के फेसबुकमा चिच्यार कम्युनिष्ट बिउ जोगिएला ?

  • कैयौं साथिहरूले ब्यक्तिगत रिसवीलाई मिडिया, युटुब, फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा उछालेर क्रान्तिको सपना देख्नु भएको छ । हामीले अहिले पनि साथिहरूले आफ्नो त्यो ब्यबहारलाई त्यागेर संगठनको बहुमतिय प्रणालिमा सहमत भएर संगठनको भित्र बैचारिक छलफल गर्दै अनुशासित भएर आफ्नै घरमा फर्किनु पर्नेमा मान्यता राख्दछौं ।
  • थुप्रै मानिसहरू मिडियामा चिच्चाई चिच्चाई भन्छन्, कम्युनिष्ट खतम भयो, बिउ पनि बचेन । तर त्यो ब्यबहारले कम्युनिष्टको बिउ बच्न सक्छ त ? जसले आजिवन कम्युनिष्ट बिचारको पक्षमा संघर्ष गर्याे त्यहि नेतृत्वलाई दक्षिणपन्थि भन्दै गालि, सत्तो सराप गर्दैमा कम्युनिष्टको बिउ बच्न सक्छ त ? नेतृत्व भित्र भएको गुणलाई देख्नै नसक्ने अनि तमाम भए नभएका वैगुणलाई जनताको माझमा व्यापक प्रचार गर्दैमा आफुभित्र भएको सबै भडास निकाल्दैमा त्यो देशमा कम्युनिष्ट क्रान्तिकारीता जोगिन्छ त ?

    अहिले केही मानिसहरूले ने.क.पा. (मसाल)का नेतृत्वलाई गालि गर्दै आफुलाई अब्बल दर्जाको क्रान्तिकारी देखाउँन खोज्नु भएको छ । त्यति धेरै गालि देशका दुश्मन, दलाल, भ्रष्टचारीहरू र देशको सिमा मिचाहाहरूको बिरूद्धमा बोल्न सकेको भए उनीहरुको हिम्मत नै बढ्दैनथ्यो । त्यो आफ्नै बर्गलाई भन्न सकिनेरै छ, तर अरूलाई बोल्ने हिम्मत हुँदो रहेनछ भन्ने प्रमाण हो ।

    कम्युनिष्ट आन्दोलन बचाउनमा कुनै गुरु–चेला वा नेता हो भन्नु भन्दा पनि पार्टीका सदस्यहरूको उत्तिकै जिम्मेवारी हुन्छ । पार्टीले कुन कार्यनीति अपनाए पछि देश र जनता अनि पार्टीलाई फाईदा हुन्छ त्यहि कार्यनीति अपनाउँछ र अपनाउँनु पनि पर्छ । जुन कार्यनीतिले पार्टीको रणनीतिमा टेवा मिल्छ त्यहि अनुसार पार्टीले आफ्नो कार्यनीति अपनाउँने गर्दछ । कतिपय साथीहरुले कार्यनीतिलाई रणनीतिमा र रणनीतिलाई कार्यनीतिमा मिसाएर मुल्यांकन गर्नुहुन्छ । अनि आफूले सोंचे अनुसारको भएन भने पार्टी नेतृत्वमाथि खनिनु हुन्छ ।

    संगठन भित्र सहमतिय अबस्था हुँदैन भने बहुमतिय पद्धतिद्वारा नीति तथा कार्यक्रमहरु पारित गरिन्छ । अल्पमतले आफ्नो मत सुरक्षित राख्दै बहुमतको निर्णयलाई मान्नु पर्ने हुन्छ, कार्यान्वयनका लागि एकमना एकता भएर जनता बीच कार्यान्वयनमा जानुपर्ने हुन्छ । त्यसैलाई नै लेनिनवादी संगठनात्मक पद्धती भनिन्छ । आफुलाई लागेको कुरा लागु हुनसकेन भनेर नेतृत्वलाई जेसुकै र जहाँसुकै पनि बोल्नेहरू कम्युनिष्टको मापदण्ड भित्र पर्नु होला र ? मेरो बिचारमा त नपर्नुपर्ने हो । मानिदेउँ उहाँहरूका कतिपय बिचार ठिक होलान् तर त्यो बहुमतले गरेको निर्णयलाई लत्ताएर उनीहरूले भने अनुसार काम गर्न थाल्ने ? त्यसो पार्टी भित्र हुँदै गएपछि के होला ? अनि पार्टी संगठनको निर्णयलाई मानेर संगठनको बिकासका लागि हिंडेकाहरूलाई हनुमान, झोले, टिके आदि ईत्यादि भनेर गाली गर्ने, अपशब्द बोल्नेहरू क्रान्तिकारी नै हुन् त ? बिचारले पार्टी संगठन दरिलो हुन्छ, कोई कसैको पुच्छर हुँदैन् । सबै स्वाभिमानी हौं, तर कम्युनिस्टको कखरा भुझेकाले आफुलाई अनुशासनको दायरामा राख्ने गर्छन् ।

    कैयौं साथिहरूले ब्यक्तिगत रिसवीलाई मिडिया, युटुब, फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा उछालेर क्रान्तिको सपना देख्नु भएको छ । त्यस्तो ब्यबहारको साथिहरूबाट हामीले अपेक्षा गरेका थिएनौं । हामीले अहिले पनि साथिहरूले आफ्नो त्यो ब्यबहारलाई त्यागेर संगठनको बहुमतिय प्रणालिमा सहमत भएर संगठनको भित्र बैचारिक छलफल गर्दै अनुशासित भएर आफ्नै घरमा फर्किनु पर्नेमा मान्यता राख्दछौं । हाम्रो परिवार भित्र भएका बादबिवाद त कसैलाई पनि थाहा नहुनुपर्ने हो । पार्टीको अनुशासन भित्र बस्ने र गोपनियताको पालना गर्नु पर्ने हो । त्यसो नगर्ने जहाँ पायो त्यहिं आफुलाई लागेको बोल्नेलाई पार्टीले अनुशासनको दायरामा ल्याएर कारवाही नगर्ने हो भने पार्टी कस्तो होला ? निश्चित रूपमा कम्यूनिष्ट रहँदैन । एउटा बुजुर्वा पार्टीमा परिणित भएर पार्टी कम्यूनिष्ट पार्टीबाट पतन हुन्छ ।

    प्रतिकृयावादीले कहिल्यै पनि कम्युनिष्टहरूको एकता नहोस्, उनीहरूमा संधै फुट होस् भन्ने सिद्धान्तमा केन्द्रीत रहेर नै जनता र कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु बिचमा भ्रामित पार्ने गर्छन् । त्यहि जालमा परेर हामी आफ्नै मित्रलाई दुश्मन जस्तो संझिन्छौं । हिंजोको नेतालाई पार्टीले कारवाही गर्यो, त्यति पुरानो नेतालाई भनेर मन नदुखाउँ हो हाम्रो सबै पुराना साथिहरूसँग भावनात्मक समबन्ध छ र हुन्छ । कैयौं हाम्रै आफ्ना नातागोता पनि हुनु होला, त्यो सबै कुरा छुट्टै हो । हाम्रो उनीहरूसँग भावनात्मक सम्बन्ध त छँदैछ तर त्यो भए पनि सहि र गलत बिचारको लगातार फिल्टर गर्न सक्नुपर्छ । तबमात्र हामीले कम्युनिष्ट बिचारधाराको रक्षा गर्न सक्छौं । हामीले कुन ब्यक्तिले कुन बेला कुन प्रस्ताब राख्यो भन्ने कुराको सम्बन्धित ठाउँ बाहेक अन्त राख्नु मिल्दैन । बरू संगठनले के निर्णय गर्यो, त्यो निर्णलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, त्यस तर्फ नै केन्द्रित हुनुपर्ने हुन्छ ।

    पार्टीले लिएको नीतिको बारेमा बिरोध गर्नु भन्दा देश परिस्थितिलाई गम्भिर मुल्यांकन गर्नु पर्ने हुन्छ । अहिलेको देशको अबस्थामा पार्टीले गरेको निर्णयलाई गलत भन्ने ठाउँछैन । बरू बिरोधीहरूको भाषा बोलेर आफ्नो पार्टीलाई बद्नाम गर्ने साथिहरू वास्तबिक रूपमै गलत छन् । अहिले भर्खर हामीले बन्दुक छोप्ने अबस्था पनि छैन, यो अबस्थामा कुन नीति अपनाउँदा आफ्नो रणनीतिलाई फाइदा पुग्ला भन्ने विषयमा केन्द्रीत रहेर नै पार्टीले कार्यनीति तय गर्छ । समय, परिस्थिति अनुसार पार्टीले कुन नीति अपनाउँने भन्ने बारे पार्टीले सम्भवत ः सर्वसहमत, नभए बहुमतबाट निर्णय गरेर नै निश्चित गर्दछ । साथिहरूको सुझाब बरू मैत्रिपुर्ण लिखित रूपमा यो भन्दा यस्तो गरे उपयुक्त हुने थियो भन्ने पार्टीले सदा सुझाबको अपेक्षा राख्दछ ।

    कुनै पनि कम्युनिष्ट पार्टीमा आस्था राख्ने व्यक्ति किन नहोस् उसले कम्यूनिष्ट नैतिकता अनुसारको ब्यबहार गर्नुपर्ने हुन्छ । बाहिर फेसबुकमा चिच्चाएर पार्टीले गलत गर्यो भन्ने ब्यबहार भनेको कामरेडको लागि आत्मघाति ब्यबहार नै हो । कसैले गालि गर्दैमा, कसैले दक्षिणपन्थि वा संसदवादी भन्दैमा पार्टी ठ्याक्कै त्यस्तो हुँदैन । बरू अहिलेको यो अबस्थामा पार्टीले अपनाएको नीति भन्दा बिशिष्ट कुनै राम्रो फार्मूला भए त्यसबारे मैत्रिपुर्ण बिचार लेख रचनालाई प्रकाशित गर्दा उपयुक्त हुन्छ । जसबाट देश, जनता र तपाईहरूले भने जस्तै कम्युनिष्ट पार्टीलाई बिउ भुट्टिनबाट जोगाउँन मद्त मिल्ने थियो ।

    अहिले केहि साथिहरूले आफुलाई जे लाग्यो त्यहि पस्किनु भएकोले हामीलाई लाग्छ, त्यो कम्युनिष्टको नैतिकता भित्र पर्दैन । हामीले बारम्बार भन्दै आएका छौं, एक घण्टा पनि कसैले संगठनको लागि निस्वार्थ र ईमान्दारीपुर्वक काम गरेकोछ भने पनि त्यो उसले दिएको योगदान अमुल्य हुन्छ । यहाँ त लामो समय आधा जीवन वा केहि दशकदेखि संगठनलाई योगदान दिएका नेता पनि हुनुहुन्छ । त्यसकारणले पनि कसैले काम गरेन भनेर भन्छ भने त्यो गलत हो तर कैयौं ब्यक्तिहरू जो संगठनको सिनकै पनि सारेका हुँदैनन्, उनीहरूले पनि अनाबस्यक संगठनलाई आरोपहरू लगाउँने र मिडियामा अनाप सनाप बोल्ने गर्दछन् । त्यसलाई मात्र गलत भनिएको छ । राम्रा लेख लेखौं, आ–आफ्ना बिचारलाई प्रवाह गरौं, त्यसबाट आफ्नो छवि जनताको बिचमा राम्रो बनोस्, गालिगलौज र अभद्र सैली अपनाएर आफुले आफैलाई जनतामा जनताका बीचमा नांगो नबन्नु होस् ।

    राम्रा लेख, रचना र सभ्य भाषाको प्रयोग गरौं । हामी कुनै पनि पार्टीको ब्यक्ति भन्दा पहिले एउटा देशको नागरिक हौं । देशको नागरिक भएपछि सामाजिक ब्यक्तित्वको भुमिका निर्वाह गरौं । जसले समाजमा भएका कुरीतिलाई निफन्न सकोस् । त्यसपछि बल्ल कुनै पार्टीको बिचारलाई केलाउँने ठिक वा वेठिक भएको प्रमाण सहित बिष्लेषण गर्ने गरौं, त्यो पनि अनुशासित भएर अध्ययन गरौं । कम्युनिष्ट नै बन्ने हो भने मालेमावादका थुप्रै प्रकाशनहरुको अध्ययन गरौं र देशको अबस्थाको विस्लेषण गरौं । जसले हामीलाई सकारात्मक बिचार पस्किन मद्त गर्नेछ । अरूलाई गलत भन्नु भन्दा पनि आफुलाई जनताको माझमा असल बनेर देखाउँ यहि लेनिनवादी नीति हो ।
    १७ जनवरी २०२२

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार