प्रेस काउन्सिलमार्फत प्रेसमाथि अंकुश लगाउने षडयन्त्र : पाँच पत्रकार संगठन

काठमाडौं । प्रगतिशील पत्रकार संघलगायत पत्रकारसँग सम्बद्ध विभिन्न पाँच संगठनले प्रेस काउन्सिलमार्फत प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजिएको बताएका छन् । सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी पत्रकार संगठनहरुले प्रेस काउन्सिलमा कार्यकर्ता भर्ती गरी प्रेसमाथि नै अंकुश लगाउने षडयन्त्र भइरहेको बताएका हुन् ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेलले संयुक्त वक्तव्य प्रकाशित गरी प्रेस काउन्सिलमार्फत सिंगो प्रेसमाथि अंकुश लगाउने सरकारी षडयन्त्रको भण्डाफोर गर्न पत्रकार महासंघसहित सरोकारवाला सबैमा आग्रह गरेका छन्।

‘पछिल्लो पटक पत्रकार आचारसंहिताको पालना गराउने र निर्वाचन आचार संहिताको अनुगमनसमेत गर्ने ‘अर्धन्यायिक निकाय’कोरुपमा रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको प्रक्रिया र नियत हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली लागेको स्पष्ट छ’ विज्ञप्तिमा भनिएको छ।

यस्तो छ, विज्ञप्ति
वर्तमान सरकारको वैधानिकताबारेमा नै सर्वोच्च अदालतमा बहस छ । प्रतिनिधिसभाका बहुमत सांसदले हस्ताक्षरसहित वर्तमान सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । संसदमा अल्पमतमा परेको यो सरकारले हठात संसद विघटन गरेको छ र निर्वाचनको तिथि घोषणा गरेर आफैंले आफैंलाई कामचलाउमा परिणत गरेको छ । यो प्रकृतिको सरकारले दीर्घकालीन महत्व राख्ने खालका नियुक्तिहरु गर्नु विडम्बनापूर्ण छ । विशेषगरी विभिन्न सरकारी स्वामित्वका सञ्चार संस्था एवम् निकायमा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति गर्ने, ती निकायमा नियुक्त व्यक्तिले सार्वजनिक संस्थालाई सरकारका पदाधिकारी तथा सरकारको नेतृत्वकर्ता पार्टीको पक्षमा परिचालन गर्ने तथा प्रेसलाई थप अंकुश लगाउने गरी भइरहेका क्रियाकलाप प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

पछिल्लो पटक पत्रकार आचारसंहिताको पालना गराउने र निर्वाचन आचार संहिताको अनुगमनसमेत गर्ने ‘अर्धन्यायिक निकाय’कोरुपमा रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको प्रक्रिया र नियत हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली लागेको स्पष्ट छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सर्वोच्चले २०७४ सालश्रावण ३१ गते मुद्दाको अन्तिम टुंगो नलागेसम्म नियुक्ति भएको पदको काम गर्न रोक लगाएको कुरा स्मरणीय छ ।

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको सुझाव र परामर्शमामात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गरिनुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले पूर्णरुपमा उल्लंघन गरेको छ । प्रेसको समाचार सामग्री नियमनगर्ने काउन्सिल जस्तो संस्थाको बोर्डमा केपी ओली नेतृत्वको सरकारले एकलौटीरुपमा आफ्ना कार्यकर्ता मात्र नियुक्ति गरेको छ । नेपाली पत्रकारको साझा संस्था पत्रकार महासंघसमेतलाई मानमर्दन हुनेगरी गरिएको नियुक्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न राज्य तल्लीन रहेको पुष्टि गरेको छ ।

प्रेस काउन्सिलमार्फत् सिङ्गो प्रेसमाथि अंकुश लगाउने सरकारी षडयन्त्रको भण्डाफोर गर्न हामी पत्रकार महासंघसहित सरोकारवाला सबैमा आग्रह गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार