
मजदुर महिलामाथि भएको अन्यायको विरुद्धमा गरेको सडक आन्दोलनको उपलब्धिले प्राप्त गरेको दिनको सम्झनास्वरूप ८ मार्चलाई लिइन्छ । अमेरिकाका कारखानामा काम गर्ने मजदुर महिलाले आफूमाथि लादिएको अनिश्चित समयको मापदण्ड, जीवन असुरक्षा र ज्यालामा असमानताको विरुद्धमा समाजवादी महिलाहरू रोजा लक्जमबर्ग र क्लारा जेट्किनको र अन्य अगुवा महिलाले नेतृत्व गरेको आन्दोलनको उपलब्धि नै ८ मार्चको सान्दर्भिकता आजसम्म रहेको छ ।
८ मार्च खासगरी मजदुर महिलाका हकअधिकार सुनिश्चित गर्नका लागि भएको थियो । ती मागमा महिलाको मतदानको अधिकार, आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन र समान ज्याला थिए । अमेरिकाका हजारौँ मजदुर महिलाको सहभागितामा उक्त आन्दोलन सफल भएको थियो ।
सन् १९०७ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले क्लारा जेट्किनलाई सचिव चुनेको थियो । सन १९०८ र १९०९ मा यो महिला मजदुर आन्दोलनले निरन्तरता पायो । पछि सन् १९१० कोपेनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन कम्युनिस्ट क्लारा जेट्किनले महिला दिवस स्थापना गर्ने पहल गरिन् । सन् १९११ देखि यो ८ मार्च विभिन्न देशमा मनाउन थालियो ।
आजको सन्दर्भमा ८ मार्चलाई नियाँल्दा सबै देशमा मनाएको पाइए पनि निश्चित उद्देश्यलाई लक्षितभन्दा पनि देखासिकीको रूप मनाउने चलन बढेर गएको छ तर हामीले ८ मार्चलाई यसका उद्देश्य र कर्तव्यलाई गरिखाने मजदुर महिलाको बिचमा पुऱ्याउन र ८ मार्चलाई आजको दिनमा झन् निरन्तरता दिन आवश्यक छ किनभने अहिले पनि मजदुर महिलाको मुक्ति र क्रान्तिकारी उपलब्धिको रक्षा गर्न आवश्यक छ ।
आज साम्राज्यवादीहरू युद्धको चलखेल गरिरहेका छन् । यिनीहरूका चलखेलका विरुद्ध मानवताको रक्षा गर्न विश्वभरिका समाजवादी महिलाको कर्तव्य झन् बढेर गएको छ ।
अहिले संसारभरिका महिला र बालबालिकाको जीवनयापन पीडादायी छ । अभाव, गरिबी, हिंसा, दुःख, बलात्कार र यौनजन्य घटना झनै बढेर गएका छन् । मजदुर महिलाहरू बढ्दो बेरोजगारबाट पीडित छन् । ८ मार्चको सर्वहारा महिला आन्दोलनको एउटा पाटो हो । हामीले सबै मजदुर महिलाको मुक्तिका लागि यो सचेतना जगाउन आवश्यक छ कि महिलाको उत्पीडन, शोषण सबै पक्ष पुँजीवादी व्यवस्थामा निहित छ । यसलाई चिरफार गर्नका लागि मुक्तिकामी महिलाहरू एकजुट हुन आवश्यक छ र ८ मार्चलाई आन्दोलनको रूपमा निरन्तरता दिनुपर्छ ।