पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवस

मनोज भट्ट

पौष २७ गतेको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गर्नुपर्ने र त्यस दिन सार्वजनिक बिदा दिइनुपर्ने माग हाम्रो पार्टीले २०६३ सालदेखि गर्दै आएको थियो । २०६३ सालभन्दा अगाडि पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र त्यस दिन सार्वजनिक बिदा दिने प्रचलन रहि आएको थियो । माओवादीको दबाबमा तत्कालिन गिरिजाप्रसाद कोइरालाको सरकारले आजको दिन अर्थात पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सार्वजनीक बिदा दिने पहिले देखि चलि आएको परम्परालाई रोकेका थिए । तर लगातारको दबाबपछि आज सरकारले राष्ट्रिय एकता दिवसको उपल्यक्षमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तत्कालीन अवस्थामा नेपाल बाइसे र चौबिसे भुरेटाकुरे राज्यसहित ५० वटा ससाना राज्यमा विभाजित थियो । गोरखा भन्दा पश्चिम गण्डक क्षेत्रमा २२, कर्णाली क्षेत्रमा २४, तीनवटा सेनवंशी र काठमाडौं उपत्यका भित्र ३ वटा मल्ल राज्य गरि ५२ वटा स–सना राज्यमा नेपाल विभाजीत थियो । ती विभाजित ससाना राज्य भित्र एकआपसमा काटमार, लुटपाट र आक्रमणको स्थिति थियो । अर्कोतर्फ दक्षिणतर्फ व्यापारिक कम्पनीको रूपमा यस क्षेत्रमा ब्रिटिश इष्ट–इण्डिया कम्पनीले आफ्नो एकछत्र आधिपत्य जमाउन सुरू गरेको थियो । ब्रिटिश इष्ट–इण्डिया कम्पनी भारतमा बेलायती शासनलाई सुदृढ गर्न हिमालयको दक्षिणतर्फका सबै स–साना भूभाग नेपाल, भुटान, तिब्बत, सिक्किमलाई आफूमा गाभ्ने रणनीतिका साथ अगाडि बढिरहेको थियो । उत्तरतर्फ तिब्बतमा समेत चीनको उपस्थिति विस्तारै हावी हुँदै गइरहेको थियो ।

तत्कालिन अवस्थामा पश्चिमाहरुले तिब्बतमा इसाइकरण गर्नका लागि नेपालमा केन्द्र बनाएर काम गर्न शुरुवात गरिसकेका थिए । तिनीहरुको सम्बन्ध सोझै भारतको इष्ट इण्डिया कम्पनीसँग थियो । विभाजित नेपाललाई गोरखाका राजा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले एकीकृत गर्ने कार्य गरेका थिए । पृथ्वीनारायण शाहको एकिकरण अभियानलाई उनका उत्तराधिकारीहरूले १८ औँ शताब्दीमा नेपालको पूर्वी र पश्चिम भागमा विस्तार गरेर हिमाली श्रृङ्खलाको समानान्तर पश्चिमी सिमाना भारतको गढवालदेखि पूर्वमा सिक्किमसम्म झण्डै १५०० किलोमिटरसम्म पुर्याएका थिए ।

बेग्ला बेग्लै मुलुकमा विभाजित विभिन्न स–साना राज्यहरुलाई एकीकरण गरेर केन्द्रीय राज्यको रुप दिने काम विभिन्न शक्तिहरुबाट भएको पाइन्छ । कुनै मुलुकको एकीकरण सामन्त, राजा-महाराजा, सेनापतिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरण औपनिवेशिक शक्तिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरणमा निश्चित धर्मले महत्वपूर्ण भूमिका खेलेको छ । चीन तथा रुसको एकीकरणमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको छ ।

एशियामा बढ्दो ब्रिटिश प्रभावबाट पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरू दक्षिणको शासक ब्रिटिश साम्राज्यबाट निकै सशङ्कित थिए । व्यापार फैलाउने नाममा ब्रिटिशले जसरी भारतलाई आफ्नो उपनिवेश बनायो ठीक त्यसै प्रकारले नेपालमा समेत आफ्नो प्रभाव र शक्ति बढाएर नेपालको राष्ट्रियता खतम गर्नेछ भन्ने कुरामा राजा पृथ्वीनारायण शाह प्रष्ट थिए । त्यस बेलाको स्थितिलाई ध्यान दिने हो भने यदि पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान नचलाएको भए र ब्रिटिशसँग पृथक रहने नीति अवलम्बन नगरेको भए नेपाल समेत ब्रिटिशले कब्जा गर्दथ्यो र पछि गएर सम्भवतः स्वाधीन भारतको अङ्ग बन्दथ्यो । त्यसरी नेपालको स्वतन्त्र हैसियत अहिलेको विश्वमानचित्रमा नरहन पनि सक्दथ्यो ।

विभिन्न स–साना ५२ वटा राज्यमा विभाजित राजा रजौटाहरुसँग आ–आफ्ना सेना थिए। कतिपय राज्यको सम्बन्ध सोझै ब्रिटिससँग वा जेसुइट पादरीहरुमार्फत ब्रिटिसहरुसँग थियो। कतिपयको मुस्लिम आक्रमणकारीहरुसँग पनि सम्बन्ध रहेको थियो । राजा बन्ने प्रतिस्पर्धाका कारण उपत्यकाका तीन वटा मल्ल राज्यमा विभाजित भएको थियो । यस्तो स्थितीमा विभाजित नेपाललाई एउटै प्रशासनिक केन्द्रमा ल्याउन युद्ध वा लडाइँ गर्नुको विकल्प थिए । स्वभाविक रुपले युद्धले विभिन्न मानवीय तथा भौतिक क्षति निम्त्याउँछ । एकीकरण अभियानमा भएका लडाइँहरुमा क्षति भयो, तर त्यसबाट नेपालको एकीकरणमा सफलता प्राप्त भयो । युद्धमा क्षति भएका कारण एकीकरण कार्यलाई गलत भन्न मिल्दैन । त्यस दौरान विभिन्न जनजातीय राज्य पनि एकीकरणका कारण एकीकृत नेपालको अंग बन्न पुगे ।

एकीकरण कार्य पृथ्वीनारायणले अगाडि नबढाएको भए ब्रिटिसहरुले नेपालमाथि आक्रमण गरेर यहाँका भुरे टाकुरे राज्यहरुलाई आफ्नो उपनिवेश बनाउँथे । आज कतिपयले पृथ्वीनाराण शाहले एकीकरणका लागि युद्ध गरेका कारण त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिलाई देखाएर एकीकरणलाई गलत सावित गर्ने प्रयत्न गर्दैछन् । नेपालको एकीकरणका दौरान पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले ब्रिटिश भारतसँग पृथक रहने नीति अपनाएका थिए । त्यो नीतिले झण्डै १०४ वर्षसम्म निरन्तरता पाएको देखिन्छ ।

पृथ्वीनारयाण शाह वर्गीय रुपले कुन वर्गका प्रतिनिधि हुन् भन्न्भन्दा पनि भुरे टाकुरे राज्य, लुटपाट, काटमार र एक अर्कामाथि आक्रमण र अराजकताको स्थितिलाई अन्त्य गर्न ब्रिटिसहरुको बढ्दो प्रभाव, त्यसबाट नेपाल नै ब्रिटिसको उपनिवेश हुने खतरा, उत्तरतर्फ बढ्दो तिब्बतको प्रभावको पृष्ठभूमिमा गरिएको नेपालको एकीकरण तात्कालिन अवस्थामा प्रगतिशील कार्य हो ।

नेपालको विदेश नीतिका विज्ञ तथा नेपालको विदेश नीति शीर्षकमा बिद्यावारिधि (पीएचडी) गरेका भारतीय विद्धान एस.डी. मुनीले आफ्नो शोधग्रन्थ ‘नेपालको विदेश नीति’ [Foreign Police Of Nepal] मा उल्लेख गरेका छन् कि भारतसँग तत्कालीन अवस्थामा नेपालले पृथक रहने नीतिले नेपाल–भारत सम्बन्धलाई निर्देशित गरेको थियो । पृथ्वीनारायण शाहले ब्रिटिस भारतसँग पृथक रहने नीति अपनाउनाको पछाडि नेपालको राष्ट्रियताको रक्षासँग सम्बन्धित रहेको छ ।

भारतमा र विस्तारै एसियामा समेत आफ्नो प्रभाव र शक्ति विस्तार गर्न सफल ब्रिटिश साम्राज्यवाद तत्कालीन अवस्थामा एउटा यस्तो शक्ति थियो त्यसलाई नजरअन्दाज गर्नु वा कम आँक्न मिल्दैन्थ्यो । सुरूमा ब्रिटिश साम्राज्यवादले जसरी भारतलाई आफ्नो उपनिवेश बनायो, ठीक त्यसै प्रकारले नेपाललाई आफ्नो उपनिवेश बनाउने योजना थिएन । तर नेपालको बाटो प्रयोग गरी चीनको बजारसम्म पुग्ने लक्ष्य बनाए पनि अन्ततः उसले नेपाललाई आफ्नो उपनिवेश बनाउन पछि पर्दैन्थ्यो ।

पृथ्वीनारायण शाह सामन्त भएको हुनाले उनले एकीकरणका लागि गरेको युद्धलाई सामन्ती आक्रमण वा सामन्ती राज्य विस्तार तथा विभिन्न जनजातीमाथि दमनको रुपमा परिभाषित गर्ने गरिएको पनि पाइन्छ । पश्चिमा इतिहासविद र लेखकहरुले पनि पृथ्वीनारायणलाई क्रुर शासकको रुपमा प्रस्तुत गर्दै आएका छन् । बेग्ला बेग्लै मुलुकमा विभाजित विभिन्न स–साना राज्यहरुलाई एकीकरण गरेर केन्द्रीय राज्यको रुप दिने काम विभिन्न शक्तिहरुबाट भएको पाइन्छ । कुनै मुलुकको एकीकरण सामन्त, राजा-महाराजा, सेनापतिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरण औपनिवेशिक शक्तिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरणमा निश्चित धर्मले महत्वपूर्ण भूमिका खेलेको छ । चीन तथा रुसको एकीकरणमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको छ ।

एकीकरणका लागि भूमिका खेल्ने सामन्त राजा महाराजा, धर्म वा औपनिवेशिक शक्ति वर्गीय रुपमा प्रतिक्रियावादी भएपनि वा उत्पिडक राष्ट्र भएपनि तात्कालिन अवस्थामा उनीहरुले प्रगतिशील भूमिका खेलेको कुरालाई अस्वीकार गर्न सकिँदैन । त्यसैले पृथ्वीनारयाण शाह वर्गीय रुपले कुन वर्गका प्रतिनिधि हुन् भन्न्भन्दा पनि भुरे टाकुरे राज्य, लुटपाट, काटमार र एक अर्कामाथि आक्रमण र अराजकताको स्थितिलाई अन्त्य गर्न ब्रिटिसहरुको बढ्दो प्रभाव, त्यसबाट नेपाल नै ब्रिटिसको उपनिवेश हुने खतरा, उत्तरतर्फ बढ्दो तिब्बतको प्रभावको पृष्ठभूमिमा गरिएको नेपालको एकीकरण तात्कालिन अवस्थामा प्रगतिशील कार्य हो । इतिहासको यो अकाट्य सत्यलाई स्वीकार गरिनुपर्दछ । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको उचित मूल्यांकन हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार