काठमाडौँ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रहेका कृष्ण थापा पदमुक्त भएका छन् । २०७८ जेठ २० गते बिहीबार प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनी पदमुक्त भएको पत्र पढेर सुनाउनुभएको हो ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले थापालाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । उनलाई सांसदबाट हटाएको जानकारी आज प्रदेशसभा सचिवालयमा दिइएको थियो ।
राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्न दिएको निर्देशन उनले उल्लङ्घन गरेका थिए ।
बाग्लुङ १ को कबाट प्रत्यक्ष निर्वाचित उनी मुख्यमन्त्री गुरुङको पक्षमा उभिएपछि उनलाई पार्टीले कारबाही गरेको हो ।


















