फासीवादको नयाँ संस्करणः डिजिटल फासीवाद

  • रहस्यात्मक कहानी र तुक्काहरु जति चाँडो फैलिन्छन् त्यति नै लोकप्रिय होइन्छ भन्ने अतिवादीलाई थाहा हुन्छ
  • फासीवादलाई बुझाउन महान इटलीयाली लेखक अम्बेर्टो इकोले १४ बुँदाको व्याख्या गरेपछि धेरै पाठकहरुले सैद्धान्तिक रुपमा फासीवाद के हो भनेर बुझ्न सके। सन् १९२०-१९४० को अवधिमा विकसित इटाली र जर्मनीको फासीवादलाई न्यु रिसर्चले ‘शास्त्रीय फासीवाद’ भनेर व्याख्या गरेको छ। तर अब त्यो शास्त्रीय फासीवाद नयाँ संस्करणमा आएको छ, त्यो भनेको डिजिटल फासीवाद हो।

    डिजिटल फासीवाद
    डिजिटल फासीवादले आफ्ना विरोधीहरुलाई नून खाएको कुखुरो बनाउन घृणा-सन्देशहरु छर्ने गर्छ। यसका लागि त्यसले प्रोपागान्डा म्यासिनरी–इन्टरनेटको साथ पाएकोछ। इन्टरनेट हालसम्म देखिएको सबैभन्दा विशाल प्रचार–संयन्त्र हो। हाल दक्षीणपन्थी अतिवादीले डिजिटल फासीवादलाई सम्पूष्ट बनाउने एक हतियारका रुपमा सफलतापूर्वक प्रयोगमा ल्याएका छन्।

    शास्त्रीय फासीवादको समयताका त्यो सँग प्रोपागान्डा म्यासिनरी भनेका पत्र-पत्रिका, छापा र रेडियोमात्र थिए। शास्त्रीय फासीवादले यति सीमित संयन्त्रमार्फत् आफ्ना घृणा सन्देशहरु छर्दथ्यो तर डिजिटल फासीवादले आफ्ना घृणा सन्देशहरु छर्न पुरानो संयन्त्रका साथै इन्टरनेट माध्यम पाएको छ। यही मार्फत् सामाजिक सञ्जालहरु तयार गरिएका छन्। सामाजिक सञ्जाल भनिए पनि ती सामाजिक रुपमा संगठित भएका हुँदैनन् र वास्तवमा ती असामाजिक सञ्जालहरु हुन्। तिनीहरूलाई मुठ्ठिभर एकाधिकारवादी कर्पोरेसनहरुले फेसबुक, युट्युब, ट्वीटर र अन्य बाँकी सञ्जालहरुमार्फत् सञ्चालन गर्छन्।

    प्रोपागान्डा म्यासिनरी अर्थात् इन्टरनेटले आफ्ना इलेक्ट्रोनिक प्ल्याटफर्महरु दक्षिणपन्थी अतिवादलाई उपलव्ध गराएका कारण डिजिटल फासीवाद संसारका हरेक कुनामा र व्यापकरुपमा विस्तार भइसकेको छ। उदाहरणका लागि फेसबुक जस्ता अनलाइन प्ल्याटफर्म कर्पोरेसनले आफ्नो प्ल्याटफर्ममा कुनै सेन्सर नगरिने र नहुने कुरामा अड्डि लिन्छ। अन्य विशाल एकाधिकारवादी प्ल्याटफर्महरुले पनि त्यसै गर्छन्। अरुको हितलाई ख्यालमा नराख्ने विचार अनुसार, तिनीहरुका प्ल्याटफर्महरु मानिसहरुलाई एकअर्कालाई जोड्ने केवल प्राविधिक उपकरणहरुमात्र हुन्। जब कि ती उपकरणहरुले मानिसहरुबीचको एकतालाई कहिल्यै नजोडिनेगरी शत्रुता बढाइरहेका छन्।

    लोकतन्त्र सिध्याउन इन्टरनेट
    हालसम्म अनलाइनमा वाक स्वतन्त्रता सहितको खुला समाज एकातर्फ छ, अर्कोतर्फ दक्षिणपन्थी अतिवादिहरुको बन्द समाज छ र ती बीच द्वन्द्व छ। जहाँ दक्षिणपन्थी अतिवादिहरुले अनलाइनलाई नै प्रयोग गरेर खुला समाजलाई ध्वंस गरिदिन्छन्। यी कट्टरपन्थीहरु आफैं लोकतन्त्र–विरोधीका रुपमा बदलिन्छन् र जातीवादी मिडियाभन्दा उग्र हुन्छन्। तर यस्तो कुरा कसरी हुनसक्छ भन्ने विषय रहस्य नै छ। यहीसँग मिल्दोजुल्दो हिटलर शासनका प्रचार मन्त्रि जोसेफ गोएबल्सले कुनै बेला भनेका थिए। उनले भनेका थिए, ” यो सदासर्वदा लोकतन्त्र बारेको सबैभन्दा रमाइलो चुट्किला हो कि लोकतन्त्रले आफुलाई सिध्याउने साधन आफैले आफ्ना घातक शत्रुहरुलाई प्रदान गर्‍यो, जसको प्रयोगबाट उसलाई ध्वंश गरियो।” आज लोकतन्त्रले आफ्नो घातक शत्रु (डिजिटल फासीवाद) लाई साधन (उदाहरणका लागि फेसबुक) उपलब्ध गराएकोछ जसलाई प्रयोग गरेर फासिस्टहरुले लोकतन्त्र सिध्याउने छन्। दुर्भाग्यवश यो कुनै चुट्किला होइन।

    यस्तो साधन हात लागेपछि, डिजिटल फासीवादले अभुतपूर्व पहुँच र शक्तिले भरिपूर्ण प्रशस्त समाचार र प्रोपागान्डा प्रणाली निर्माण गर्न सक्षम भएको छ। आज त्यो शक्तिले लोकतन्त्र सामू जोखिम खडा गरेको छ। क्यानडाली एक संचारविद् मार्शल म्याकलुहानको ” माध्यम नै सन्देश हो” भन्ने कथनलाई पछ्याउदै शास्त्रीय फासीवादको आफ्नै माध्यम (समाचार पत्र, रेडियो) थियो र डिजिटल फासीवादले आफ्नै माध्यम (अनलाइन प्ल्याटफर्म)  फेला पारेको छ। इन्टरनेटको उपलब्धताले फासीवाद फेरिएको छ। फलस्वरुप फासीवादले आफ्नो प्रोपागान्डालाई उपलब्धभएका माध्यमहरु अनुरुप ढालेको छ। नयाँ माध्यम प्राप्तिसँगै फासीवाद स्वयं परिवर्तन हुन आवश्यक हुन्छ। त्यसैले शास्त्रीय फासीवाद डिजिटल फासीवादमा रुपान्तरण भएको छ।

    यद्यपि डिजिटल फासीवादका मूल तत्वहरु मुसोलिनीको इटली र फ्र्याङ्कोको स्पेनको शास्त्रीय सिद्धान्तसँग अविच्छिन्न छन्। उदाहरणका लागि सर्वोपरी महत्वको बाह्य मुलुक वा कुनै जातीय धम्कीको त्रास (श्वेत नरसंहार), पुरुष हैकमवाद, उग्र राष्ट्रवाद, बाह्य शत्रु सिर्जना गर्ने प्रवृत्ति शास्त्रीय र डिजिटल दुवै फासीवादमा देख्न सकिन्छ। यसको मतलव फासीवादी प्रोपागान्डा युरोपेली फासीवादको युग (१९२०-१९४०) सँग बाधिएर रहन सक्दैन। तथापी शास्त्रीय फासीवादका दुरप्रभावी तत्वहरु लगभग उस्तै रहिरहन्छन् किनभने निरासाजनक र असन्तुष्टिमय समयमा मानिसहरुको मस्तिष्क र जीवन लगभग उस्तै रहिरहेको हुन्छ।

    फेरिँदै फासीवाद
    जसरी पुँजीवाद एडम स्मिथ र कार्ल मार्क्सको समय भन्दा आज धेरै फेरिएको छ, त्यसरी नै फासीवाद पनि फेरिएको छ। १८ औं शताब्दीको उदारवादी पुँजीवाद औद्योगिक क्रान्तिपछि आम–उपभोक्तावादी पुँजीवादमा रुपान्तरण भएको छ। बेलायती, फ्रान्सेली र अन्य साम्राज्यहरुको पतन, दोश्रो विश्वयुद्धपछि अमेरिकाको प्रभुत्व र युरोपियन युनियनको उदयका कारण सन् १९४०-१९७०को किन्सेली पुँजीवाद नवउदारवादी पुँजीवादमा रुपान्तरण भयो।

    अन्ततः  शास्त्रीय फासीवाद डिजिटल क्रान्तिपछि आफुलाई डिजिटल फासीवादमा रुपान्तरण हुन बाध्य भयो। पुँजीवाद जस्तै फासीवाद पनि एक पटक गरिएको परिभाषित प्रणालीमा बाधिँदैन। समयक्रममा यसले आफ्नो घेरालाई बदल्छ। पुँजीवाद र फासीवाद दुबै पहिले नै सम्पन्न भइसकेका कार्य होइनन् र ती बन्द गरिएका सवाल पनि होइनन्। यसैगरी अर्थ नै नलाग्ने इतिहासको अन्त्यको दावी कहिंले पनि देखिएन। हरेक वाद वा शासन प्रणाली समयसापेक्ष भएर बदलिएका छन्।

    सय वर्ष अगाडि शास्त्रीय फासीवादले गरे जस्तै डिजिटल फासीवादले नयाँ प्रविधिलाई आफ्नो फाइदाका लागि उपयोग गर्छ। जब सिनेमा आयो इटालियाली फासीवादले त्यसलाई उपयोग गर्‍यो, यसरी नै जर्मन नाजीवादले गरेको थियो। शास्त्रीय फासीवाद नयाँ मेसिन: रेडियो माथि भर पर्‍यो। आज त्यसको सन्तान कम्प्युटर, ट्याब्लेट, आइप्याड र मोबाइल फोन माथि भर पर्दैछ।

    यद्यपि फासीवादी प्रोपागान्डाको उदेश्य सधैं उहीँ हुन्छ: त्यो भनेको जनताको मन–मस्तिष्कलाई भ्रमित गर्नु हो। डिजिटल फासीवादले यी नयाँ प्रविधिहरु बढि सफलताका साथ उपयोग गर्दछ किनभने यी ग्याजेटहरुले दक्षिणपन्थी अतिवादीहरुलाई कम खर्च मै आफ्ना घृणायोग्य सिद्धान्तहरु प्रसारण गर्न दिन्छ- नेटमा जोसुकैले पनि जे सुकै पोष्ट गर्न सक्छ।

    हेर्दा नरम ‘फूटपाथे दक्षिणपन्थी अतिवादी’ 
    यससँगै अर्को अर्थपूर्ण परिवर्तन पनि भएको छ। डिजिटल फासीवादले सबैलाई समान स्तरमा रहेको महशुस गराउँछ– कोही माथि हुकुम दिने कोहि छैन, जबकि शास्त्रीय फासीवादलाई चमत्कारी र निर्दयी नेताहरु चाहिन्थ्यो। आज कुनै पनि फूटपाथे दक्षिणपन्थी अतिवादीले  षड्यन्त्रका रोमाञ्चक कथा, भ्रम, उखान तुक्का तथा आख्यान, वैकल्पिक तथ्यहरु – एक शब्दमा भन्दा प्रोपागान्डा- सामाजिक सञ्जालमा पोष्ट्याउन सक्छ। अहिले आएर डिजिटल फासीवादलाई कुनै केन्द्र वा राजधानी, श्रेणीगत र ठाडो ढाँचामा संगठित हुकुम वा निर्देशन दिने संयन्त्रको आवश्यकता पर्दैन। अचेल लेनि राइफेन्स्टाह्ल नै चाहिदैन। (लेनी राइफेन्सटाह्ल : जर्मन फोटोग्राफर, फिल्म डाइरेक्टर र कलाकार जसले नाजी प्रोपागान्डा सामाग्री (डक्युमेन्ट्री, फिल्म) उत्पादनमा महत्वपुर्ण योगदान गरिन् । उनले उत्पादन गरेको फिल्मलाई नवीन र प्रभावकारी मानिन्छ।

    डिजिटल फासीवाद तेस्रो पक्षको नियन्त्रण (third party control) बिना नै सञ्चालित हुन्छ। यसको सञ्चालनका लागि कुनै सम्पादक, उप-सम्पादक, समाचारपत्र, रेडियो सञ्चालक कोहीको पनि आवश्यक पर्दैन। अर्को शब्दमा भन्नू पर्दा डिजिटल फासीवाद स्व- प्रबर्द्धनमा लिप्त झुट र गलत समाचारको प्रसारण कक्ष हो। यो “आफु स्वयंलाई प्रसारण गर”  भन्ने युट्युबको प्रसार–नारालाई अधिकतम उपयोग गर्ने सिकारु दक्षिणपन्थीहरुद्वारा परिचालित हुन्छ। कुनै “साइवर सेना” ले नै दिग्गज समूह वा व्यक्तित्वलाई हराभरा खेलाइदिन सक्छ।

    निश्चय नै, सम्पादन बिना, तथ्य जाँचपड्ताल बिना र – दायाँबायाँ नगरिकन भन्दा पत्रकारिता बिना- डिजिटल फासीवाद राजनीतिक अर्धसत्य, वकवास, आकस्मिक गलत सुचना, जानाजान गलत सुचना, कुनै जाति वा समुदायप्रति घृणाभाव, हल्ला, उखाने घोचपेच, घृणा अभियानहरु, झुठ, बेतुकको प्रलाप र कुख्यात षड्यन्त्रका सिद्धान्तहरु (जो वास्तवमा कुनै “सिद्धान्त ” नभएर षड्यन्त्रका रोमान्चकारी कल्पना हुन्)  द्वारा पालित पोषित हुन्छ। यी सब हल्लाहरुले डिजिटल फासीवादको सुचनायुद्धलाई सहयोग पुर्‍याउँछ जसमा डिजिटल फासीवादको अन्तिम शत्रु : मुलधारका मिडिया विरुद्ध रेटिङ युद्ध (टिआरपि) जित्न बनावटी बकवासलाई तथ्यहरुका विरुद्ध उभ्याइन्छ।

    कपोलकल्पित शत्रुबिना बाँच्दैन फासीवाद
    शास्त्रीय र डिजिटल दुबै फासीवाद “कपोलकल्पित कुनै” शत्रु बिना अस्तित्वमा रहन सक्दैनन्। यसले कुनै न कुनै एक मुलुक, जातीय समुह वा व्यक्तिलाई शत्रुको रुपमा उभ्याउछ। शत्रु सम्बन्धी सोचले डिजिटल फासीवादको प्रतिध्वनी कक्षलाई थप मजबुत बनाउछ, जसभित्र अनुमति प्राप्त एकमात्र विचार भनेको सबै फासीवादहरुको अन्तिम लक्ष्यलाई सहयोग गर्नु मात्र हो।

    डिजिटल फासीवादको प्रतिध्वनि कक्षमा असंगत विचार, विश्वास, वा मनोवृत्तिहरुले राम्ररी काम गर्दछन्। पुरानो र नयाँ फासीवादलाई तथ्यहरु आवश्यकता पर्दैनन्, उनीहरु उखानतुक्का र कथाका आधारमा हरेक कुरालाई व्याख्या गर्छन्। तिनीहरु फासीवादको सिद्धान्त प्रतिको निष्ठामाथि भर पर्छन्। त्यो सिद्धान्तसँग मेल नखाने तमाम कुराहरुलाई छद्मभेषी वा देशीविदेशीको सल्लाह वा मत  भनी बदनाम गरिन्छ। यस सिद्धान्तमा जन–निर्वाचितहरुको अधिनमा नरहेको नोकरशाहितन्त्र हावी भइरहेको हुन्छ।

    दक्षिणपन्थी पपुलिज्मले जस्तै डिजिटल फासीवादले पनि आम मानिसलाई दक्षिणपन्थी पपुलिज्म र डिजिटल फासीवादीले “कुनै” संस्थापन मिडिया–संचारले उपमा दिएको कुनै अदृष्य सम्भ्रान्तलाई आफ्नो विरुद्ध खडा गर्छ।उनीहरु र उनीहरुका छेपारे नेताहरुलाई छाडा छाड्ने हो भने राजधानीका कुनै बार–रेष्टुर्‍यान्टहरुमा कसैलाई सुपारी दिन वा नानीहरूलाई अपहरण गर्न तयार बसेका हुन्छन्। डिजिटल फासीवाद स्थापित मिडिया जसरी कुनै सम्पादकीय कक्ष(माथि)बाट  सञ्चालित हुँदैन। बरु यसले आफुलाई जनस्तरको आन्दोलनका रुपमा प्रस्तुत गर्छ, र चर्को जनअभिमतको कुरा गर्छ। अत: डिजिटल फासिवादको जनपरिचालनको सिद्धान्त भूमिगत हुन्छ। यसका चालकहरु भूमिगत गिरोहका रुपमा संचालित भएका हुन्छन्।

    डिजिटल फासीवादको प्रोपागान्डामा मुसोलिनिको शास्त्रीय फासीवादको जस्तो एकमना पार्टी सिद्धान्तको कमी छ। यसकारण डिजिटल फासीवादको प्रोपागान्डा विभिन्न विश्व दृष्टिकोणका टुक्राटाक्री, सोचबेगरका मतहरु, झर्कोलाग्ने धारणाहरु र खोक्रो दक्षिणपन्थी विचारहरुद्वारा निर्मित हुन्छ। एकमना पार्टी सिद्धान्त नभएपनि विभिन्न प्रकारका मानिसहरुलाई डिजिटल फासीवादको घेराभित्र ल्याउने सकिने अवस्था हुन्छ। यसले मूलरुपमा तीनवटा मञ्चहरु मार्फत काम गर्छ:

    • दक्षिणपन्थी वेभसाइटहरुका चक्रव्युह
    • आकर्षक वस्तुहरु, सङ्गीत, पहिरन आदि उपहार दिने व्यापारिक अनलाइनका  वेभसाइटहरु र
    • अनलाइन छलफल मञ्चहरु।

    यी मध्ये धेरैजसो संचारका मञ्चहरुको प्रमुख लक्ष्य गैह्र–राजनीतिक जनताहरुलाई दक्षिणपन्थी सिद्धान्तहरुको घेराभित्र डोर्‍याउनु हो। कुरा प्रष्ट छ कि सोझा जनताहरुलाई मुलधारको संचार नजिक पुग्नै नदिनु हो। यस्तो विशाल ब्ल्याक होलभित्र तानिएका मानिसहरु ह्रिंसक शुन्यतामा रुमल्लि रहन्छन्। धेरैजसो यस्ता अनलाइन सञ्जालहरु उग्रता फैलाउने यन्त्र जसरी काम गर्छन्। डिजिटल फासीवादका सञ्जालहरु अवोध जनतालाई दक्षिणपन्थी अनलाइन च्याट ग्रुपहरु (साइवर सेना) र फेक– न्यूज साइटहरु भित्र, झन भित्र तान्ने गरि रचना गरिएका हुन्छन्। उनीहरु यस्तो चक्रव्यूहमा  फस्छन् कि निस्कने कुनै बाटो नै देखिदैन। कुनै नेता छैन, कुनै लक्ष्य छैन, केही पनि छैन, तर यो गञ्जागोलमा कुनै कुनामा कसैले अकुत पैसा कमाइरहेको हुनेछ।

    शास्त्रीय फासीवादले त्यस युगमा आफ्नो गन्तव्य स्थान देखाएको थियो। यसले जातीय शुद्धताको विश्व बनाउने हाकाहाकी भन्दथ्यो। तर डिजिटल फासीवाद यस मामलामा फरक छ। डिजिटल फासीवादको युगमा दक्षिणपन्थी अतिवादले हामी कहाँ जाँदैछौं भनेर कहिल्यै बताउदैन। कहिले दर्शकलाई उत्तर देखाउछ कहिले दक्षिण देखाउँछ। डिजिटल फासीवादका सन्त महात्माहरुले रमाइला खेलहरु, सन्देश बिनाका सल्लाह दिने वेभसाइटहरु, सामान्य रोमान्चक षड्यन्त्रका कथाहरु जनबोलीमा बेच्न ल्याउछन्। यो निरुद्धेश्य र गन्तव्यरहित कारणले डिजिटल फासीवादलाई शास्त्रीय फासीवादबाट छुट्याउछ।

    प्रत्येक युगको आफ्नै फासीवाद हुन्छ
    फासीवाद बारेका महान चिन्तकहरु मध्ये एक नाजीका मृत्यु क्याम्पबाट फर्केका इटालीका प्रिमो लेभी हुन् र उनी उपन्यासहरु र छोटा कथाका लेखक हुन्।  उनले एकपटक भनेका छन् कि, ” प्रत्येक युगको आफ्नै फासीवाद हुन्छ।” एक औषधि ब्यवसायीका रुपमा उनले फासीवादका तत्वहरु स्पष्ट किटान गरेका छन्। उनका अनुसार कम्तिमा पनि तीनवटा यस्ता तत्वहरु छन् जो फेरिदैनन्:

    • पश्चिमको अधोगति, श्वेत नश्लको अन्त्य, अविकसित क्षेत्रहरुबाट जनताको प्रवेश हुने अवस्था। जसलाई मुलुक वा जातिको अस्तित्व, ऐतिहासिकता र राष्ट्र माथिको संकटको रुपमा चित्रण गरिन्छ।
    • संगठित झुठ। या उग्र वा निन्दाजनक ब्यवहारवाद भन्न सकिन्छ, जसले सत्यलाई डिजिटल फासीवादको सेवार्थ बङ्ग्याउन र तोडमरोड गर्न मिल्छ भनेर बुझ्दछ।
    • यो सब गर्दागर्दै पनि डिजिटल फासीवादले संसद भित्रको राजनीतिलाई प्रभावित गर्न जनआधारित राजनीतिक आन्दोलनको सेवा गर्छ। उदाहरणका लागि जर्मनीको एएफडि, बेलायतको युकेआईपी, हङ्गेरीको फिडेज, मोदिको बिजेपि, ग्रिसको क्रिस आभ्गी र अमेरिकामा ग्राण्ड ओल्ड पार्टी (रिपब्लिकन पार्टी) को कुनै हिस्सा, आदि।

    डिजिटल फासीवादका लागि यी माथिका तीनवटा तत्वहरुले साथसाथै  मिलेर काम गर्छन्। डिजिटल फासीवादको इन्टरनेट पक्ष र त्यसको राजनीतिक पक्षका साथै संसदीय पक्ष एकआपसमा जोडिएका हुन्छन्। उनीहरु एकआपसमा कति साह्रो जोडिएका हुन्छन् भन्ने कुरा ६ जनवरी २०२१ का दिन वासिङ्टनको क्यापिटोलमा भएको घटनाले स्पष्ट देखाउछ।

    अमेरिकी क्यापिटोल माथिको धावा बोल्ने जस्ता अलोकतान्त्रिक र अर्ध-फासीवादी विचारहरु स्वीकारयोग्य हुनुमा डिजिटल फासीवादले फासीवादी सिद्धान्तहरुका टुक्राटाक्री विचारहरुले मात्र होइन, एकमना सिद्धान्त नहुनु, रणनीतिक नेतृत्वको अभाव र फासिवादी पार्टी आधार नहुनुका कारणहरुले  हो। र, यी कारणहरुले डिजिटल फासीवाद बनेको हो। यो डिजिटल फासीवाद प्राविधिक मञ्चहरु मार्फत बाँच्दछ र त्यस्ता मन्चहरुमा दक्षिणपन्थी विचारहरुमात्र आदानप्रदान गरिदैन, लोकतन्त्र विरोधी कामहरुको समेत संयोजन गरिन्छ।

    अनलाइन समर्थक मार्फत् डिजिटल फासीवाद
    यस्ता कार्यले डिजिटल फासीवादलाई भिन्न देखाउँछ। यसमा ग्याङ वार गर्न तयार गरिएको जब्बर फासीवादी संगठनको भन्दा अनलाइन प्ल्याटफर्महरुको प्रभुत्व बढि भएको देखाउँछ। डिजिटल फासीवादका लागि इटालीका काला र जर्मनीका खैरा कमेज लगाउने तात्कालिन फासीवादी अर्धसैनिक जस्ता दस्ताहरुको आवश्यकता पर्दैन। यो सुरुमा मुसोलिनीले सन् १९१९ मा गठन गरेको फासीवादी संगठन जसरी संगठित छैन। शास्त्रीय फासीवादबाट डिजिटल फासीवादमा भएको रुपान्तरणले आजको आन्दोलनको केन्द्रलाई मात्र बदलिएको छैन बरु त्यस वरपरको वातावरणलाई पनि फेरबदल गरेको छ। डिजिटल फासीवाद अनलाइन समर्थक मार्फत् फैलिन्छ।

    कथा तुक्का वाचन कला शास्त्रीय फासीवादलाई भन्दा डिजिटल फासीवादका लागि महत्वपुर्ण हुन्छ जसले जनतालाई दक्षिणपन्थी प्ल्याटफर्म प्रति लठ्ठ बनाउछ। यस्ता कथाहरुले सत्य र तथ्यलाई भन्दा भावनात्मक कथालाई प्राथमिकता दिन्छन्। छोटकरीमा सफल दक्षिणपन्थी अतिवादी कुराकानी गर्न सिपालु हुनुका साथै उसले दक्षिणपन्थी केन्द्र र लक्षित असँगठित स्रोतामाझ विश्वास स्थापित गर्ने क्षमता राख्नुपर्छ। सनसनीखेज र रहस्यात्मक कहानी र तुक्काहरु जति चाँडो टाढा-टाढा सम्म फैलिन्छन् त्यति नै लोकप्रिय होइन्छ भन्ने अतिवादीलाई थाहा हुन्छ। उसले सफलता यसबाट मापन गर्छ।

    यस्तो विश्वाशमा वास्तविकता पछाडि धकेलिन्छ र नश्लीय शुद्धता, राष्ट्रिय पुनर्जन्म जस्ता भ्रामक मत सहित मिथकीय कथाहरु अगाडि आउछन्। फासीवादी कथा बाचनले दक्षिणपन्थी सिद्धान्तसँग मेल खाने कथाहरु छान्दै फासीवादको पक्ष नलिनेहरु कुनामा पुर्‍याउने काम गर्छ। प्रणालीले रचनात्मक विवेचनाको माग गर्दछ र हल्ला र षड्यन्त्रका कल्पनाहरुको सङ्ग्रालय बनाउँछ। प्रारम्भमा डिजिटल फासीवादलाई काम लाग्ने कथा तथा तुक्काहरु फेसबुकबाट जति नै स्थानीय संचारबाट प्राप्त हुनसक्छन्। मुख्य कुरा दक्षिणपन्थी कथा वाचकले त्यस्ता कथा तुक्कालाई आधुनिक फासीवादलाई सुहाउने गरि रुपान्तरण गर्छन्।

    स्थानीय उखान तुक्का र फासीवाद
    स्थानीय उखान तुक्का चयन गर्ने र त्यसलाई दक्षिणपन्थी सिद्धान्तमा ढालेर अनलाइन प्ल्याटफर्म मार्फत द्रुतगतिमा टाढा-टाढासम्म फैलाउने क्षमता तुलनात्मक रुपमा सजिलो भएको छ। आज दक्षिणपन्थी वेभसाइट, समाचार समुहहरु र असन्तुष्ट ब्यक्तिसम्म इन्टरनेटको यात्रा निश्चय नै छोटो बनेको छ। डिजिटल फासीवादको पदार्पण पछि स्थानीय समाचारपत्र, रेडियो स्टेसन र टेलिभिजन च्यानलहरु जस्ता स्थापित उपायहरुलाई तत्कालै उपयोग गर्न सकिने विभिन्न प्रकारका सामाजिक सञ्जालहरुले विस्थापित गरिदिएका वा किनारा लगाइदिएका छन् ।

    मानिसहरुको अन्य कुराहरु भन्दा बढि सन्सनिखेज र नकारात्मक कथाहरु पढ्ने, पोष्ट गर्ने, ट्विट गर्ने, पुन ट्विट गर्ने प्रवृत्ति हुन्छ। यो तथ्यले सिङ्गो संरचनालाई व्यवस्थित गर्न सहयोग पुर्‍याउँछ। ठिक यहि कुरा तथ्य भन्दा भावनामा आधारित तथ्यहरुलाई नाटकीय बनाउने कथाहरुमा पनि लागू हुन्छ। सन्सनीपुर्ण र नकारात्मक कथाप्रतिको झुकावले झन् उग्र दक्षिणपन्थी कथाहरु तर्फ डोर्‍याउँछ जब ती कथाहरुको विषयवस्तुलाई बढी मनमोहक बनाएर प्रस्तुत गरिन्छ। डिजिटल फासीवादले दक्षिणपन्थी सानो आकारका पत्रिकाहरुको झझल्को दिन्छ। दक्षिणपन्थी साना आकारका पत्रिका र रेडियो कार्यक्रमबाट प्रसारित पुर्वाग्रह, विदेशी प्रतिको घृणा, जातिवादलाई थप बल पुर्‍याउन डिजिटल फासीवादले प्रायस अनलाइन प्ल्याटफर्महरु प्रयोग गर्छ।

    यसका लागि स्थानीय मिडियामा छापिने अपराध, क्रुर,र हिंसाका वारदातका कथाहरु ज्यादै उपयुक्त हुन्छन्। यी कथालाई सन्दर्भ बनाएर फासीवादको सेवार्थ उस्तै कथा  निर्माण गर्न सकिन्छ। जसबाट श्रोताको सोझो मनलाई लठ्याउन सकिन्छ। यस्ता सामाग्रीले युवाहरुलाई भन्दा बृद्ध र प्रायस पुरुष श्रोताहरुलाई डिजिटल फासिज्मको घेराभित्र पुर्‍याउँछ।

    यी मानिसहरुमध्येको ठूलो हिस्सा अनलाइन संचार प्रारम्भ हुनुभन्दा पहिल्यै हुर्कीसकेको थियो। उनीहरु उदाहरणका लागि फेसबुकका पोस्टहरु कति आधिकारिक हुन् भन्नेबारे कम जानकारी हुन्छ। उनीहरु अनलाइनमा आफुले देखेको वा पढेको कुरामा बढि विश्वास गर्छन्। पहिले उनीहरु आफ्ना स्थानीय समाचारपत्रहरुलाई विश्वास गर्थे, अहिले उनीहरु फेसबुकमा जे देख्छन् त्यसैमा विश्वास गर्छन्। छानेर पढ्ने कला र आलोचनात्मक सोचाई उनीहरुमा विकसित हुन नै पाउदैन।

    छोटकरीमा, अनलाइन प्ल्याटफर्म डिजिटल फासीवादको इञ्जिन कोठा हो। तिनका अभावमा डिजिटल फासीवाद बाच्नै सक्दैन। परिष्कृत दक्षिणपन्थीका लागि बि जे फगले भनेको जस्तो “मनाउने प्रविधि (persuasion technology) अर्थात् मानसिक लत अनुरुपको आकर्षक पेज राखेर अनलाइन प्ल्याटफर्म निर्माण गर्न सकिन्छ। पृष्ठभूमिमा अनलाइन प्ल्याटफर्मका एल्गोरिदमहरु चलायमान हुन्छन्।

    सनसनीखेज र फासीवाद

    यी गरीवीका समस्याहरु र असमतालाई व्यापक पार्ने गोलाबारुद हुन्। यिनीहरुले समाजका प्रमुख समस्याहरुलाई गोलाका धुँवामा धुमिल बनाइदिन्छन्। तिनले सबैभन्दा सनसनीखेज सतही विषयलाई अघि बढाउछन्। राक्षसले सबैभन्दा जघन्य दुर्गन्धित झुठ, सबैभन्दा घृणित विषयवस्तु, सबैभन्दा अश्लिल चित्र र सबैभन्दा सनसनीखेज कथा अगाडि सार्छ।

    सुचना ओभरलोड र ध्यान तान्न सक्ने शिर्षकको बोलाबाला भएको विश्वमा डिजिटल फासीवादले यस्तै सामाग्रीलाई ग्राह्यता दिन्छ। सबैभन्दा क्रुर विषयले समाजलाई समर्थक र विरोधी, दुई हिस्सामा बाडिदिन्छ। यसले डिजिटल फासीवादको समाजलाई ध्रुवीकरण गर्ने स्वार्थ पुरा गर्छ। एउटा समुहलाई अर्को समूह विरुद्ध उभ्याउन सफल हुन्छ।

    शास्त्रीय फासीवाद जस्तै डिजिटल फासीवाद पनि आम जनमानसलाई दुरुपयोग गरेर बाँच्दछ। लोकतान्त्रिक समाजका सचेत संचार माध्यमहरुले फासीवादको लक्ष्य विरुद्ध काम गर्छन्। त्यसो हुनाले तिनलाई तुरन्तै “जनताका शत्रु” घोषणा गरिन्छ। यसपछि मूलधारको पत्रकारिता ध्वस्त हुन्छ। र डिजिटल फासीवादको सत्यतथ्य पछिको युग सुरु हुन्छ। लोकतान्त्रिक समाजमा अन्तत: सत्यको जित हुन्छ भन्ने धेरै पुरातन उदारवादीहरुमा जोडदार भ्रम छ। तर यसको विपरित शास्त्रीय फासीवादले लोकतान्त्रिक समाजलाई ध्वस्त पार्न स्वतन्त्र प्रेस र रेडियोका सदाचारको उपयोग गरेको कुरा उनीहरुले विर्सिएका छन्।

    ६ जनवरी २०२१ को क्यापिटल हलको शुरुवाती चाल असफल भएता पनि अहिलेका डिजिटल फासीवादिहरु पनि ठिक त्यहि गर्ने तयारीमा छन्। हङ्गेरी, पोल्यान्ड र म्यानमार जस्ता अन्य मुलुकहरुमा फासिष्टिकरण प्रकृयाले सुस्त आकार लिन थालिसकेको छ ।
    शास्त्रीय देखि डिजिटलसम्मका फासीवादको शक्ति भनेको उसले आफ्नै छद्म वास्तविकता निर्माण गर्नसक्ने क्षमता हो। सन् १९२० मा इटलीको फासीवादले पुँजीवादको लागि खतराको रुपमा रहेको श्रमिक वर्गलाई ध्वस्त बनायो; १९३० को दशक र १९४० को दशकका सुरुवाती वर्षमा जर्मन नाजीवादले कुनै न कुनै दिन यहुदीहरुले विश्वमा प्रभुत्व जमाउनेछन् भन्ने षड्यन्त्रको कल्पनाका आधारमा यहुदीहरुको कत्लेआम गर्‍यो। २०१६ मा त्यसले पिज्जागेट (१९१६ अमेरिकी चुनावताका डेमोक्रयाटिक पार्टीका केही उच्चतहका नेताहरु मानव तस्करी र बाल यौन दुराचारमा संलग्न छन् भन्ने ईमेल धेरै उच्चपदस्थ अधिकारीहरु माझ फैलाइएको घटना) घटायो; र २०२१ जनवरीमा अमेरिकाको क्यापिटोल माथि धावा बोल्यो। यी सबै घटनाहरु त्यसले स्विकारेको राष्ट्रिय र जातीय जिम्मेवारी अन्तरगत घटाइएका थिए।

    “ग्यासलाइटिङ”
    डिजिटल फासीवादले “ग्यासलाइटिङ” पनि प्रयोग गर्छ। ग्यासलाइटिङ भनेको मानिसहरुलाई अल्मल्याएर उनीहरुलाई आफु पागल भएको विश्वास दिलाउन लक्षित चालवाजी अपनाउनु हो। सुरुमा यो शब्द प्याट्रिक ह्यामिल्टनको १९३८ को नाटक ग्यासलाइट मा र त्यसको लगत्तै १९४४ मा त्यही नामको फिल्ममा देखा परेको थियो। उक्त कथामा एक चालबाज श्रीमानले अनेकौं चाल चलेर आफ्नी सोझी श्रीमतीलाई आफु पागल बन्दैछु भनी विश्वास दिलाउछ ताकि उसले श्रीमतिको सम्पत्ति माथि रजाइँ गर्न सकोस्। त्यो अमेरिकी मनोवैज्ञानिक जासुसी सिनेमा जर्ज क्युकोरले निर्देशन गरेका थिए र इन्ग्रिड बेर्गम्यानले खेलेकी थिइन्। त्यो नाटक र फिल्मको प्रख्यातीले उक्त शब्द एउटा मनोवैज्ञानिक अवस्थालाई इङ्गित गर्ने शब्द बन्यो। यसैलाई प्रयोग गरेर एक नेताले, सरकारले वा एक गोप्य शत्रुले जनतालाई अल्मल्याउँछ जसले गर्दा उनीहरु के कुरामा विश्वास गर्ने र के कुरामा विश्वास नगर्ने भनेर सशंकित बन्दछन्। वास्तविकता के हो भन्ने बुझाई कमजोर बन्दछ। वास्तविकता माथिको विश्वास पुर्णरुपले नष्ट हुन्छ र दक्षिणपन्थी झुठ, फेक न्युज, षड्यन्त्रका रोमाञ्चक कथाहरु र अन्ततः फासीवादी प्रोपागाण्डाले पूरै मैदान कव्जा गर्दछ।

    निश्चय नै एकपटक वास्तविकता माथिको विश्वास धर्मराए पछि र क्षीण बनिसकेपछि गुणस्तरीय संचारलाई पनि नजरअन्दाज गर्न सकिन्छ जसले गर्दा “ग्यासलाइटिङ” का सिकार भएका मानिसहरुलाई मूर्ख बनाइएको हुन्छ। त्यस्ता पाठकहरु र श्रोताहरुलाई बेतुकका समाचार र छेउ न टुप्पाको ज्ञान र भ्रामक कुराहरुमा अलमलिन पुग्छन्। तिनीहरु रहस्यपूर्ण र सनसनीखेज ज्ञान र जानकारी लिन दक्षिणपन्थी प्ल्याटफर्महरुमा पुग्छन्। र ती प्ल्याटफर्महरुले हरेक जटिल समस्याका सरल समाधानहरु सम्भव लाग्ने कल्पनाहरु बेच्दछन्।

    “फेक न्यूज”
    ती पिडित जनताहरु “माथि बसेकाहरु” (पर्दा पछाडिका, कुनै अमूक गिरोह) ले आफुहरुलाई धोका दिएको र सरकार तथा मूलधारका मिडियाका आधिकारिक सूचना झुठा हुन् भन्ने विश्वास गर्न बाध्य बनाउछ। जस्तो कि अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प हरदम “फेक न्यूज, फेक न्यूज, फेक न्यूज” भन्दै बरबराउथे।

    यति गरिसकेपछि डिजिटल फासीवादको पदार्पण हुन्छ। ‘यस्ता प्ल्याटफर्म र स्रोताहरु हाता लागेपछि डिजिटल फासीवादले सुचना- युद्ध लगभग जितिसक्छ’ भनी माइक फेइलिट्ज डिजिटल फासीज्ममा लेखेका छन्। ६ जनवरी २०२१ मा यु एस क्यापिटोलमा जे भयो त्यो डिजिटल फासीवादको पहिलो विजय थियो। संसारका धेरै स्थानमा धेरै शासक गिरोहले यसलाई अनुकरण गरिरहेका छन्। त्यसको भद्दा नक्कल अरु स्थानमा निश्चय आउनेछन्।

    साभारः १८ फरवरी २०२१ मा काउञ्टर पञ्चमा प्रसारितबाट अनुदित।

    थोमस किल्काउर  एक लेखक हुन्। उनका करीव ५५० वटा कृतिहरु प्रकासित छन्।   एएफडीबारे एक पुस्तक चर्चित छ।
    नरम्यान सिम्स  एक बौद्धिक व्यक्तित्व हुन्। उनी न्युजील्याण्डमा बस्छन्। केयन  लेख र पुस्तकहरूका लेखक अनलाइन पत्रिकासमेत सम्पादन गर्दछन्।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार