मसाललाई असर परेको हो, भेन्टिलेटरमै पुगेको होइन

कुरा सुरु गरौँ, विमल पोखरेलको यो भनाइबाट ‘‘……………त्यसैले मसाल पतनोन्मुख छ, भेन्टिलेटरमा छ ।’

विमल पोखरेलको यो भनाइमा गुदो छँदै छैन, बोक्रैबोत्रा छन् । साम्राज्यवादको विषालु हावा संसारभरि चलेको अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर नभएर मजबुत हुन्छ ? पतोन्मुख नभएर उन्नतिवैभव हुन्छ ? दसीप्रमाण उनी आफै छन् त ।

साम्राज्यवादको बिगबिगीमा कम्युनिस्ट आन्दोलन मजबुत हुने भए, उन्नतिवैभव हुने भए उनले सच्चा कम्युनिस्ट पार्टी मसालबाट अराजक भई दायाँबायाँ किन गर्थे होला ? किन गुरु, संस्था र पार्टीसँग सिउरी खेल्थे होलान् र ?

कम्युनिस्ट पार्टीलाई ‘अवसरवाद, व्यक्तिवादले खाएको हो र त्यसको असर मसालमा पनि परेको हो’ । असर परेको हो, भेन्टिलेटरमै पुगेको त होइन नि ।

त्यसरी उनले मसालमाथि लगाएको माथिको आरोप सही छैन । तथ्यमा आधारित पनि छैन । पूरै लेखको मूल स्प्रिटमा ध्यान नदिई थपक्क एउटा शब्द टिपेर त्यसैमा हुल्ली खेल्ने ? थारोपाडोले नयाँ किलो पाउँदा बुरुक्क बुरुक्क उफ्रेझैँ ?

उनले ‘मसाल मात्र होइन, संसारकै कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ । अवसरवाद व्यक्तिवादले खाएको छ’ भन्ने अनलाइन खबरमा मोहनजीको अन्तर्वार्ताबारे प्राप्त गरेको जानकारी पनि उपरी, बाह्य र सतही प्रकारको छ ।

चाणक्यको एउटा प्रसिद्ध भनाइ छ– आम्दानी पर्याप्त नभए खर्चमा नियन्त्रण गर्नू, जानकारी पर्याप्त नभए शब्दमा नियन्त्रण गर्नू । उनी शब्दमा नियन्त्रण नगर्ने, ठोस जानकारी नहुने, उपरी प्रकारको जानकारी हुने सामाजिक सञ्जालका अथर (लेखक) हुन्, भ्रामक हुन् ।

उनका कलमबाट निस्केका शब्द कम्युनिस्ट सखाप पार्ने धमिरा भएर निस्कन थालेको पक्कै हो । भ्रम पार्न सिपालु छन् । चौबिस क्यारेटबाट दुई नम्बरीमा परिणत भइसकेका छन् । कसैले कस्तो जानेर भनेछन– सबैभन्दा खतरनाक दुस्मन त्यही हुन्छ रे, जुन पहिला दोस्त (मित्र) हुन्छ ।

हिजो जति बेला उनी दोस्त थिए, पार्टीमा विभिन्न मोर्चाको नेतृत्वमा थिए, मोहनविक्रम ठिक थिए । मोहनविक्रमको नेतृत्व उच्च प्रकारको थियो । मसाल पार्टी अब्बल र गौरवशाली थियो । पार्टीका पार्टपुर्जा हाँगाबिँगा ठिकठाक थिए । हिजोआज भदौरे राँगोझैँ अराजक भएर अनुशासनको कारबाहीमा परेर पार्टीबाट यताउता परेपछि मसाल पार्टीमा उधौली लागेको देखेका छन् । मसाल भेन्टिलेटरमा पुगेको देखेका छन् । पार्टी झुर देखिएको छ । खत्तम लागेको छ ।

पोइल जाने बेलामा सबैलाई लाग्ने नै त्यस्तै हो । अहिलेसम्म पोइल गएका सबैलाई लागेकै त्यही हो ।

विमलजीलाई पनि नयाँनौलो कुन हो ? हुरुक्क कोसँग हो ? कुम्लो बोकेर लाग्दा हुन्छ । अर्काको घरको अब चिन्ता, पिर, सुर्ता गरेर शरीर किन सुकाउनु ? अर्काको घरको डाँडाभाटा भत्काउनतिर किन लाग्नु पर्यो । थाम, निरल किन हल्लाउनु पर्यो ?

एकदुई जना विरोधीको समर्थनले आत्मरतिबाहेक केही मिल्ने पनि होइन । आफ्नो घर ठुलो साब्लो बनाऊ । वामपन्थी आत्मा खरानी परिसकेका आफूलाई मात्रै सो गर्ने एकाध खोटा मोहरले पार्टी त्याग्दैमा पार्टी, क्रान्ति र परिवर्तनमा केही फरक पर्ने होइन, लुतो लाग्ने होइन । पहाडबाट मटेंग्रा खस्दा, पहाडको वा पिलो निचोरेर फाल्दा शरीरको तौलमा के पो अन्तर आउला र ? हामीलाई हाम्रै घर अलकापुरी छ ।

कुम्लो पोको पारेर कता लाग्ने हो, लाग्दा हुन्छ । सत्तुर नहसाइदेऊ । कृष्णको मिलन राधासँगै हुने हो । विमलको विलय एमालेमै हुने हो कि ? क्रान्तिकारी लफ्फाजी वा संकीर्णवादीलाई अन्तिममा एमालेको सूर्य चिह्न नै सुहाउने हो । वैष्णव मन्त्र सुनेर थान्को लाएर बस बरु । देउघाट नुहाऊ । जातिबित्ती नगर । उग्रहरूले अन्तिममा गर्ने भनेकै त्यही हो । खुकुरीभन्दा कर्द लाग्ने तिमीभन्दा पहिला बाबुरामहरू पनि थिए । अब तिमी पनि नउम्ल, हाम्लाई पनि नतताऊ ।

अन्त्यमा, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्रीको माथिको यो भनाइलाई पुनः उद्धृत गर्दै भनाइ अन्त्य गर्न चाहन्छु : ‘कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ तर त्यसको उज्ज्वल भविष्यमाथि हाम्रो अगाध विश्वास छ ।’

(फलेबास नगरपालिका–६ देविस्थान भुसालचौर, पर्वत)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार