लागि प्रयोग गर्दै आएका छन् । २०७५ सालदेखि संसदमा विचाराधिन रहेको नागरिकता विधेयकलाई अहिले आएर एकाएक ओलीले आफ्नो सत्ताको संरक्षणका लागि राष्ट्रियतासँग सौदाबाजी गरेर अध्यादेश जारी गर्ने काम गरेका छन् । जारी गरिएको अध्यादेशमा व्यवस्था गरिएको, “जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई बंशजको नागरिकता दिने” कुराको हाम्रो पार्टीले लगातार विरोध गर्दै आएको छ ।
हामीले त्यसका विरुद्ध संविधान सभामा समेत पार्टीको वैधानिक मोर्चा मार्फत् विरोध गर्नुका साथै स्वतन्त्र ढंगबाट आन्दोलन समेत संचालन गरेका थियौँ । अहिले ओलीले आफ्नो पदको संरक्षणका लागि नागरिकता सम्बन्धी प्रावधानलाई खुकुलो बनाएर भारतीय स्वार्थलाई पूरा गर्न खोजेका छन् । जारी अध्यादेशले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता दिलाएर मुलुकको महत्वपूर्ण पदमा पुग्ने बाटो खोलेको छ । यो कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ ।’
२०७८ जेठ १० गते
रामप्रकाश पुरी
प्रवक्ता
















