दुई धु्रवमा बाडिएको देशको राजनीतिक

– बिन बहादुर रेग्मी ( सुरत)

यतिबेला नेपालमा चुनावी हावा चलेको छ, बिस्तारै बिस्तारै मंसिर ४ गतेसम्म आँधीहुरी आउने सम्भावना छ । पानी पँधेरो, वन जंगल, बजार मिल, चौतारीमा यहाँसम्म कि चिया पसल भट्टी पसलमा राजनीतिकै गफ चलेको छ । फेसबूक सामाजिक सञ्जालमा त राजनैतिक चिरफारको नाममा अराजनैतिक नै चलेको छ । नागरिक समाज, सामाजिक अभियन्ता, अभिनेता अभिनेत्री, टिकटक भाइरल व्यक्ति, समाजका प्रवुद्ध व्यक्तित्वदेखि सर्वसाधारणसम्मले आ-आफ्नो मत सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

कतिपयले नेता पार्टीको विरोध गरेर लेखेका छन्, कतिपयले व्यवस्था नै गलत छ भनेर लेखेका छन् । यो व्यवस्था सही छ, जनताका समस्या छैनन्, जनताका आधारभूत आवश्यकता शिक्षा स्वास्थ्य गास-वास-कपास पूरा भएका छन् भन्ने कसैले लेखेका छैनन् । लेखुन पनि कसरी ? हिंजो एक तन्त्रिय जहानियाँ राणा शासनबाट उकुसमुकुस भएर आन्दोलनमा उत्रिएका जनता फेरि तिस वर्षिय निरंकुश पञ्चायती तानाशाही भुमरीमा फसे । सचेत र जागरुक जनताले प्राणको आहुती दिएर सहिदको रगतले साटेर २०४६ सालको महान जनआन्दोलनद्वारा लोकतन्त्र स्थापना गरिएको थियो । जनता फेरि तावाको माछो भुग्रोमा जस्तै भयो । लोकतन्त्र गणतन्त्रको नाउँमा ठूला भनाउँदा सत्ताधारी दलहरुले पालै पालो देशको ढुकुटीमा रजाई गर्दै आए । कोही माओवादी बनेर जनता लुटे, कोही खाओबादी बनेर लुटे ।

बेरोजगारी, भ्रष्टाचार, महंगी अन्याय अत्याचार, कालोबजारीले मुलुक खोक्रो भयो । नोकरशाही दलालहरुको हालीमुहाली भयो । देश विकासमा योगदान दिने युवा शक्ति वैदेशिक रोजगारको बहानामा भारत र तेस्रो मुलुकमा पलायन भए । नौलो जनवाद, समाजवाद, समावेशी प्रजातन्त्रको दुहाई दिएर नथाक्ने दल समुह यतिबेला कुर्सीको लागि जस्तोसुकै पनि सम्झौता गर्दैछन् । माओवादीका अध्यक्ष प्रचण्डले ॅचुनाव जित्न सजिलो छैन जनताले हामीलाई खाओबादी भनेर चिनिसके’ भनेर सार्वजनिक रूपमै स्वीकारी सकेका छन् । कांग्रेस एमालेका नेताहरुले पनि लोकतन्त्र गणतन्त्रको नाउँमा लुटतन्त्र मच्चाएको अभिव्यक्ति दिँदै आएका छन् ।

कुनै बेला कृषिजन्य उत्पादनहरू विदेशमा सप्लाई हुने देश आज आलु गोलभेडा खुर्सानी यहाँ तक कि जनै र सियो धागो समेत आयात गरेर दैनिकी गुजारा चलाउने दयनिय हालतमा मुलुक पुगेको छ । उनीहरूलाई थाहा छ, जनताले भोट दिदैनन्, त्यसैले त चुनावी तालमेल गठबन्धन गरेर भए पनि सत्ता र कुर्सीको लागि मरिमेटेर लागेका छन् । दिनहुँ राजनैतिक भेटघाट बैठक चलिरहेको छ । नीति सिद्धान्त विचार कार्यक्रम भन्दा पनि कसरी चुनाव जित्न सकिन्छ चुनावी चाणक्यहरु दिमाग खियाउँदै छन् ।

अर्को तिर यो व्यवस्थाको कमी कमजोरीको फाइदा उठाउन राजावादी प्रतिगामी शक्तिहरू लागि परेका छन्् । एमाले-राप्रपाको गठबंधन त्यो दिशामा अग्रसर भएका छन् । यतिबेला देशको राजनीति चुनावी समीकरणको आधारमा दुई धु्रवमा देखिएका छन् । छिटफूट रूपमा स्वतन्त्र उम्मेदवारको कुरा चले पनि केहीले जिते पनि सत्ता सञ्चालनको चाबी यिनै दुई धु्रवमा केन्द्रीत हुने देखिन्छ । कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन ।

राजनैतिक संघर्षका हिसाबले नेकपा (मसाल) मात्रै एक सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी देखिएको छ । नीति सिद्धान्त विचार कार्यक्रमसँग सम्झौता नगर्ने सर्तमा पाँच दलिय गठबन्धनमा चुनावी तालमेल गर्ने नीति अपनाएको छ । संघीयताको विरोध, एमसीसीको विरोध, नागरिकता विधेयकको विरोध, सीमा अतिक्रमण लगायत जनताका आधारभूत समस्याहरू महंगी बेरोजगारी भ्रष्टाचार हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधलाई चुनावी मुद्धा बनाएर जाने निधो गरेको छ । यही सही हो । जनतालाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्न पार्टीले अपील गरेको छ ।

हामीलाई थाहा छ, जुनसुकै गठबन्धनले जिते पनि जनताका आधारभूत आवश्यकता पूरा हुने वाला छैनन् । तर पाँच दलिय गठबन्धनले जित्यो भने वीर शहिदहरुको रगतले साटेर ल्याएको सीमित भए पनि गणतन्त्र जोगिने छ । यही गणतन्त्रमा टेकेर नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न सकिने छ । तसर्थः एमाले राप्रपा राजावादी प्रतिगामी शक्तिहरूलाई पराजित गर्नु आजको आवश्यकता हो भन्ने जनतामा दृढ विश्वास देखिन्छ ।

यसरी हेर्दा आगामी मंसिर चार गतेको चुनावमा कांग्रेसको हावा मात्रै होइन प्रचण्डको आँधी हुरीले एमाले राप्रपा जस्ता राजावादी प्रतिगामी तत्वहरूको सफाया निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार