अध्ययनको स्तरलाई माथि उठाउनुपर्छ

कम्युनिस्ट पार्टीले आफ्ना सदस्यको स्तर माथि उठाउन योजनाबद्ध ढङ्गबाट प्रयत्न गर्ने गर्दछ । त्यसका लागि सैद्धान्तिक प्रशिक्षण तथा स्वाध्ययन महत्वपूर्ण माध्यम हुन् । कम्युनिस्टहरूले समाजलाई बुझ्न अध्ययनमा जोड दिनुपर्दछ । हामीले अध्ययनमा जोड दिनुको तात्पर्य नै प्राप्त ज्ञानको आधारमा समाज परिवर्तनका लागि काम गर्नु हो । जति जति हाम्रो अध्ययनको स्तरमा वृद्धि हुँदै जान्छ, त्यति नै समाज परिवर्तनप्रति हाम्रो सही समझदारी र दृष्टिकोण निर्माण हुँदै जान्छ ।

माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन तथा माओ जस्ता माक्र्सवादका प्रवर्तकहरूले कम्युनिस्ट पार्टीका सदस्यको दृष्टिकोण क्रान्तिकारी बनाउन अध्ययनमा निकै ध्यान दिनुका साथै जोड दिएको पाइन्छ । अध्ययनको सवालमा कार्ल माक्र्स, एङ्गेल्स तथा लेनिनको जीवनशैली निकै अनुकरणीय रहेको छ । उनीहरूले अध्ययनलाई आफ्नो जीवनशैली बनाएका थिए । अध्ययनको सवालमा उनीहरूले अपनाएको जीवनशैली हाम्रा लागि प्रेरणाको स्रोतको रूपमा काम गर्ने गर्दछ । माओले पनि अध्ययनमा निकै जोड दिने गर्नुहुन्थ्यो । अध्ययन र व्यवहारबिचको द्वन्द्वात्मक सम्बन्धमाथि माओले बारम्बार जोड दिएको पाइन्छ । अध्ययनको उद्देश्यलाई क्रान्तिकारी आन्दोलनसँग जोड्ने प्रयत्न गरेको पाइन्छ ।

लेनिनले क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी आन्दोलन अगाडि बढ्न नसक्ने बताएका छन् । लेनिनले क्रान्तिकारी आन्दोलन अगाडि बढाउन क्रान्तिकारी सिद्धान्तमा दीक्षित हजारौँ कार्यकर्ताको आवश्यकता पूर्ति गर्न सैद्धान्तिक पक्षको अध्ययनमा जोड दिएको पाइन्छ ।

क्रान्तिकारी सिद्धान्तले लैस नभएका नेता कार्यकर्ताले क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न सक्दैनन् । अझ लेनिनले अध्ययनमा जोड दिँदै भनेका छन् : कुनै व्यक्ति दर्शनको अध्ययन नगरिकन सच्चा कम्युनिस्ट बन्न सक्दैन अर्थात् कम्युनिस्ट हुनका लागि दर्शनको अध्ययनलाई सर्त बनाइएको छ ।

माक्र्सले विराट पैमानामा अध्ययन नगरेको भए पुँजीवादका विरुद्ध लड्नका लागि सर्वहारा वर्गलाई माक्र्सवाद जस्तो वैचारिक हतियार प्राप्त हुन सक्दैनथ्यो । माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन तथा माओको अथकित अध्ययनको परिणाम नै माक्र्सवादको जन्म, विकास तथा प्रयोग भएको पाइन्छ ।

माक्र्सवादभित्र ज्ञानको विपुल भण्डार रहेको छ । माक्र्सवादभित्र रहेको विपुल ज्ञानको भण्डारलाई अध्ययन गरी त्यसलाई क्रान्तिका निम्ति प्रयोग गर्न सक्दैनौँ । क्रान्तिलाई सफलतासम्म पुर्याउनका लागि माक्र्सवादको आफ्नो मुलुकको वस्तुस्थितिअनुसार प्रयोग गर्न दक्षता प्राप्त गर्न माक्र्सवादी सिद्धान्त तथा आफ्नो मुलुकको वस्तुस्थितिको ज्ञान तथा अध्ययन हुनु नै पर्दछ ।

माक्र्सवाद तथा आफ्नो मुलुकको वस्तुस्थितिको सम्बन्धमा सही अध्ययनको अभावमा कैयौँ क्रान्ति असफलतामा टुङ्गिएका छन् । त्यस प्रकारका कैयौँ उदाहरण नेपालसहित विश्वका कैयौँ मुलुकमा पाइन्छ । रुसमा नारोदनिकहरूलाई रुसको अवस्थाको बारेमा सही समझदारी वा अध्ययनको अभाव थियो । त्यसको परिणाम नरोदनिकहरूले माथिल्लो स्तरमा विकास गरेको आन्दोलन हिंसात्मक हुँदै अन्तमा असफलतामा परिणत भएको थियो ।

क्रान्तिको सफलताका लागि अध्ययनको महत्वमाथि जोड दिँदै माओले “पार्टीको कार्यशैली सुधार” सम्बन्धी लेखमा भनेका छन् : “आफूसँग एउटा क्रान्तिकारी सिद्धान्त नभइकन, इतिहासको ज्ञान नभइकन र व्यावहारिक आन्दोलनलाई गहन रूपले नबुझिकन कुनै पनि राजनीतिक पार्टीले एउटा महान् क्रान्तिकारी आन्दोलनलाई विजयसम्म डोहर्याउनु असम्भव छ ।”

माओको उक्त भनाइबाट पनि क्रान्तिको सफलताका लागि अध्ययनको कति ठुलो महत्व रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । शत्रुको तख्ता पल्टाउने अभिभारा पूरा गर्नका लागि अध्ययन शैलीमा सुधार गर्नैपर्छ भनेर माओले जोड दिएको पाइन्छ । माओले हमेसा क्रान्तिका लागि पार्टीको कार्यशैली सच्याउनुपर्ने कुरामा जोड दिँदा अध्ययन शैलीलाई पार्टीको कार्यशैलीको अभिन्न अङ्गका रूपमा अगाडि सारेको पाइन्छ ।

त्यति मात्र नभएर आफ्ना सदस्यको स्तर माथि उठाउन माओले अध्ययनसम्बन्धी आन्दोलन नै सञ्चालन गरेका थिए । माओले चीनमा पार्टीभित्र सञ्चालन गरेको शुद्धीकरण आन्दोलनमा अध्ययनलाई पनि एउटा सर्त बनाएका थिए । त्यसका साथै माओले अध्ययनलाई व्यवहारसँग जोड्नुपर्ने कुरामा पनि बारम्बार जोड दिएका छन् । माओले किताबको आधारमा मात्र समाज विज्ञानको अध्ययन गर्नु बढी घातक हुन सक्ने, त्यसले प्रतिक्रान्तिको बाटोमा डो¥याउन सक्नेसमेत खतरा औँल्याउँदै अध्ययनलाई व्यवहारसँग जोड्नुपर्ने बताएका छन् । उपर्युक्त सङ्क्षिप्त विवरणबाट माओले अध्ययनलाई कति महत्व दिनु हुन्थ्यो ? प्रष्ट हुन्छ ।

माक्र्सवादका प्रतिपादक कार्ल माक्र्सले अध्ययनमा जोड दिनुका साथै अध्ययन गर्ने द्वन्द्वात्मक प्रणालीसमेत उपलब्ध गराउनुभएको छ । अध्ययनको क्षेत्रमा प्रयोग गरिने द्वन्द्वात्मक प्रणालीले अध्ययन कसरी गर्ने ? त्यसबारे गम्भीर दिशाबोधसमेत गरेको छ । उहाँले आजीवन अथकित रूपमा अध्ययन, अनुसन्धानमा जोड दिनुभयो । अध्ययनप्रति माक्र्सको कति ठुलो लगाव थियो भन्ने कुरा थाहा पाउन उहाँका केही भनाइ तथा कार्यलाई दृष्टान्तको रूपमा यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुने छ ।

१८६५ अप्रैल १० मा माक्र्सले लेखेको स्वीकारोक्तिमा आफ्नो प्रिय पेसा “किताबी किरा” बन्नुलाई बताएका छन् । त्यसबाट पनि माक्र्समा पुस्तकमा ठुलो लगाव र उत्साह थियो भन्ने कुरा प्रस्ट हुन्छ ।

अध्ययनका लागि सङ्कलित विविध सामग्रीलाई माक्र्सले आफ्नो उद्देश्यको सेवाका लागि प्रयोग गर्नुहुन्थ्यो । त्यसैले माक्र्सले भन्ने गर्नुहुन्थ्यो– “किताब मेरा दास हुन् र तिनीहरूले मैले चाहेअनुसार मेरो सेवा गर्नुपर्छ ।”

माक्र्सले एउटा पत्रमा लेख्नुभएको छ– “मलाई किताब धेरै मन पर्छन् भन्ने कुरा तिमीहरूले अवश्य पनि अनुमान गर्ने छौ । म एउटा यस्तो यन्त्र हो, जसको काम किताबको भक्षण गर्नु हो ।”

मृत्युपर्यन्त माक्र्सको ज्ञानप्रतिको लालसा समाप्त भएन । उहाँले अत्यन्तै कष्टकर अवस्थामा पनि अध्ययन र लेखन कार्य रोक्नुभएन । प्रायः हामीले अध्ययन र लेखनको काम अगाडि बढाउन नसक्नुमा फिल्डमा खट्नुपर्ने, साङ्गठनिक तथा पारिवारिक तनावलाई कारण रूपमा प्रस्तुत गर्ने गर्दछौँ । माक्र्सको जीवन भयङ्कर अभाव र गरिबीमा बितेको हामी सबैलाई थाहा छ तर त्यस्तो अवस्थामा पनि उहाँको लेखन र अध्ययन कार्य रोकिएन ।
“नेपोलियन बोनापार्टको अठारौँ बु्रमेर” शीर्षकको गम्भीर कृति लेख्दाको अवधिभरि माक्र्स घरबाट बाहिर निष्कनुसक्नु भएन किनभने गरिबीका कारण उहाँले आफ्ना लुगा बन्धक राख्नुभएको थियो । यो कृति लेख्न उहाँलाई झन्डै डेढ वर्ष लागेको थियो ।

“पुँजी” जस्तो विख्यात पुस्तक लेख्न माक्र्सलाई झन्डै १५ वर्ष लागेको थियो । यो अवधिमा उहाँले भयङ्कर अभाव र पीडा ब्यहोरेको पाइन्छ ।

स्वयम् जेनी माक्र्सले सो सम्बन्धमा लेख्नुभएको छ : “जुन कठिन स्थितिमा पुँजी लेखियो, त्यस्तो कठिन स्थितिमा लेखिएका किताब थोरै मात्र हुन सक्दछन् ।” जेनीको यो भनाइबाट पनि “पुँजी” को लेखन माक्र्सले कष्टकर अवस्थामा गर्नुभएको थियो भन्ने जानकारी प्राप्त हुन्छ ।

शारीरिक रूपले गम्भीर रोगबाट थलिएको अवस्थामा पनि माक्र्सको अध्ययनमा कुनै कमी नआएको देख्दा आश्चर्य लाग्छ । जहरबाथ जस्तो गम्भीर रोगले थलिएको अवस्थामा माक्र्सले रुसी भाषा तथा जेनी रोगले थलिएका बेला निजको कुरुवा बसेको अवधिमा माक्र्सले गणितमा अध्ययन अगाडि बढाएर ती विषयमा पकड कायम गर्नुभएको थियो ।

माक्र्स कैयौँ भाषाको ज्ञाता हुनुहुन्थ्यो । माक्र्सलाई प्रादेशिक भाषाको पनि राम्रो ज्ञान थियो । “पुँजी” मा उहाँले ती प्रादेशिक भाषाको व्यापक प्रयोग गरेको पाइन्छ । पुँजीमा विज्ञानका सबै शाखाका लिएका उदाहरणबाट पनि माक्र्सको अध्ययन निकै विस्तारित थियो भन्ने कुरा स्पष्ट हुन्छ ।

अध्ययनको सवालमा माक्र्सले अपनाएको जीवनशैली हामी सबैका लागि अनुकरणीय छ । उपर्युक्त सङ्क्षिप्त विवरणबाट क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन अध्ययनको निकै महत्व रहेको कुरा प्रस्ट छ तर नेपालको वाम आन्दोलनमा अध्ययन गर्ने सवाल निकै निराशाजनक देखिन्छ । यो स्थिति लामो समय कायम रहे वाम आन्दोलन दिशाविहीन बन्ने खतरा रहेको पाइन्छ ।

नेपालको राजनीतिक आन्दोलनमा अध्ययनप्रतिको रुझानमा निकै कमी आएको छ । त्यसको असरबाट हाम्रो पार्टी पनि अछुतो छैन ।

पार्टीसदस्यको अध्ययनप्रतिको रुचि निकै घटेको पाइन्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तको अध्ययन गर्ने त कुरा छोडौँ, सामान्य पार्टीको प्रकाशन, पत्रपत्रिका, पुस्तकसमेत राम्रोसँग अध्ययन गर्ने बानीमा ह्रास आएको पाइन्छ । यही प्रकारको स्थिति लामो समयसम्म कायम रहेमा पार्टी विघटनको दिशामा जाने खतरा पैदा हुन सक्दछ । यो स्थिति आउन नदिन लगातार पार्टीका विभिन्न महाधिवेशन, सम्मेलन र बैठकले सचेतना अपनाउन जोड दिँदै जानुपर्दछ ।

नेकपा (मसाल) को सम्पूर्ण सङ्गठनात्मक, राजनीतिक तथा वैचारिक अवस्थालाई हेर्ने हो भने सङ्गठनात्मक रूपमा पार्टीमा निम्न पुँजीपति वर्गको बाहुल्यता रहेको छ । पार्टीसदस्यको सैद्धान्तिक स्तर पनि निकै कमजोर छ । यी दुईटैको असर पार्टीसदस्यको चरित्र तथा चिन्तन प्रणालीमा परिरहेको छ । त्यसको परिणाम पार्टीको चरित्र तथा चिन्तन प्रणाली सर्वहाराभन्दा निम्न पुँजीवादी प्रकारको हुन गएको छ । यो बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस्तो स्थितिमा पार्टीसदस्यको चिन्तन तथा कार्यप्रणाली क्रान्तिकारी सिद्धान्तद्वारा नभएर पिछडिएको निम्न पुँजीवादी दृष्टिकोणले निर्देशित हुने गर्दछ ।

लेनिनले क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव नहुने बताएका छन् अर्थात् क्रान्तिकारी सिद्धान्तको ज्ञानको अभावमा पार्टीले क्रान्तिको अभिभारा पूरा गर्न सक्दैन । त्यसैले सैद्धान्तिक विकासका लागि पार्टीले लगातार स्वाध्ययन तथा पार्टी प्रशिक्षणमा जोड दिने गरेको छ ।

त्यसका लागि कैयौँ योजना बनाएर लागु गर्ने प्रयत्न पनि गर्दै आएको छ । त्यसका साथै अध्ययन तथा अनुसन्धानको कामलाई व्यवस्थित रूपले अगाडि बढाउन पहलसमेत गर्ने गरिएको छ । अध्ययनको क्षेत्रमा पार्टी सदस्यमा देखिएको अरुचिलाई रुचिमा परिणत गर्नुपर्ने आवश्यकता छ । त्यसो गरेर नै पार्टीको वर्तमान अवस्थालाई परिवर्तन गर्न सकिने छ ।

सैद्धान्तिक रूपले नेकपा (मसाल) सर्वहारा वर्गको पार्टी हो तर नेपालमा उद्योगधन्दा वा पुँजीको विकास नभएका कारण सङ्गठनात्मक रूपमा पार्टीभित्र निम्न पुँजीवादी वर्गको बाहुल्यता छ । निम्न पुँजीवादी वर्ग स्वभावले नै अवसरवादी हुन्छ । गैरक्रान्तिकारी वर्गलाई माक्र्सवाद–लेनिनवाद सिद्धान्तद्वारा शिक्षित–दीक्षित गरेर नै त्यो वर्गलाई क्रान्तिकारी वर्गमा रूपान्तरण गर्न सकिने छ । त्यसका लागि अध्ययनको निकै ठुलो महत्व छ । अध्ययन र सङ्घर्षबिना हामीले निम्न पुँजीवादी वर्गलाई सर्वहारा वर्गको अभिभारा पूरा गर्ने तहसम्म विकास गर्न सक्दैनौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार